सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा डाटा सेन्टर निर्माण गरिँदै, सबै नागरिकको प्रोफाइल बनाउँदै प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका हरेक जनताको तथ्यांक संकलन गर्ने र प्रोफाइल निर्माण गर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णालीका हरेक व्यक्तिको आर्थिक, शैक्षिक, पारिवारिक, सामाजिक, धार्मीकजस्ता सबै विषय समेटेर प्रोफाईल बनाइने र त्यो प्रोफाईललाई डाटा सेन्टरमा सुरक्षित राखिने बताए । हामी अहिले डाटा सेन्टर निर्माणको तयारीमा छौं ।
मुख्यमन्त्री शाहीले भने, ‘अनि उक्त डाटा सेन्टरमा कर्णालीका हरेक व्यक्तिको तथ्यांक राख्नेछौं । कर्णालीको वास्तविकता के रहेछ भन्ने कुरा डाटा सेन्टरले नै देखाउनेछ ।’ कर्णालीको सम्पूर्ण तथ्यांक संकलन गरेर कर्णालीको अहिलेको अवस्था के छ भन्ने कुरा थाहा पाउन तथ्यांक संकलनको काम गरिने मुख्यमन्त्री शाहीको भनाई छ । अहिले हामीलाई पूर्ण रुपमा थाहा छैन । कर्णाली कुन अवस्थामा छ ।
शैक्षिक, धार्मीक तथा आर्थिक रुपमा कर्णालीको वर्तमान अवस्था के हो भन्ने तथ्यांक नै हामीले पाउन सकेका छैनौं । योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री शाहीले भने, ‘अहिलेको अवस्था थाहा पाएको खण्डमा हामीले भोलीको सपना देख्न सक्ने भएका कारण पनि हामीलाई सहि तथ्यांकको संकलन गर्नु आवश्यक छ । कर्णाली प्रदेश सरकार तथ्यांक संकलन गरेर भए पनि कर्णालीलाई समृद्ध बनाउन अहोरात्र मेहनत गर्नेछ ।’
उनले उक्त तथ्यांकमा कर्णालीमा रहेको जनशक्तिको अवस्थाबारेमा पनि जानकारी संकलन हुने बताए । हामी तथ्यांक संकलन गर्दा कर्णालीमा दक्ष जनशक्तिको अवस्था कस्तो छ भन्नेमा पनि ध्यान दिनेछौं । मुख्यमन्त्री शाहीले भने, ‘अनि कर्णाली प्रदेश सरकारले कतिजना पाइलट बनाउनुपर्ने हो, कति जना डाक्टर बनाउनुपर्ने हो, त्यो अनुसार योजना बनाउँछ र उनीहरुलाई पूर्ण छात्रवृत्ति दिएर अध्यापन गराउने र उनीहरुलाई कर्णालीमै सेवा प्रदान गर्ने गरि अध्यापन गराइनेछ ।’ तर त्यसका लागि भने सम्वन्धित विद्यार्थीसँग पहिले नै एग्रिमेन्ट गर्ने प्रदेश सरकारको तयारी रहेको मुख्यमन्त्री शाहीले बताए ।
अहिले कुन गाउँमा के उत्पादन भयो, कति खपत भयो भन्ने तथ्यांक नै छैन । उनले भने, कर्णालीमा कसले कति पशु पालेको छ । कुन स्थानमा श्रोत खेर गइरहेको छ भन्ने तथ्यांक कतै पनि पाइदैन । तर अब कर्णालमिा तथ्यांक संकलन पश्चात संचालन गरिने डाटा सेन्टरमा ती सबै कुराहरु उल्लेख गरिने मुख्यमन्त्री शाहीको भनाई छ । मुख्यमन्त्री शाहीले सरकार कर्णालीको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै कर्णालीको विकासको जगका लागि गुरुयोजना निर्माण गर्ने गरि सरकार अघि बढेको बताए ।

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार १३:१३