सूचनाको शक्ति - The Power Of Information

        

एसपीले पठाएका गोरु तस्करलाई डिएसपीले हिरासतमा राखेपछि…

एसपी पौडेल भन्छन्, ‘ममाथि लागेको आरोप निराधार’

कोहलपुर । गत पुस १३ बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंह गाडी चढेर कार्यालय बाहिर निस्कँदै थिए । गेटनजिक पुग्दा दुई व्यक्ति ‘नमस्कार सर !’ भन्दै उनको नजिकै आए । उनीहरुले डिएसपी सिंहसँग केही कुरा गर्न खोज्दै थिए । सिंहले भने, ‘के को लागि आउनुभयो भन्नुहोस् ?’
जवाफमा एक व्यक्तिले भने, ‘हामी गोरुको काम गर्छौं, डकुमेन्ट सबै मिलाएकै हुन्छौँ, जिल्लाको एसपी सा’पसँग पनि कुरा मिलिसकेको छ, सिस्टममा जेजति गर्नुपर्छ हामी गछौँ, हजुरले पनि सहयोग गर्नुपर्यो ।’ ‘हेर्नुस्, मबाट कानूनविपरितका कुनै पनि काम हुँदैन । एसपीसापको कुरा उहाँसँगै गर्नुस्,’ डिएसपी सिंहको भनाइ उद्धृत गर्दै एक प्रत्यक्षदर्शीले भने ।
यत्ति भनेर डिएसपी सिंह बाहिर निस्किए । तर ती दुई व्यक्ति इलाका प्रहरी कार्यालय कोहलपुरको प्राङ्गणमा यता र उता घुमिरहे । दिउँसो करिब ४ बजे डिएसपी सिंह आफ्नै कार्यकक्षमा व्यस्त थिए । अफिसियल रिपोर्टिङका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरकै प्रहरी निरीक्षक (इन्स्पेक्टर) मानबहादुर बिसी पनि सिंहकै कार्यकक्षमा सँगै थिए ।
डिएसपी र इन्स्पेक्टरबीच कुराकानी चलिरहेको थियो । त्यहाँ एक्कासी बिहान गेटमा भेट भएका दुई व्यक्ति कार्यकक्षभित्र छिरेर सिंहलाई भने, ‘सर यो अलिकति एडभान्स पैसा ल्याइदिएको छु, एसपी सा’पलाई पनि एक लाख रुपैयाँ बुझाएर आएका छौँ, यो लिनुस् अब गोरुको काम गर्नुपर्यो ।’ यति भन्दै उनीहरुले डिएसपी सिंहको टेबलमा ५० हजार रुपैयाँको बिटो राखिदिए ।
पैसा दिएर आफूलाई प्रलोभनमा पार्न खोजेपछि सिंहले तत्काल मुद्दा शाखाबाट टोली बोलाएर मुचुल्का गर्न लगाए र पैसा बोकेर आएका दुवैलाई नियन्त्रणमा लिएर हिरासतमा राखे । प्रारम्भीक अनुसन्धानबाट हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापा गोरु तस्कर रहेको खुल्यो ।

‘सर यो अलिकति एडभान्स पैसा ल्याइदिएको छु, एसपी सा’पलाई पनि एक लाख रुपैयाँ बुझाएर आएका छौँ, यो लिनुस् अब गोरुको काम गर्नुपर्यो ।’

प्रहरी स्रोतका अनुसार तस्करहरुले बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेललाई घूस रकम दिइसकेको प्रारम्भीक बयान दिइसकेका छन् । यस सम्बन्धमा प्रदेश प्रहरी कार्यालय तुलसीपुरले पनि अनुसन्धान थालेको छ । उनीहरुले कोहलपुर हुँदै भारत र बंगलादेशतर्फ गोरु तस्करी गर्दै आएको प्रहरीले बताएको छ ।
तस्करहरुले बाँके, दाङ, रुपन्देही, कपिलवस्तुको बाटो प्रयोग गर्दै पर्साको विभिन्न नाकाबाट भारत हुँदै बंगलादेशमा गोरुको अवैध तस्करी गर्ने गरेका छन् । बंगलादेशमा एउटा गोरु डेढदेखि दुई लाख नेपाली रुपैयाँसम्ममा बिक्रीवितरण हुने गरेको जानकारहरु बताउँछन् । बाँके हुँदै दाङसम्म गोरु ओसारपसार गर्दा बाँके प्रहरीसँग लाइन मिल्नु अनिवार्य छ ।
बर्दियाको सिमाना मानखोलादेखि दाङको सिमाना अमिलियासम्म लामो दुरी इलाका प्रहरी कार्यालय कोहलपुरको कार्यक्षेत्र अन्तरगत पर्दछ । त्यसकारण पनि तस्करहरुले कोहलपुर प्रहरी प्रमुखबाट ग्रिन सिग्नल पाउनु जरुरी नै देखिन्छ । डिएसपी सिंहले कोहलपुर प्रहरीको कमाण्ड सम्हालेको चार महिना बित्यो । यो बीचमा चोरीपैठारी, तस्करीलगायत अपराधिक गतिविधि प्रायः शून्यमा झरेको स्थिति छ ।
उनले तस्करीमा साथ नदिएपछि बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेल तनावमा रहेको स्रोत बताउँछ । कमाउ धन्दाकै लागि पावर लगाएर बाँकेको प्रमुखमा सरुवा गराएका पौडेलको गैरकानूनी धन्दालाई मातहतका कार्यालयहरुले साथ नदिएपछि निकै तनावमा रहेको बाँके प्रहरी स्रोत बताउँछ । प्रहरीमा खरो स्वभावका अधिकृतको परिचय बनाएका डिएसपी सिंहलाई यसो गरौँ भनेर भन्न पनि आँट गर्न सक्दैनन् ।
सोही कारण उनले तस्करहरुलाई कोहलपुरको डीएसपीलाई कन्भिन्स गर बाँकी म मिलाउँला भन्ने गरेको स्रोतको दाबी छ । उक्त विषयमा टेलिफोनमार्फत प्रतिक्रिया लिँदा एसपी पौडेलले आफूमाथि लागेका आरोप निराधार रहेको दाबी गरे । ‘मेरो बारेमा यस्तो समाचार कसरी आइरहेको छ मलाई अचम्म लागिरहेको छ,’ उनले भने, ‘यो त एउटा प्रहरी अधिकृतको व्यक्तिगत चरित्रहत्या गर्ने काम मात्रै हो । कृपया यस्ता समाचार नलेखिदिनुहोला ।’
एसपी पौडेल बाँकेको प्रहरी प्रमुख भएसँगै तस्करी मौलाएको जानकारहरु बताउँछन् । पौडेलले यसअघि नेपालगञ्जको मुख्य नाका जमुनाहा प्रहरी चौकीका तत्कालिन इञ्चार्ज सई शिव ओलीलाई प्रयोग गरेर तस्करीको लाइन चलाएको उजुरी परेपछि ५ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले कारवाहीस्वरुप ओलीलाई इप्रका कोहलपुर तानेर जिप्रका बर्दियामा कार्यरत सई बसन्तकुमार बस्नेतलाई पठाएका थिए ।
बस्नेत जमुनाहाको इञ्चार्ज भएसँगै तस्करहरु छट्पटाइरहेको स्रोत बताउँछ । त्यसो त पौडेलले तस्करीको लाइन चलाएको खबर प्रहरी मुख्यालयमा पनि नपुगेको होइन । यस विषयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि जानकार रहेको प्रहरी मुख्यालय स्रोत बताउँछ । प्रहरीमा दर्जन बढी एसपीको दरबन्दी खाली रहेको र पौडेललाई परिवर्तन गर्न उपयुक्त पात्र खोजी भइरहेको स्रोतको दाबी छ ।

#सुशासन न्युज डटकमबाट

प्रकाशित मिति : २१ पुष २०७५, शनिबार ०६:४५