सूचनाको शक्ति - The Power Of Information

        

बाघ बढ्दै, आहारा घट्दै

बाँके राष्ट्रिय निकुञ्ज

विजय मल्ल । बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै आहारा कमी देखिएको छ । २०६७ सालमा स्थापना भएको निकुञ्जमा यतिवेला २१ वटा बाघ छन् । बाघको संख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्थापन गर्न निकुञ्जलाई हम्मेहम्मे भइरहेको छ । बाघको संख्याको तुलनामा यसले आहारा गर्ने जनावरको वृद्धि हुन नसक्दा दीर्घकालीन रुपमा बाघ संरक्षणमा चुनौती थपिदिएको छ ।
निकुञ्जलाई बाघको आहारा वृद्धि गर्नु अबको चुनौती नै बनेको छ । निकुञ्जले शून्य चोरी शिकारीको अवस्था सिर्जना गरी बाघको संख्यामा बृद्धि ग¥यो तर अब भने चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती थपिदिएको छ । जसका लागि बाघको आहारा हुने जनावरको वृद्धि र संरक्षणमा लाग्नु जरुरी देखिन्छ । ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको ७० प्रतिशत बढि क्षेत्रफल चुरे क्षेत्र पर्छ, बाँकी समथल र जङ्गल ।
यी क्षेत्रमा घाँसे मैदानको कमी छ, बाघ लगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ । प्रतिबाघ १५ देखि ४० वर्ग किमि क्षेत्रफलको सीमाना रहन्छ । यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउनको लागि पानीका श्रोतसमेत कमी छ । बाघले आहारा गर्ने जनावरको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने आवश्यकता रहेको संरक्षणकर्मीहरु बताउँछन् । बाघको आहारा गर्ने जनावरहरु घाँसमा निर्भर हुने हँुदा यस्ता जनावरको संरक्षणका लागि घाँसे मैदानको समेत व्यवस्थापन जरुरी रहेको संरक्षणकर्मी हेमन्तराज काफ्लेको भनाई छ ।
विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छन् । पछिल्लो गणनामा भेटिएका २३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, ती आसपासका वन क्षेत्र र जैविक मार्गमा छ । बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तुको संख्या पनि सोही अनुसार वृद्धि भएमा आहारा शृंखलामा मद्दत पुग्ने संरक्षणकर्मी काफ्ले बताउँछन् ।
विभिन्न कारणले बासस्थान र आहाराको कमी हुँदा दुर्लभ पाटेबाघ संकटमा पर्ने सम्भावना रहेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्णलाल चौधरी बताउँछन् । उनले भने, ‘मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घट्छ । घाँसे मैदान नहुँदा आहारा प्रजाति पनि घट्दा बाघको बासस्थान संरक्षण गर्नुपर्छ ।’ बासस्थान र आहारा प्रजाति बढाउन सके मानव र बाघबीचको द्वन्द्व कम हुने चौधरीको भनाई छ ।
उनले भने, ‘अहिलेको अवस्था भनेको बाघले आहारा गर्ने जनावरहरुको संरक्षण गर्नु पहिलो दायित्व हो । बाघले वातावरण जोगाउने भएकाले अनावश्यकरूपमा भइरहेको वन विनास रोक्न जरुरी छ ।’ वन विनासले बाघको बासस्थान संकटमा पर्ने र बाघको आहारा लोप हुने खतरा रहेकाले बाघ जोगाउन चुनौति रहेको उनको भनाई छ । बाघको आहारा प्रजातिमा चित्तल, लगुना, बँदेल, रतुवा लगायतका जनावर पर्दछन् ।
एउटा बाघले एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन उसलाई एक हप्तासम्मका लागि हुन्छ । त्यतिकै मात्रामा उसलाई दिनहुँ पीउने पानिको आवश्यकता पर्दछ । अहिले नै निकुञ्जभित्र पानी र आहाराको कमी हँुदा निकुञ्जका बाघ मानव बस्तीको वरपर जानसक्ने खतरा बढेको छ । जङ्गलमा सहजै सिकार गर्न नसक्दा बाघ जङ्गलबाट बाहिर आउने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने खतरा रहेको अध्यक्ष चौधरीको भनाई छ ।
मांसाहारी जनावर बाघले आहाराको रुपमा चित्तल, जरायो, हरिण, बँदेल, लगुना, रतुवा, गौरीगाई, निलगाई, लंगुर, बाह्रसिंगे, चौका, बाँदर छन् । तर बाघ पाइने तराइका १२ जिल्लामा मृग प्रजातिका जनावर र धेरै चित्तल छन् । सन् २०१८ मा सार्वजनिक गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा पाटेबाघको संख्या २३५ वटा रहेका छन् ।

प्रतिबाघ १५ देखि ४० वर्ग किमि क्षेत्रफलको सीमाना रहन्छ । यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउनको लागि पानीका श्रोतसमेत कमी छ ।

नेपालमा आहारा सर्वेक्षणको अवस्था
सन् २०१३ को राष्ट्रिय बाघ गणनाका क्रममा गरिएको आहारा सर्वेक्षण र सन् २०१८ को सर्वेक्षणलाई तुलना गर्दा बाघको आहारा प्रजातिको संख्या घटेको पाइएको छ । बाघको आहारा प्रजातिको घनत्वका आधारमा लिइएको तथ्यांकमा बर्दियामा सबैभन्दा बढी आहारा भेटिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ । राष्ट्रिय बाघ गणना २०१८ मा सार्वजनिक गरिएको आहारा प्रजातिको घनत्वमा प्रतिवर्ग किलोमिटरका हिसाबमा आहारा प्रजाती निकालिएको थियो ।
आहारा प्रजातिको सर्वेक्षण लाइन ट्रान्जेक्ट विधिबाट गरिएको थियो । सर्वेक्षण अनुसार बर्दियामा एक वर्गकिलोमिटर क्षेत्रमा ७७ वटा बाघका आहारा भेटिएका थिए । यसअघि सन् २०१३ को गणनाका क्रममा एक वर्गकिलोमिटर क्षेत्रमा त्यहाँ ९३ वटा बाघका आहारा भेटिएका थिए । बर्दियामा अन्य निकुञ्जको तुलनामा आहारा प्रजाती बढी रहेपनि अघिल्लो तथ्यांकको तुलनामा कमी आएको हो । बर्दियामा अहिले ८७ वटा वयस्क बाघ छन् ।
यसअघि त्यहाँ २०१३ मा गरिएको गणनामा ५० वटा बाघ रहेका थिए । आहाराको तुलना गर्दा चितवनमा पनि बर्दियापछि आहारा प्रजातिको अवस्था राम्रो छ । चितवनमा प्रतिवर्ग किलोमिटर करीब ७१ वटा आहारा प्रजाति पाइएका थिए । यसअघिको गणनाका क्रममा एक वर्गकिलोमिटरमा ७४ वटा आहारा प्रजाति पाइएका थिए । त्यहाँ १२० बाट घटेर पछिल्लो गणनामा ९३ वटा बाघको आहारा गणना गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा १६ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ६८ वटा आहारा पाइएको छ । यसअघिको गणनामा १७ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ७९ वटा आहारा पाइएको थियो । यहाँ पनि आहारा प्रजाति घटेको देखिएको छ । पर्सा वन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको एक वर्ग किलोमिटरमा क्रमशः २२ र ८ वटा आहारा प्रजाति पाइएको छ ।
पर्सामा यसअघि २५ वटा र बाँकेमा यसअघि १० वटा आहारा प्रजाति प्रतिवर्ग किलोमिटरमा गणना गरिएको थियो । पर्सामा अघिल्लो गणनामा ७ वटा बाघ रहेकोमा अहिले १८ वटा बाघ छन् भने यसअघि ४ वटा बाघ रहेकोमा बाँकेमा पछिल्लो बाघ गणना अनुसार २१ वटा पुगेको निकुञ्जले जनाएको छ ।
विभागको प्रतिवेदन अनुसार पर्सामा बँदेल, मृग, निलगाई, गौरीगाई बाघका मुख्य आहारा हुन् । यसैगरी चितवन र बाँकेमा विभिन्न मृग प्रजाति, बँदेल, हरिण, चित्तल बाघका आहारा रहेका छन् । बर्दियामा लंगुर, चौका मुख्य आहारा र शुक्लाफाँटा बाह्रसिंगे, चित्तल, बँदेल मुख्य आहारा रहेको पाइएको छ ।

बाघ संरक्षणका चुनौति ?
संरक्षणकर्मीहरुका अनुसार पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)मा बाघ महत्वपूर्ण रहेकोले त्यसको संरक्षणमा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण जरुरी छ । ‘बाघ संरक्षणमा थुप्रै चुनौती छन्,’ संरक्षणकर्मी काफ्लेले भने । उनका अनुसार वासस्थानको खण्डीकरण, संकुचन, मानव र बाघबीचको द्वन्द्व, चोरी शिकारी र अवैध व्यापार तथा रोगव्याधी जस्ता चुनौती एकातिर छन् भने अर्कोतिर यसको आहारा प्रजातिमा आएको कमी पनि बाघ संरक्षणमा चुनौती हुन् ।
राष्ट्रिय निकुञ्ज तथा तराईका जंगलहरू बाघका लागि राम्रा बासस्थान रहेकोले इकोसिस्टममा सुधार र पर्याप्त आहारको व्यवस्था गर्न सरकारले अभियाननै थाल्नुपर्ने काफ्लेको भनाई छ । ‘जनताको जीवनस्तरमा सुधार र कानूनको प्रभावकारी कार्यान्वयनबाट नै समाधान हुन्छ,’ काफ्लेले भने, ‘यी सबै व्यवस्था हुनसके बाघको संख्या दोब्बर हुँदा पनि वासस्थानको समस्या हुँदैन ।’

आहारा संरक्षणमा सरकारी कदम
सरकारले वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि पोखरी निर्माण गर्न ६ करोड रुपैयाँ रकमान्तर गरी यसअघि सात वटै प्रदेश सरकारको नाममा पठाइसकेको छ । सरकारको निर्णयअनुसार अर्थ मन्त्रालयले मंसिर महिनामा बजेट रकमान्तर गरी सात वटै प्रदेश सरकारलाई उपलब्ध गराएको हो ।
सरकारले नीति तथा कार्यक्रममा चुरे क्षेत्रमा वर्षातको पानी संरक्षण र पोखरी निर्माण गर्ने उल्लेख गरेको थियो । सोहीअनुसार वन्यजन्तुको प्रयोजन र वन डढेलो नियन्त्रण गर्नको लागि सरकारले यो आर्थिक वर्ष २०७५/०७६ मा देशभर एक हजार ७८ वटा पोखरी निर्माण गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९/०८० सम्म यस्ता पोखरीको संख्या ३ हजार ४०० पु¥याउने लक्ष्य सरकारले लिएको छ ।
अर्थ मन्त्रालयका अनुसार वन्यजन्तु तथा डढेलो नियन्त्रणको लागि जङ्गलमा पोखरी निर्माण गर्न सबैभन्दा ठूलो रकम प्रदेश नं.२ लाई उपलब्ध गराएको छ । प्रदेश नं.२ लाई १ करोड ४४ लाख रुपैयाँ पोखरी निर्माणको लागि निकास गरिएको छ । त्यसपछि ठूलो रकम प्रदेश ५ लाई उपलब्ध गराइएको छ । अर्थले पोखरी निर्माणको लागि भन्दै १ करोड २८ लाख रुपैयाँ प्रदेश ५ को नाममा रकमान्तर गरी पठाएको छ ।
तराईका संरक्षित क्षेत्रहरुका धेरै भू–भागहरु भावर तथा भित्री मधेस क्षेत्रमा रहेको हुँदा वन्यजन्तुका लागि नियमितरुपमा आवश्यक पर्ने पानीको अभाव हुने हुँदा स्थायी पानीका स्रोतहरुभन्दा अन्य स्थानमा खानेपानी तथा वन्यजन्तुलाई आहाल बस्ने प्रयोजन पहल गर्नुपर्ने संरक्षणकर्मीहरुको भनाई छ ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १७:२४