सूचनाको शक्ति - The Power Of Information

        

‘ल्याप्चे मुक्त’ गाउँपालिका बनाउने अभियानमा राप्तीसोनारी

बाँके । नरैनापुर गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका रूपमा विकास गर्ने अभियान अघि बढाइएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले भने, ‘हामीले ‘ल्याप्चे मुक्त’ गाउँपालिकाका बनाउने अभियान सुरु गर्यौं ।’
करिब १२ हजार बढी नागरिक निरक्षर रहेको उक्त गाउँपालिकालाई साक्षर बनाउनका लागि अभियान नै चलाउनु परेको उनले बताए । ‘गाउँपालिकामा निरक्षरहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई साक्षर बनाउँछौं,’ अध्यक्ष साहले भने, ‘यसले गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ बनाउनेछ ।’
गाउँपालिकामा अझै पनि १२ हजार बढी निरक्षर छन् । ‘उनीहरूलाई साक्षर बनाउन साक्षरता अभियान शुरू गरेका छौं,’ गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले भने, ‘ल्याप्चेका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या भइरहेको छ ।’ अध्यक्ष साहका अनुसार तथ्यांक संकलन गरेर पहिलो चरणमा तीन हजारलाई साक्षर बनाइने छ ।
अध्यक्ष साहले भने, ‘पहिलो चरणमा साक्षर गराएकाहरुले बाँकी रहेका निरक्षरलार्ई साक्षर बनाउन परिचालन गर्ने गरी अभियान सञ्चालन गर्ने तयारी गरेका छौं ।’ चैतभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने एक सय सहजकर्तालाई १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
नरैनापुरसँगै नेपालगन्ज उपमहानगरका विभिन्न वडा र बाँकेमा गरी अझै ८० हजारको हाराहारीमा नागरिकहरू निरक्षर रहेको तथ्यांकले जनाएको छ । तर, तत्कालिन जिल्ला शिक्षा कार्यालयसँग बाँकेमा कति निरक्षर छन् भन्ने अहिले पनि एकिन रेकर्ड नभएको तत्कालिन सहायक जिल्ला शिक्षा अधिकारीसमेत रहेका गोरखबहादुर थापाले बताए ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १७:०५