सूचनाको शक्ति - The Power Of Information

        

सक्रिय बन्दै उपमहानगरको न्यायिक समिति

पोखरा । पोखरा महानगरपालिकाको न्यायिक समितिको कामले तीव्रता पाएको छ । न्यायिक समितिको गठन, कार्यविधिको अभावमा काम गर्न नपाएको समितिले महानगरमा न्यायिक इजलास, मेलमिलापककर्ता सूचीकृत र मेलमिलाकर्तामार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेको समितिले अहिले वडा वडामा मेलमिलाप केन्द्र स्थापनालाई तिव्रता दिएको छ ।
वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले महागरका वडाभित्र मेलमिलापक केन्द्र स्थापना गरिएको छ । न्यायिक समितिले बुधबार पोखरा महानगरपालिका वडा नं.२१ मा मेलमिलापक केन्द्र स्थापना गरेको छ । पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गरिन् ।
उनले वडा तहका विवादलाई तत्काल समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । उनले सवै विवाद महानगरमा आउने अवस्था आउन नदिन वडाबाटै विवाद समाधान होस भन्ने उद्देश्यले केन्द्र स्थापनालाई जोड दिइएको समेत बताइन् । उनले अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रुपमा पर्ने ब्यवहारलाई कम गदै स्थानिय तहबाटै विवादको निरुपण र मेलमिलाप गराउने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानले गरेको बताइन् ।
‘विवादका पक्ष र विपक्ष दुवैलाई छलफलको माध्यमबाट विवाद समाधान गदै मेलमिलाप गराउने हो,’ उनले भनिन्, ‘न्यायिक समितिले दुवैलाई जिताउने गरि विवादको समाधान खोज्ने छ । त्यही अनुसार मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।’ वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडा भित्र रहेका मेलमिलापकर्ताको जिम्मामा आएको बताइन् । महानगरको न्यायिक समितिले सूचीकृत गरेको मेलमिलापकर्तामा वडा नं.२१ मा १० जना मेलमिलापकर्ता सूचीकृत भएका छन् ।
न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका अधिकार क्षेत्र, मेलमिलापकर्ता छनोट लगायतका बारेमा जानकारी दिएका थिए । वडा नं.२१ का अध्यक्ष खगराज आचार्यले कानुनभित्र रहेर न्याय सम्पादन गर्नुपर्ने बताउँदै पक्ष, विपक्ष र समाज सबैले जितको महसुस गर्ने गरि मेलमिलाप गर्नुपर्ने बताए । उनले पक्ष र विपक्षले मात्रै जितेर नहुने भन्दै विवादका पक्ष र विपक्ष सहित समाज मिल्नुपर्ने बताए । कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङ र वडा अध्यक्ष आचार्यले हस्तान्तरण गरे ।
कार्यक्रममा मेलमिलापकर्ता हर्कबहादुर रेग्मी, पूर्व गाविस अध्यक्ष कमलमोहन पौडेल लगायतले वडाका विवाद मिलाउन तयार रहेको बताएका थिए । महानगरका कानुन अधिकृत राममणी अधिकारीका अनुसार न्यायिक समितिले यसअघि वडा नं. ७, ३०, १३ मा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । न्यायिक समिति सदस्य पार्वती कार्कीले तीन जनाभन्दा बढि भएका वडामा पहिलो चरणमा मेलमिलापक केन्द्र स्थापना गरिने र नभएका वडामा दोश्रो चरणमा गरिने बताइन् ।

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार ०८:२०