सूचनाको शक्ति - The Power Of Information

        

घरबाटै पानी बोकेर तिर्खा मेट्छन् विद्यार्थी

जाजरकोट छेडागाड नगरपालिका––५ भाग्योदय माध्यमिक विद्यालयका विद्यार्थीहरु भवनको अभावमा भुँइमा बसेर पढन बाध्य छन् ।

जाजरकोट छेडागाड नगरपालिका––५ भाग्योदय माध्यमिक विद्यालयका विद्यार्थीहरु भवनको अभावमा भुँइमा बसेर पढन बाध्य छन् ।


हेमन्त केसी । जाजरकोट । छेडागाड नगरपालिका–५ वडावनको भाग्योदय माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी पानी बोकेर विद्यालय जान बाध्य छन् । नामको मात्र भाग्योदय माविका आफूहरुलाई पढ्नेभन्दा पनि सास्ती बेहोर्नुपरेको विद्यार्थीको दुःखेसो छ । कक्षामा बसेर पढ्नेभन्दा पनि कहिले बिदा होला भन्ने आशमा बस्नुपर्ने बाध्यता रहेको कक्षा ८ का छात्र कृष्ण शाहीले बताए ।
कृष्ण जस्तै कक्षा ३ मा अध्ययनरत विकास शाहीलाई पनि विद्यालय आउन मन लाग्दैन । ‘स्कूल आउन मन नै लाग्दैन,’ उनले भने, ‘स्कूल बसेर पढ्ने वातावरण नै छैन ।’ कृष्ण र विकास जस्तै सो माविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमा आउन दिक्क लाग्छ । दिनभर विद्यालयमा दिक्दारीका साथ बस्नुपर्ने तिनको गुनासो छ ।
विद्यालय भवनको अभावमा १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई छाप्रामा पढाउने गरिएको छ । छाप्रोभित्र भूइँमा बसेर पढ्नुपर्दा साह्रै गाह्रो भएको छात्रा कमला सिंहले बताउनुभयो । ‘आवश्यक फर्निचरका अभावमा ४ देखि १० कक्षासम्मका विद्यार्थीले पनि भूइँमै बसेर पढ्नुपरेको छ,’ कक्षा १० की भावना शाहीले गुनासो गरिन् ।

घरबाटै पानी
विद्यालयमा खानेपानी नहुँदा घरबाट बोतलमा बोकेर ल्याइएको पानी पिउन विद्यार्थी बाध्य छन् । तिर्खा लागेको बेला घरबाट ल्याइएको पानी सकिएमा विद्यालय नजीकैको घर जाने गरेको विद्यार्थी बताउँछन् । ‘विद्यालयमा कार्यालय सहयोगीले गाग्रीमा बोकेर ल्याएको पानी शिक्षक र अन्य कर्मचारीलाई समेत अपुग हुन्छ,’ विद्यालयका प्रधानाध्यापक शान्तबहादुर शाहीले भने, ‘विद्यार्थीका लागि खानेपानीको व्यवस्था विद्यालयले गर्न सकेको छैन ।’
विद्यालयका समस्या र अभावका बारेमा सम्बन्धित निकायमा बारम्बार माग गरिएको जानकारी दिँदै प्रअ शाहीले भने, ‘समाधानका लागि कहीँकतैबाट पनि पहल भएको छैन ।’ पानीकै अभावमा सो विद्यालयमा शौचालयको पनि व्यवस्थापन हुनसकेको छैन । जाजरकोट खुला दिसामुक्त घोषणा भइसकेको भए पनि यहाँका विद्यार्थी खुला आकाशमुनि शौच गर्न बाध्य छन् ।
‘शौच गर्नका लागि विद्यार्थी कि त खोल्साखोल्सी खोज्दै हिँड्छन्, कि त खेत वा बारीको कान्लाले छलिन्छन्,’ प्रअ शाहीले गुनासो गरे । कक्षा १० सम्म पढाइ हुने सो विद्यालय समस्याका चाङमा भने ‘भाग्यमानी’ नै छ । ‘विद्यालयमा समस्या र अभाव मात्रै छैन,’ प्रअ शाहीले दिक्दारी शैलीमा भने, ‘शिक्षक दरबन्दी, भवन, फर्निचर, शौचालय र खानेपानी पनि यहाँको मुख्य समस्या हो ।’

नगरपालिकाको योजना
आवश्यक आधारभूत पूर्वाधारकै अभाव हुँदा विद्यालय सञ्चालन गर्न निकै कठिनाइ भएको छ । खानेपानी र भौतिक संरचनाको अभावका बीच चलेको विद्यालयमा गुणस्तरीय शिक्षाको कसरी आशा गर्न सकिन्छ भनी अभिभावक प्रश्न गर्छन् । छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महताराले भने, ‘विद्यालयको समस्या समाधानका लागि यस आर्थिक वर्षदेखि क्रमागत रुपमा रकम विनियोजन गरी शैक्षिक सुधार थालिने छ ।’ यहाँका सबै विद्यालयमा उस्तै समस्या भए पनि प्राथमिकता निर्धारण गरी काम गर्नुपर्ने अवस्था रहेको नगर प्रमुख महताराको भनाइ छ । रासस

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार ०७:५४