सूचनाको शक्ति - The Power Of Information

        

अस्थायी साधनको प्रयोगकर्ता वृद्धि

रोल्पा । रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३/०७४ मा यो दर ३९ प्रतिशत पुगेको थियो । यसैगरी आव २०७४/०७५ मा यसरी अस्थायी साधन प्रयोग गर्नेको संख्या ४० प्रतिशत पुगेको देखिएको छ ।
यसरी अस्थायी साधन प्रयोग गर्नेमध्ये २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गर्दछन् । त्यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्ने देखिएको छ । डिपो प्रयोग गर्नेको संख्या २३ प्रतिशत देखिएको छ । जिल्लामा आइयुसिडी र पिल्स प्रयोगकर्ता क्रमशः ४ र ६ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको संख्या भने १७ प्रतिशत मात्र देखिएको छ ।
पुरुष बन्ध्याकरण भ्याक्सेटोमी र महिला स्थायी बन्ध्याकरण मिनिल्याप गर्नेको संख्या अस्थायी साधन प्रयोगकर्ताको तुलनामा कम रहेको बताइन्छ । जिल्लामा सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिइन् । ‘अघिल्लो आवमा सबै प्रकारका अस्थायी साधन गर्ने किशोरीको संख्या ५५३ थिए,’ अनमी डाँगीले भनिन् ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १६:२८