सूचनाको शक्ति - The Power Of Information

        

म्यानपावर डन रघु पुरीको ‘रातो’ साम्राज्य, जसले बनायो धेरैको विचल्ली

काठमाडौं । विवादै विवादको थुप्रोमा उभिएर गरेको श्रमशक्ति विदेश पठाउने कामबाट गौशालाको अढाई रोपनी जग्गामा आफ्नै भवनको म्यानपावर कम्पनी छ, द रिभर ओभरसिज । त्यसका एक्ला मालिक हुन्, रघु पुरी । यो नाम वैदेशिक रोजगारी क्षेत्रमा काम गर्नेका लागि नयाँ होइन ।
तर आम साधारणले भने मलेसिया रोजगारीको ‘भेन्डर संस्था’ हत्याउने षडयन्त्रका खबरसँगै थाहा पाए । उनै पुरी अहिले मलेसिया रोजगारीको कामदार लैजाने एक्लो अनुमतिका लागि शक्ति केन्द्रसँग धाइरहेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट पनि उनको यहि सक्रियताका कारण विवादमा तानिएका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुनपुत्र तथा अनेरास्वविय क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनमार्फत नेकपाका नेताहरूसँग पुरीको पहुँच पुगेको छ । यसको प्रमाण पुरीलाई लिएर हेलिकोप्टर सवारीमा दिपेश जानु पनि हो । स्रोतले भन्यो, ‘अहिले त पुनमात्र होइन, उसको साम्राज्यमा नेकपा नजिकका धेरै नेता र उनका आफन्त छन् ।’
कम्युनिस्ट सरकारमा वैदेशिक रोजगारीको रातो साम्राज्य चलाउन पुरीले पूजा चन्द भन्ने हाइड्रोपावर व्यवसायीलाई पनि हातमा लिएका छन् । चन्द, सुडान घोटाला कान्डमा परेका पूर्वप्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीकी बहिनी पनि हुन् । मोरङको भाउन्नेका साधारण केटो बेरोजगार भएपछि झापाको दमक हानियो ।
दमकमा उच्च शिक्षाका लागि पुगेका पुरीले ०५४ साल ताका केही समय जग्गाको काम पनि गरेका थिए । उनले झापाकी लिम्बु थरकी एक युवतीसँग बिहे गरे । आर्थिक अवस्था नाजुक भएपछि पत्नीसँग किचलो पर्न थाल्यो । त्यसपछि ससुरालीले उनलाई लगानी गरेर ०५९ सालमा वैदेशिक रोजगारीका लागि पठाए । उनी साउदी अरब पुगे ।
केही बर्ष त्यहाँ काम गरेर कमाएको रकमले काठमाडौंमा ‘केटी राखेर’ क्याबिन रेस्टुुरेन्ट चलाएका पुरी बेलामौका प्रहरीको छड्केमा पर्थे । तर, त्यो व्यावसाय पनि उनको राम्रोसँग चलेन । र, बन्द भयो । ‘अति महत्वकांक्षी र चालू मान्छे हुन् । रेस्टुरेन्ट डुबेपछि वैदेशिक रोजगारीमा जाने मान्छे खोजेर एजेन्टको काम गर्न थाले’, स्रोतले भन्यो, ‘त्यसबेला चलेका स्काई म्यानपावरको एजेन्ट थिए उनी ।’
शक्ति केन्द्रसँग नजिक हुन जुनसुकै मुल्य चुकाउन पनि तयार हुने उसले प्रतिबन्धित देश इराकमा रोजगारीका लागि मान्छे पठाउन सुरु गरे । स्रोतले भन्यो, ‘त्यहि बेलादेखि उसको एजेन्टको काम फस्टायो । धमाधम युवा जोखिम मोलेर इराक जान तयार भए, यता रघुले कमिशनवापत पैसा कुम्ल्याउन थाल्यो ।’ वैदेशीक रोजगारीमा मान्छे पठाउने काममा ठूलो कमिशन हुने, श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागमा सेटिङ मिलाउँदा अझ पैसा थुप्रिने दिमाग आएपछि पुरीले ‘द रिभर’ ओभरसीज भन्ने म्यानपावर कम्पनी किनेका थिए ।
स्रोतले भन्यो, ‘त्यसपछि खाडी मुलुकदेखि मलेसीयालगायतका देशमा भटाभट मान्छे पठाउन थाल्यो । धेरैको विचल्ली पनि भयो । तर, पैसा र पावरका आडमा उसले मिलायो ।’ स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका नेतासँग उठबस गर्न थालेका पुरीले शक्ति संयन्त्र आफ्नो मुट्ठीमा रहेको ध्वाँस पनि दिने गरेका छन् । स्रोतले भन्यो, ‘म जे पनि गर्न सक्छु कसैले छुन सक्तैन भन्छन् ।’

भेन्डर हत्याउन यतिसम्म गरे
उपराष्ट्रपतिपुत्र दिपेश पुन दुईरचार चोटी पुरीको योजनामा मलेसीया भेन्डर हत्याउन श्रम मन्त्रालय पुगिसकेका थिए । मलेसीयन सरकारलाई खुशी पार्न उनीहरूले नेपाल आएको बेला त्यहाँको मानव संशाधन मन्त्रालयका उपसचिव बेठ्ठि हसनलाई सिम्रिक एयरको हेलिकप्टर रिजर्भ गरी माउन्टेन फ्लाइट गराएका थिए ।
नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौता भएको महिनौं पुगिसक्दा पनि भिसा लागेका १० हजार कामदार उड्न पाएका छैनन् । भीएलएन र बायोमेट्रिक लगायत भेन्डर संस्था हत्याउन खोजेका पूजा र पुरीलाई मलेसीयन सरकारले दिन नमानेपछि भिसा लागेका १० हजार कामदार पनि उड्न पाएनन् । अझै त्यो हत्याउनका लागि पुरीको सक्रियता छ ।
नेपाल र मलेसिया सरकारबीच १२ कात्तिकमा श्रम सम्झौता भएको थियो । जसमा भिसा लागेका १० हजार कामदार तत्काल पठाउने सहमति भएको थियो । एमओईको ६ नं को ‘डी’ मा स्पष्ट भिसा लागेका कामदारलाई तत्काल पठाउने उल्लेख छ । तर चन्दलाई प्रयोग गरी पुरीले नै त्यसलाई रोकेका छन् ।

मानव तस्करीमा पक्राउ
हालका आइजी सर्वेन्द्र खनाल महानगरीय अपराध महाशाखामा हुँदा मानव तस्करीको अभियोगमा पुरीलाई २४ दिन हिरासतमा राखी अनुसन्धान गरिएको थियो । त्यसपछि पुरीले वैदेशिक रोजगार विभागको मुद्दा भएको भन्दै वकिलको प्रयोग गरी आफुलाई वैदेशिक रोजगार न्यायाधीकरणमार्फत रिहा गराउने प्रयत्न गरेका थिए ।
न्यायाधीकरण र विभागका कर्मचारीलाई एक करोड रकम घुस खुवाएर उनी मानव तस्करीको अभियोगबाट मुक्त भएको स्रोतको दाबी छ । ‘अहिले मन्त्री, नेकपाका नेताहरूसँग राम्रो उठबस बनाएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश मार्फत तत्कालिन माओवादीभित्र पनि उनको राम्रै उठबस छ,’ स्रोतले भन्यो ।

विवादीत नीजि जीवन
पुरीले अवसरलाई ‘क्यास’ गर्न आफ्नो निजी जीवनलाई विवादमा राखेका छन् । शक्ति र पैसाको आडमा पारिवारिक सम्बन्धका विषयमा उठ्ने प्रश्नहरूमा उसको उत्तर हुन्छ, कसले छुन सक्छ ? लिम्बु थरकी युवतीसँग छाडपत्र नगरेका पुुरीले शेर्पा थरकी युवतीसँग अर्को बिहे गरे । लिम्बु युवती अहिले दुबईमा वैदेशिक रोजगारीमा छिन् ।
शेर्पा थरकी युवतीबाट व्यावसायीक मुनाफा लिएपछि पुरीले तामाङ थरकी अर्की युवतीसँग बिहे गरेका छन् । शेर्पा थरकी युवती कोरियामा छिन् । ‘कसैसँग छाडपत्र भएको छैन, उनीहरूले चाहेको बेला बहुविवाहको मुद्दा लगाउन सक्छन्,’ स्रोतले भन्यो, ‘तर उसले यता सत्ताको वरिपरि पैसामा व्यक्ति र शासन मिलाएको छ ।’

खोसियो निजी हतियार
त्यति मात्र होइन अथाह पैसा थुपारेपछि पुरीले निजी सुरक्षाको लागि भनेर राज्यको अनुमतिमा हतियार राखेका थिए । त्यस्ता हतियारको दुरुपयोग हुन थालेपछि महानगरीय प्रहरी अपराध महाशाखाले खोस्न थाल्यो । केही महिनाअघि मात्र पुरीको हतियार धिरजप्रताप सिंह नेतृत्वको महाशाखाले खोसेको थियो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १५:१४