सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लाखौँको आर्थिक अनियमितता, भ्रमणमा मात्रै ३५ लाख !

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय


गोकुल जोशी । महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारले लाखौँको आर्थिक अनियमितता गरेको भेटिएको छ । उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टले विभिन्न शीर्षकमा नभएको खर्च देखाई, बढी रकम भुक्तानी गरेको खुलासा भएको हो ।
शिक्षक, कर्मचारीको नियुक्ति विवादले चौतर्फी विवादमा रहेको विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारले भ्रमण खर्च तथा कानुनी खर्च लगायतका अन्य शीर्षकमा लाखौँको अनियमितता गरेको तथ्य खुल्न आएको हो । उपकुलपति र रजिस्ट्रार धेरै समय राजधानीमा रहेको विश्वविद्यालयको सम्पर्क कार्यालयमा बस्ने गरेका छन् ।
उनीहरु वर्षमा २–३ पटक मात्र केन्द्रीय कार्यालय महेन्द्रनगर पुग्ने गरेको विश्वविद्यालय स्रोत बताउँछ । काठमाडौंमा बसेर विश्वविद्यालयको तलब भत्तामात्रै दोब्बर–तेब्बर पचाई रहेका उनीहरु विश्वविद्यालयको गतिविधिबारे जानकारविहीन रहेकोे आरोप छ ।

उपकुलपति प्रा. भूषण श्रेष्ठ


वर्षको २–३ पटक मात्र केन्द्रीय कार्यालय महेन्द्रनगर पुग्ने गरेका उपकुलपति र रजिस्ट्रार लगायतका अन्य २ जना गरि काठमाडौं सम्पर्क कार्यालयका ४ जनाले भ्रमणको नाममा वार्षिक लाखौं रकम कुम्ल्याउने गरेको देखिएको छ । एक महिनामा १४ दिन भ्रमण गरेको देखाउँदै उपकुलपति श्रेष्ठ र रजिस्ट्रार भट्टले वार्षिक ३५ देखि ४० लाखसम्म कुम्ल्याउने गरेको पाइएको छ । जबकि महेन्द्रनगर आउँदा जाँदाको लाग्ने खर्च भनेको बढीमा ४ लाख मात्र हो ।
आर्थिक वर्ष २०७३/०७४ मा भ्रमण खर्च शीर्षकमा ३३ लाख ५५ हजार रकम बुझेका थिए भने गत आर्थिक वर्षमा ३५ लाख बुझेको विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । उनीहरुले भ्रमण खर्चमा मात्रै अनियमितता गरेको मात्रै नभइ विश्वविद्यालयमा हुने हरेक क्रियाकलापमा करोडौं रुपैंयाको अनियमितता गरेको तथ्यहरु बाहिर आउन थालेका छन् ।
विश्वविद्यालयले गत आर्थिक वर्षमा कानुनी खर्चमा १७ लाख १५ हजार खर्च गरेको तथ्याङ्क छ । जहाँ विश्वविद्यालयका वकिललाई मासिक ३५ हजारका दरले तलब दिने गरिन्छ । कुनै मुद्दा तथा अन्य कामले वकिलले विश्वविद्यालयमा आएबापत थप २५ हजार भत्ता दिने व्यवस्था छ । विश्वविद्यालयका वकिल टंक दुलाल दुई पटक मात्रै यहाँ आएको विश्वविद्यालय स्रोत बताउँछ ।
वकिल दुलाललाई गत आर्थिक वर्षमा १७ लाख १५ हजार रुपैयाँ दिइएको तथ्याङ्कमा उल्लेख छ। वार्षिक रुपमा दुलालको तलब ४ लाख २० हजार तथा भत्ता ५० हजार गरि जम्मा ४ लाख ७० हजार हुन आउँछ। तर कानुनी शीर्षकमा झण्डै १३ लाख बढी भुक्तानी भएको र त्यसमा कूलपति र रजिस्ट्रर सम्लग्नता रहेको देखिन्छ ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १३:२६