सूचनाको शक्ति - The Power Of Information

        

१५ करोडको कृषि उपज केन्द्र बन्द

बाँके । करिब पाँच बर्षअघि केएल दुगड समूहले सञ्चालन गरेको ज्ञान एग्री भण्डारण कृषि उपज केन्द्र बन्द भएको छ । बाँके, बर्दिया र दाङका किसानलाई लक्षित गर्दै २०७१ सालमा ग्लोवल आईएमई बैंकको सहकार्यमा सञ्चालित केन्द्रमा लक्ष्य अनुसार किसानको सहभागीता नहुँदा केन्द्र बन्द भएको हो ।
बैंकको झण्झटिलो प्रक्रिया र ब्याजको कारण किसानहरू उक्त कार्यक्रममा सहभागि हुन नआएपछि एक वर्षदेखि नै कार्यक्रम बन्द छ । ज्ञान एग्री वेयरहाउजिङ् एण्ड कोलाष्ट्रल म्यानेज्मेन्ट प्रालिमार्फत स्थापना गरिएको उक्त केन्द्रमा करिब रु.१५ करोड बढीको लागत रहेको थियो । केन्द्को क्षमता ३ हजार ५०० मेट्रिक टन रहेको थियो ।
रु.१५० प्रति मेट्रिक टन भाडा तिरेर किसानले आफ्ना कृषि उत्पादन उक्त केन्द्रमा भण्डारण गर्न पाउने व्यवस्था गरिएको थियो । तर, किसानले कार्यक्रमभित्र आउन रुची नदेखाएपछि एक वर्षअघि नै कार्यक्रम बन्द गरिएको केएल दुगड नेपालगन्जका प्रबन्ध निर्देशक प्रदिप छाजेड बताउँछन् । उक्त भण्डारण केन्द्रको स्थापना पछि किसानको उत्पादन कुहिने, चोरी हुने, आगलागीबाट नष्ट हुने र मूल्य नपाउने समस्या समाप्त हुने बिश्वास लिइएको थियो ।
कृषि उपजको भण्डारण कम्पनीले आफै बिमा समेत गर्दै आएको थियो । भण्डारण केन्द्रमा कृषकले उपज राखैकै आधारमा ‘वेयर हाउस रसिदमार्फत कर्जा’ समेत पाएका थिए । किसानको उत्पादन सुरक्षित रहोस् र बजारमा राम्रो मूल्य पाउन भन्नका लागि प्रयास थालेको भए पनि दीर्घकालिन बन्न नसकेको छाजेड बताउँछन् ।
आफ्नो यहाँका कृषकहरुबाट कृषि बाली खरिद गरेर करिब ६७ प्रकारका खाद्यान्न उद्योगहरु सञ्चालनमा ल्याएको समेत उनले बताए । भण्डारण गर्ने किसानलाई कृषि सम्बन्धीका विभिन्न तालिमहरू समेत प्रदान गरिएको थियो । किसानले भण्डारण गरेको बालीको बजार मूल्यको ७० प्रतिशत बराबरको बैंकबाट कर्जा पाएका थिए । तर, बैंकको प्रक्रिया लामो भएपछि उक्त कार्यक्रम सहभागि हुन नआएको बाँकेका किसानहरू बताउँछन् ।

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १२:३३