सूचनाको शक्ति - The Power Of Information

        

जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविर

बाँके । खजुरा गाउँपालिकाले सोमबारदेखि जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नं. १ को राधापुरबाट उक्त शिविर शुरू गरिएको गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष कक्षपतिले जेष्ठ नागरिकका लागि यो वर्ष दुई पटक विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिने बताए । उनले गत वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न लागिएको बताए ।
उक्त गाउँपालिकाका सबै वडामा एक÷एकदिन शिविर सञ्चालन हुने उनले जानकारी दिए । राधापुरमा सोमबार भएको शिविरमा आँखा, कान, रक्तचाप, मधुमेह लगायतका सेवा विशेषज्ञ टोलीले सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त शिविरमा भेरी अञ्चल अस्पताल, फत्तेवाल आँखा अस्पताल, व्रिनोज कान अस्पतालबाट विषशेज्ञसहितको टोली ८ दिन नै खटिने भएका छन् । गाउँमै निःशुल्क स्वास्थ्य जाँच र औषधी उपचार पाएपछि जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १२:१६