सूचनाको शक्ति - The Power Of Information

        

शिक्षासँगै छैन निरक्षरको विवरण, ८० हजार नागरिक अझै ‘औठाछाप’

बाँके । कागजमा बर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजारबढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नारिक निरक्षर रहेका छन् । साक्षर वडा घोषणा भइसकेको उपमहानगरको एक र २४ वडामा समेत निरक्षरको संख्या थुप्रै रहेको भेटिएको छ । यस्तै तत्कालिन नौबस्ता गाविसमा पनि निरक्षरको संख्या धेरै रहेको स्थानीय याम श्रेष्ठ बताउँछन् ।
उपमहानगरपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिकामा मात्रै करिब १२ हजार नागरिक निरक्षर रहेको भेटिएको छ । यो एउटै गाउँपालिकाको तथ्याकले पनि बाँकेमा निरक्ष अभियान कागजमै सिमित रहेको प्रष्ट देखिएको छ । एक सरकारी तथ्याकंअनुसार निरक्षरमध्ये महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ जना अझै निरक्षर छन् । पाँच लाख चार हजार ५४८ जनसंख्या रहेको जिल्लामा महिला एक लाख ७६ हजार २५५ र पुरुष दुई लाख १२ हजार ६३२ साक्षर रहेको कागजी तथ्याकंले देखाएको छ ।
३५ हजार जनसंख्या रहेको नरैनापुरमा १२ हजार निरक्षर रहनुले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाको अवस्थामा पनि सुधार हुन नसकेको आँकलन गरिएको छ । तर, तत्कालिन जिल्ला शिक्षा तथा अहिलेको शिक्षा ईकाई समितिसँग बाँकेमा निरक्षर नागरिकको विवरण नै छैन । बाँकेमा निरक्षरको संख्या बढी रहे पनि तत्कालिन जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापा निरक्षरको एकिन विवरण आफूहरूसँग नभएको बताउँछन् ।
‘गाउँपालिकामा सर्वे भइरहेको छ,’ उनले भने ‘जिल्लामा एकिन विवरण छैन् र, यसै भन्न पनि सकिदैन ।’ यद्दपी यस्तो रकेर्ड राख्ने जिम्मेवारी शिक्षा कार्यालयकै हुन्छ । राष्ट्रिय योजना आयोगका अनुसार बाँकेको साक्षरता दर ५६ प्रतिशत छ । यसले पनि बाँकेमा ४४ प्रतिशत नागरिक निरक्षर रहेको देखाएको छ । तर, स्थानीय तहमा गएर सर्वेक्षण गर्ने हो भने यो संख्या कागजमा घटेपनि संख्यात्मक रूपमा उत्तिकै रहेको छ ।
शिक्षा नै विकासको मूल आधार हो भन्दै शैक्षिक सुधारमा सरकारले गरेको लगानी बाँकेका हकमा वालुवामा पानी झै भएको छ । नरैनापुरको यो निरक्षर अवस्थाले पनि सरकारको हरेक गाउँ र जिल्ला पूर्ण साक्षर बनाउने अभियान अलपत्र देखिएको छ । साक्षरको तथ्यांक घट्ने–बढ्ने क्रम जारी रहने गरेको जनाउँदै सो कार्यालयका कर्मचारीहरूले सोही कारणले बढी निरक्षर देखिएको हुनसक्ने बताएका छन् । एक कर्मचारीले भने, ‘वर्षौैं पढ्दा त बिर्सिन्छन् भने जम्मा तीन महिना पढेकाले सधैं कहाँबाट सम्झिरहुन् ।’
सामुदायिक सिकाइ केन्द्रमार्फत् सञ्चालन गरिने निरन्तर शिक्षामा करिब डेढ सय कक्षाका लागि कोटा आएपनि यी कक्षा समेत प्रभावकारी हुन सकेका छैनन् । साक्षर घोषणा गरिएको तत्कालिन नौबस्ता गाविस र नेपालगन्ज उपमहानगरपालिकाकै केही वडामा समेत अहिले पनि निरक्षर नागरिक रहेका छन् । तत्कालिन सीतापुर र मनिकापुरले साक्षर घोषणाका लागि अनुमति लिएपनि धेरै नागरिक निरक्षर रहेकै कारण अहिले पनि घोषणा गर्न नसकिएको वडा नं १८ मनिकापुरका वडाध्यक्ष कृष्ण कार्की बताउँछन् ।
गाउँपालिकामा निकै ठूलो जनसंख्या निरक्षर रहेकाले साक्षर बनाउने अभियान सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताउँछन् ।अहिले पनि नरैनापुर गाउँपालिकामा रहेका यी निरक्षरले सरकारी कामकजमा औठाछाप नै प्रयोग गर्दै आएको पाईएको गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह नै बताउँछन् ।

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार ०७:३८