सूचनाको शक्ति - The Power Of Information

        

चलचित्रमा मनोज गजुरेलको परीक्षा : पास भए फेरि खेल्ने, फेल भए बाइबाइ !

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको परिचय थपिएको छ । उनी चलचित्रमा नायक भएर आउँदैछन्, चलचित्र ‘१०० कडा १०’ मार्फत् । रामशरण पाठक निर्देशित यो चलचित्र माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यस चलचित्रको ट्रेलर आइतवार विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । यद्यपि ट्रेलर सार्वजनिक गर्न आइतवार आयोजित कार्यक्रममा भने मनोज उपस्थित थिएनन् । चलचित्रमा डुब्युका सन्दर्भमा मनोज गजुरेलसँग लोकान्तरले गरेको कुराकानीको छोटो अंश उनकै शब्दमा :

मैले लेखेको त्यो ब्लग…
चलचित्र निकै कम हेर्छु । फरकफरक धारका चलचित्र हेर्न रुचाउँछु । मैले निर्देशक रामशरण पाठक निर्देशित ‘प्रेम गीत –२’ हेरेको थिएँ । त्यो चलचित्रको कथा, प्रस्तुतिले मेरो मस्तिष्क छोएको थियो । मैले मेरो गजुरियल डटकममा सो चलचित्रको बारेमा एउटा ब्लग पनि लेखेको थिए । त्यो ब्लग रामशरणजीले हेर्नुभएछ र मलाई फोन गर्नुभयो ।
उहाँको नजरमा धेरै पहिलेदेखि परेको रहेछु । उहाँले मसँग सहकार्य गरेर नयाँ प्रोजेक्ट गरौंं भन्ने सोच्नुभएको रहेछ । उहाँले सम्पर्क गरेपनि केही समयसम्म मैले हेरौँला, सोचौँला भनिरहेको थिएँ । तर अन्तिममा उहाँले एउटा स्क्रिप्ट ल्याउनुभयो, जुन मलाई पनि मनपर्यो ।
रंगमञ्चमा रमाइरहेको मलाई पछिल्ला केही वर्षदेखि चलचित्रमै भनेर होइन तर भिडियो माध्यममा कहीँ न कहीँ अब मैले आफूलाई पनि लग्नुपर्छ भन्ने लागिरहेको थियो । केही टेलिभिजन शोहरू सञ्चालनको प्रयास पनि गरियो । ती विविध कारणले नियमित हुन सकेनन् । मलाई दुई–तिन वर्षदेखि चलचित्रबाट अफरहरू आइरहेका थिए ।
तर म चलचित्रमा अनुहार देखाउनका लागि मात्र जानुहुँदैन, मेरो कलाकारिताको जुन स्वरूप छ त्यसलाई पनि समावेश गर्ने खालको कथा भयो भने मात्र जाने भन्ने मेरो सोच थियो । म आफू र मेरो संस्था सिस्नुपानी नेपाल लामो समयदेखि हास्यव्यङ्ग्यको माध्यमबाट भ्रष्टाचारविरुद्ध लागिरहेको छ ।
म कमेडी विधाकै भएपनि मेरो विचारमा चलचित्रको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ । सय कडा १० मा त्यस्तै कथा भएको हुनाले मेरो डेब्यूका लागि उपयुक्त चलचित्र लाग्यो । पहिलोपटक आफ्नो शैलीसँग मिल्दो चलचित्र पाएकाले सय कडा १० मा अभिनय गरेँ ।

चलचित्रमा पनि मनोज
चलचित्रमा पनि म मनोज गजुरेलकै भूमिकामा छु । जो भ्रष्टाचारविरुद्ध हास्यव्यङ्ग्य कलामार्फत अभियान चलाइरहेको छ । उसले आफ्नो परिवार, समाज, देश, राजनीतिभित्र आफ्नो आदर्शलाई जोगाइराख्नका लागि कस्ता–कस्ता संघर्ष गनुपर्छ, त्यो कथा प्रस्तुत गरिएको छ । जुन मेरो वास्तविक कलाकारिताको स्वरूपसँग मिल्दो छ ।

निर्देशकलाई भनेँ, ‘मलाई माया होइन्, हप्काएर काम गराउनुहोस्’
क्यामेरासँग म फेमिलियर थिइनँ र अहिले पनि छैन । त्यसैले मैले शुरूमै निर्देशकलाई भनेको थिएँ, मबाट केही निकाल्ने हो भने मलाई माया गरेर होइन हप्कीदप्की गरेर काम गराउनुस् । मलाई मनोज गजुरेलजी भनेर कहीँ पनि छुट दिन पाउनुहुन्न । मलाई गाली गरेर, थर्काएर, पिटेर भएपनि अभिनय गराउनुपर्छ ।

चलचित्रको अनुभव
मेरा लागि चलचित्र नयाँ क्षेत्र भएपनि नितान्त नयाँ भने होइन । राम्रो टीमका कारण पनि अभिनय गर्न त्यति गाह्रो भएन । रमाइलोका बीच छायाङ्कन सकियो । रंगमञ्च र चलचित्रका बीच केही भिन्नता पाएँ । केही सहजता, केही असहजता । जस्तो कि चलचित्रमा अभिनय गर्दा बिग्रियो भने तपाईं १०औं पटक रिटेक गर्न सक्नुहुन्छ ।
तर रंगमञ्चमा एकपटक चिप्लिएपछि चिप्ल्योचिप्ल्यो । त्यस्तै रंगमञ्चमा सोलो अभिनय गर्ने, प्रस्तुति दिने मानिस एउटा लाइन जमेन भने तुरुन्तै अर्को क्रिएट गर्न सक्थें । चलचित्रमा त्यो हुँदैन, तपाईं संवादभित्र अनि त्यो कथाभित्र बाँधिनुपर्छ । रंगमञ्चका ठूल्ठूला स्टेजमा उफ्रीउफ्री प्रस्तुति दिने बानी परेको मलाई चलचित्रको क्यामराको सानो फ्रेमभित्र अटाएर अभिनय गर्नुपर्दा अलि सकसचाहिँ भयो ।
मलाई रंगमञ्चभन्दा चलचित्र बलियो महसूस भयो । जस्तो म एक्लै मञ्चमा जाँदा, एक्लै कार्यक्रममा जाँदा एक्लोभाव हुन्थ्यो । तर चलचित्र एउटा बलियो टीम रहेछ, एउटा घर रहेछ । तर मैले रंगमञ्चको जुन प्रस्तुति छ, जुन लाइन छ, जुन जीवन्तता छ त्यो मजा चलचित्रमा भने पाइनँ । तर दर्शकलाई भने चलचित्रले सन्तुष्टि दिनेछ ।

चलचित्रमा परीक्षा
मैले अहिले चलचित्रको परीक्षा दिएको छु । माघ १८ गते रिजल्ट निस्कँदैछ । त्यो रिजल्टको निर्णायक दर्शक हुनुहुन्छ । म चलचित्रको अभिनयमा पास भएँ भने राम्रो कथाका अन्य चलचित्रमा पनि अभिनय गर्नेछु । डिस्टिङ्सन आयो भने म आफैँ चलचित्र बनाउँछु । दर्शकहरूले चलचित्रमा मेरो अभिनय सुहाउँदो छैन भन्नुभयो भने मेरो कलाकारिताको आफ्नो बिधा छँदैछ । तर मेरो प्राथमिकता सधै रंगमञ्च नै हुनेछ ।

हेर्नुस्, ट्रेलर : 

 

#लोकान्तर

प्रकाशित मिति : १५ पुष २०७५, आइतवार १६:१३