सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा भेटिए सुर्खेतबाट हराएका तीन बालिका

सुर्खेत । दुई दिदीबहिनीसहित विद्यालयबाट हराएका तीनजना बालिकाहरु रुपन्देहीमा फेला परेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाका–५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत बालिकाहरु रुपन्देहीको बुटवल बसपार्कमा आइतबार बिहान भेटिएका हुन् ।
सिम्ता ९ खानिखोलाका १४ वर्षीया निशा सिंह ठकुरी, १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री ११ गतेदेखि हराएका थिए । स्कुल गएका छोरीहरु बेलुकी घर नआएपछि आफन्तले प्रहरी चौकी आलीमा खोजी गरिदिन पुस १२ गते निवेदन दिएका थिए । इलाका प्रहरी कार्यालय छिञ्चुले तीन दिनपछि आइतबार बिहान साढे ९ बजे उनीहरुलाई फेला पारेको हो ।
इलाका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक निरज चौलागाईका अनुसार बालिकाहरु हराएको निवेदन आएपछि प्राथमिकताका साथ खोजी गरिएको थियो । ‘अनुसन्धानका क्रममा उनीहरु तीनै जना बुटवल जाने भनेर नेपालगञ्ज गाडी चढेको पाइयो,’ उनले भने, ‘कोहलपुर बसपार्कमा झरेका उनीहरु पूर्व जाने गाडीमा चढेको व्यापारीहरुबाट पत्ता लाग्यो । त्यसपछि बुटवल जाने भनेर हिँडेको अनुमानमा बसपार्कमा खोजी गर्दा भेटिएका छन् ।’
बालिकाहरु किन, कसरी बुटवल पुगे भन्नेबारेमा अनुसन्धान गर्न बाँकी रहेको उनले जानकारी दिए । उनीहरु हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा छन् । रुपन्देही प्रहरीका अनुसार आजै बालिकाहरुलाई नेपालगन्ज ल्याउन लागिएको छ । नेपालगन्जबाट सुर्खेतप्रहरीले बालिकाहरुलाई ल्याउने प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुष २०७५, आइतवार १३:४७