बाँके । खाद्य उत्पादनको भण्डारका रूपमा हेरिएको बाँके जिल्लामा यतिबेला खाद्यान्नकै अभाव देखिएको छ । बाँकेमा अहिले एक हजार ७६७ मेट्रिक टन खाद्यान्नको अभाव देखिएको छ । कुल ४६ हजार ६६३ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।
तर, बाँके जिल्लामा यस बर्ष ४४ हजार ८९६ मेट्रिक टनमात्रै खाद्यान्न उत्पादन भएको छ । गत बर्षसम्म ९८ हजार ९९९ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएकोमा यस बर्ष उत्पादन आधा घटेको तथ्यांकले देखाएको छ । बाँकेले अहिले आफ्नै जिल्लामा रहेका नागरिकलाई समेत खाद्यान्न उत्पादन गर्न सकेको छैन ।
यसले पनि बाँकेका नागरिक खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको उक्त तथ्याकंले देखाएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको योजना तथा अनुगमन महाशाखाका बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए ।
तर, बाँकेसँगै जोडिएको बर्दिया जिल्ला खाद्यान्न उत्पादनमा अब्बल देखिएको छ । जसमा कुल ४ लाख ५० हजार ४७० जनसंख्या रहेको छ । जसमा कुल १ लाख ४३ हजार २२८ मेट्रिक टन खाद्यान्न उत्पादन हुदै आएको छ । बर्दियाले आफुलाई चाहिने खाद्यान्न परिपुर्ती गरी अन्य जिल्लामा पनि निर्यात गर्दै आएको छ ।
कुल ६१ हजार ६९३ मेट्रिक टन खाद्यान्न अन्य जिल्लामा निर्यात गर्ने गरेको मन्त्रालयको तथ्यांक रहेको छ । खाद्यान्न उत्पादनमा कमजोर देखिएको बाँके जिल्लालाई योजना छनौटमा प्रथमिकता राखेर मन्त्रालयले कार्य अघि बढाउने तयारी गरेको उनले बताए ।
उनका अनुसार प्रदेश पाँचमा प्यूठान, बाँके, रोल्पा र नवलपरासी खाद्यान्न उत्पादनमा कमजोर देखिएका छन् । बाँकेमा कृषि ज्ञान केन्द्रसमेत स्थापना गरिएको छ । जसले उक्त क्षेत्रको थप उत्पादकत्व वृद्धिको लागि कार्य गर्ने मन्त्रालयको योजना रहेको उनी बताउँछन् ।
प्रदेश सरकारले यसरी आफ्नो जिल्लाको लागि आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकी आयात गर्नुपर्ने जिल्लाहरूलाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको कार्यक्रम सुरुवात गरेको उनले जानकारी दिए ।
सत्यपाटी - ।