सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–दिल्ली मैत्रीबस सञ्चालनमा

बाँके । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्ज–दिल्ली मैत्रीबस सेवालाई हरियो झण्डा देखाउदै शुभारम्भ गरेका छन् । भेरी यातायात सेवा प्रालिले सञ्चालनमा ल्याएको मैत्रीबस सेवाले नेपालगन्ज प्रदेश नं. ५ को पर्यटन तथा व्यावसायिक क्षेत्रको मुख्य प्रवेशद्वार हुने कुरामा जोड दिए ।
उनले छिमेकी मुलुक भारतका धार्मिक तिर्थयात्रुहरुलाई मानसरोबरसम्मको यात्राको लागि सहज हुने कुरामा जोड दिदै भने, ‘नेपालगन्जबाट भारतको दिल्ली र नेपालगन्जबाट काठमाडौको दुरी अव एक रात मात्रै रहने भयो । यसलाई अवसर र सेवाको भावले दिगो समयसम्म हुने गरी सञ्चालन गरिनुपर्छ ।’
मुख्यमन्त्री पोख्रेलले हिजोका दिनमा काठमाण्डौंबाट तिब्बतको लासासम्म र काठमाण्डौबाट भारतका अन्य शहरमा मैत्री बस सेवा सञ्चालनमा आए पनि त्यसले निरन्तरता पाउन नसकेर त्यतिकै बन्द भएको बताउदै उनले यात्रुको सुविधा र सुरक्षाको विषयमा बस सञ्चालन गर्ने संस्थाले भारतमा तथा नेपालमा यात्रु ठगिनबाट जोगाउन विषेश पहल गर्दै चनाखो हुनुपर्ने कुरमा जोड दिए ।
उनले बस सेवाले मानसरोवर जाने यात्रुहरु दिल्लीबाट काठमाडौ हुदै नेपालगन्ज आउने खर्चलाई जोगाई सोही रकममा मानसरोवरको तिर्थ गरेर फर्कन सक्ने बातावरण भएको बताए । उनले नेपालगन्जको विकासको लागि पनि यो सेवाले टेवा पुग्ने कुरामा दावी गर्दै नेपालगन्जदेखि कर्णाली राजमार्गको माध्यमबाट तिब्बत जोड्न सरकारको पहल भइरहेको बताउँदै नेपालगन्जदेखि भारतका विभिन्न शहरहरुमा हवाई मार्ग र रेलसंगको कनेक्टीभिटी गराउन पहल भईरहेको जानकारी दिए । सो अवसरमा नेपालमा रहेको भारतीय राजदूतावसका सहसचिव निरजकुमार जैसवालले बस सेवाले भारतीय तिर्थ यात्रुलाई कम खर्चमा आरामदायी यात्राको लागि सहजता हुने विश्वास व्यक्त गरे । उनले भने, ‘बससेवाले ठूलो संख्यामा भारतीय धार्मिक तिर्थयात्रु नेपाल प्रबेश गर्न सक्ने र दुई देशका नागरिकबीचमा भाईचाराका साथै भातृत्वको भावना विकास हुने हाम्रो विश्वास छ ।’
उनले भारतले दशगजा क्षेत्रमा निर्माण गरिरहेको बाँध जस्तो सडकले नेपालगन्जमा पार्नसक्ने डुवानको बारेमा आफुले त्यसको बारेमा उच्च अधिकारीसँग परामर्श गर्ने बताउँदै भारत सरकारले चाँडै नै ईन्ट्रिग्रेटेड चेक पोष्ट निर्माण गरी सञ्चालनमा ल्याउने जानकारी दिए ।
नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्जबाट दिल्ली हवाई यात्राको पनि सुरुवातको लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी पुरा भएपनि भारतले रुट परमिट तथा ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विभानस्थलमा ल्याण्डिङ्ग सहमति नदिएको कारण अड्किएको बताउँदै भारतीय दूतावासबाट पहल गर्न आग्रह गरे ।
बस सेवा सञ्चालनले नेपालगन्जको बागेश्वरी मन्दीर, स्वर्गद्वारी, रारा, मानसरोवर लगायतका गन्तब्यसम्म यात्राका लागि पनि यो बस सेवालाई सहयोग पुग्ने छ । भेरी यातायात प्रालि र उत्तर प्रदेश यातायात परिवाहन निगमका मैत्रीबस दिल्लीबाट आउने र जाने यात्रुलाई सहयोग पुग्ने छ । नेपालबाट भारतको दिल्ली दैनिक एउटा बस जाने र दिल्लीबाट नेपाल आउने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।
यसैबीच नेपालगन्जबाट बसका यात्रुलाई टिका र माला लगाई भारतीय दूतावासका सहसचिव जयसवालले बसमा चढाए भने मुख्यमन्त्री पोख्रेलले हरियो झण्डा देखाएर बस सञ्चालन गरेका थिए । सो अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल लोकतान्त्रिक व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगन्जको दुरी घटाएको बताए । भेरी यातायात प्रालिका अध्यक्ष गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई–टिकट सेवा सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : १५ पुष २०७५, आइतवार ०८:३१