सूचनाको शक्ति - The Power Of Information

        

तरकारीमा आत्मनिर्भर बन्दै थारू महिला, धनियाँको पातबाट मात्रै वार्षिक चार लाख आम्दानी

परिश्रमी हातहरु

दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारी खेती गरेर आर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका छन् । सोमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला कृषकको रुपमा चिनाएकी छन् ।
उनले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक रु चार लाखसम्म बचत गर्ने गरेको बताइन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्नका लागि उनी सधैँ एकाबिहानै छिटुवामा बोकेर घरघर पुग्छिन । यसपटक दसैँ तथा तिहारको एक महीनाको अवधिमा मात्र धनियाँ बिक्रीबाट रु डेढ लाख आम्दानी गर्न सफल भएको स्यानीले बताइन् । विसं २०५८ देखि नै यो पेशा अपनाए पनि व्यावसायिक रुपमा भने विगत १३ वर्षदेखि शुरु गरेको उनले बताइन् ।
उनले हाल १० कट्ठा जमीनमा व्यावसायिक रुपमा स्थानीय जातको धनियाँ खेती गरेकी छन् । एक वर्षमा दुईपटक मौसमी र बेमौसमी धनियाँ खेती गरेर बिक्री गर्दै आएको बताउने उनले प्रतिमुठा धनियाँ रु २० मा बिक्री गर्दै आएकी छन् । सो धनियाँ बेचेर भएको आम्दानीबाट उनले गाउँमा १७ कट्ठा चार धुर जमीन जोडेकी छन् । सो जमीनमध्ये १० कट्ठामा व्यावसायिक रुपमा धनियाँ खेती र अरुमा खाद्यान्न उत्पादन गर्दैआएको उनको भनाइ छ ।
यसैगरी सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छन् । उनले १५ कट्ठा जमीनमा चमसुर, पालक, गोभी, टमाटरलगायतका तरकारीखेती गरेकी छन् । उनी पनि दैनिक बिहानै आफूले उत्पादन गरेको तरकारी छिटुवामा बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म आउने गर्छिन् ।

आयातमा प्रतिवन्ध
उनले भनिन्, ‘पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धान खेती छाडेर छ वर्षदेखि तरकारीखेती गरेका छौँ, दुःख त धेरै भएपनि आम्दानी राम्रो हुन्छ ।’ उनले वर्षमा रु तीन लाख आम्दानी गर्न सफल भएको बताइन् । सिँचाइको लागि पानीको समस्या हुने गरेको र अहिलेसम्म तरकारी खेतीसम्बन्धी कुनै पनि तालीम नलिएको रेखाले जानकारी दिइन् ।
त्यसैगरी सोही गाउँकी ४० वर्षीया राजपति चौधरी पनि १६ कट्ठा जमीनमा व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छन् । उनले वार्षिकरुपमा रु साढे तीन लाख तरकारीखेतीबाट आम्दानी लिन सफल भएको बताइन् । तरकारीखेतीबाटै भएको आम्दानीले गर्दा दुई छोराछोरीलाई बाली विज्ञान विषय अर्थात् कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उनले बताइन् ।
उनले बन्दा, फूल गोभी, टमाटरलगायतका तरकारी खेती गर्दै आएकी छन् । दिनभर तरकारी खेतीमा व्यस्त हुने बिहानै उनी छिटुवामा तरकारी राखेर पैदल हिँडेर तुलसीपुर बजारसम्म बिक्रीका लागि आउने गर्छिन् । उनले बन्दागोभीको मूल्य सस्तो तर टमाटर र फूलगोभी भने प्रतिकिलो रु ५० सम्म बिक्री गर्ने गरेको बताइन् ।
सामान्य लेखपढ गरेको बताउने उनले यस पेशामा टिकाइ राख्न महिलालाई सिँचाइको लागि पानी, तरकारीको उचित मूल्य र बजारीकरण तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालीमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा जोड दिइन् ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले ती महिला तथा अन्न नगरपालिकाभित्र तरकारी खेती गर्ने सबै कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण भइरहेको जानकारी दिइन् । उनले धम्कापुर गाउँका किसानलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबार्ट प्रोत्साहन गर्ने कृषि कार्यक्रम ल्याइने बताइन् ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार १५:१६