सूचनाको शक्ति - The Power Of Information

        

मेलमिलापमार्फत विवाद समाधान गर्न केन्द्र स्थापना

पोखरा । पोखरा महानगरपालिकाले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यका साथ मेलमिलाप केन्द्र स्थापना गर्ने कार्यलाई तदारुकता दिएको छ । अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रूपमा समेत पर्ने व्ययभारलाई कम गर्दै स्थानीय तहबाटै विवादको निरुपण गरी मेलमिलाप गर्ने लक्ष्यका साथ न्यायिक समितिको परिकल्पना गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
पोखरा महानगरपालिका–१३ मा स्थापना गरिएको मेलमिलाप केन्द्रको उद्घाटन गर्दै उनले समाजमा छलफलका माध्यमबाट दुवै पक्षले जितेको अनुभूति हुने गरी मेलमिलाप पक्षले समाधान खोज्ने विश्वास व्यक्त गरिन् । वडाभित्रका विवाद मिलाउने जिम्मा मेलमिलापकर्ताको भएको उल्लेख गर्दै उनले उक्त वडामा १३ जना मेलमिलापकर्ता सूचीकृत गरिएको जानकारी दिइन् ।

बालबालिका विद्यालय भर्ना भएको घोषणा
आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका–१ का सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभूत तहलाई अनिवार्य गर्ने व्यवस्था गरेअनुसार विद्यालय उमेर समूहका (५ देखि १२) वर्षसम्मका सम्पूर्ण बालबालिकाका लागि विद्यालयको सुनिश्चितता वडा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पोखरा महानगरका उपप्रमुख गुरुङले घोषणा गरिन् ।
विद्यालय बाहिर रहेका तीन विद्यार्थीलाई विद्यालयमा भर्ना गरी विद्यालय प्रवेश गराएसँगै सुनिश्चितता वडा घोषणा गर्दै उहाँले घोषणाभन्दा त्यसको निरन्तरता महत्वपूर्ण भएको बताइन् । विद्यालय निरीक्षक विश्वराज आचार्यले वडा नं १ मा तीन सरकारी र १० निजी विद्यालय रहेको बताउँदै सरकारी विद्यालयमा २० हजार ४१७ र निजीमा चार हजार ३०५ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।

विद्यालयहरु सेनेटरी प्याडयुक्त घोषणा
विद्यालयमा सेनेटरी प्याड नहुँदा छात्राले समस्या भोग्नुपरेको र विद्यालयसमेत छाड्ने अवस्था सिर्जना हुने गरेको भन्दै पोखरा महानगरभित्रका शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त बनाउने अभियान सञ्चालन गरिएको छ । रजस्वला महिलामा हुने प्राकृतिक अवस्था भएकाले विद्यालय गएका छात्राले प्याड नहुने र आफनो समस्या बताउन अप्ठ्यारो मान्ने भएकाले विद्यालय छाड्ने गरेका कारण विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराइने भएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख गुरुङले वडा नं ८ भित्र रहेका दुई सामुदायिक र १६ निजी विद्यालयलाई सेनेटरी प्याडयुक्त वडा घोषणा गरिन् ।

प्रकाशित मिति : १४ पुष २०७५, शनिबार ११:२०