सूचनाको शक्ति - The Power Of Information

        

आयोजककै कारण पूर्वाधार निर्माण सुस्त, मिति सर्ने छाँटले खेलाडीलाई कष्ट

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्थापना गरिएको सचिवालयको कार्यालय उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट लगायत ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्थापना गरिएको सचिवालयको कार्यालय उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट लगायत ।


विजय मल्ल । बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी लिएको मध्यपश्चिम खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को लापरवाहीका कारण प्रतियोगिता समय सीमामा नहुने देखिएको छ । प्रतियोगिता सञ्चालन गर्ने खेल मैदान र अन्य भौतिक संरचनाहरु समयमै निर्माण नभएका कारण यस्तो भएको हो ।
बुधबार मध्यपश्चिम खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो कुरा बाहिर आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बुधबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता सर्न सक्ने सम्भावना बढी भएको बताएका हुन् ।
उनले भने, ‘हामीले यसअघि तय गरेको प्रतियोगिताको मितिभित्र आफ्नो जिम्मेवारी पुरा गर्नेछौं । यदी प्रतियोगिता सर्ने अवस्था देखिएकोले यसै वर्षको फाल्गुन मध्यमा गर्ने तयारीमा पनि टिम लागेको छ ।’ यसअघि मंसिर २५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता भौतिक संरचना र बजेट निकासा नभएको भन्दै परिषद्को बोर्ड बैठकले आगामी माघ २५ देखि फागुन ३ गतेसम्म गर्ने निर्णय गरेको थियो ।
तर, बोर्डले यसअघि तोकेको मिति नजिकिदै जाँदा परिषद् र समितिको कमजोरीका कारण प्रतियोगिता लम्बिन सक्ने छाँट देखिएको छ । प्रतियोगिताको भब्य उद्घाटन गर्ने भनिएको नेपालगन्जस्थित रंगशाला निर्माणको कार्यमा ढिलाई भएकै कारण केही समय पर प्रतियोगिताको मिति सर्न सक्ने सदस्य सचिव विष्टको भनाई छ । रंगशालाको प्याराफिट मलेसियाबाट ल्याएर जडान गरिने भएकाले उक्त सामान नेपालगन्ज आउन १५ दिन अझै लाग्ने हुदाँ एक सातामा हुनुपर्ने कार्य एक महिना ढिलो हुन पुगेको हो ।
सदस्यसचिव विष्टले आफ्नो बचाउ गर्दै भने, ‘प्याराफिट ल्याउने कार्यमा भएको ढिलाईका लागि जरिवाना भएपनि तिरेर सम्झौता अनुसारकै समयभित्र सामान ल्याउन लागिपरेका छौं तर, मलेसियन कम्पनीले उक्त सामान उपलब्ध गराउन नसकेमा उक्त कार्य १५/२० दिन पछिसम्म सर्न सक्नेछ ।’ राखेप सदस्य सचिव केशव विष्टले बुधबार नेपालगन्ज रंगशालाभित्र प्रतियोगिताका लागि खोलिएको सचिवालय औपचारिकरुपमा उद्घाटनसमेत गरे ।
यद्यपी उक्त सचिवालयले पुष १५ देखि कार्य थालनी गर्ने भएको छ । तर, माघ २ गतेपछि नै तिव्रता लिने उनले बताए । सदस्य सचिव विष्टले बाँके र बर्दियाका विभिन्न स्थानमा हुने प्रतियोगिता क्षेत्रको स्थलगत अनुगमन गरि कार्यप्रगतिको विस्तृत विवरण लिएका छन् । मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले सचिवालय उद्घाटन भएपछि आठौंं राष्ट्रिय खेलकुदको सुनिश्चितता भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

अझै आएन बजेट
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयले अझै उपलब्ध गराएको छैन । राखेप सदस्य सचिव विष्टले भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका निमित्त आवश्यक पर्ने रकमका लागि कुनै रोकावट नभएको बताएका छन् । तर, बजेटकै कारण भने आवश्यक पूर्वाधार निर्माण कार्य समयसीमामा सम्पन्न नहुने देखिएको छ ।
‘प्रतियोगिता सम्पन्न गर्न अर्थ मन्त्रालयसँग हामीले ४२ करोड माग गरेकाछौं, अर्थले सातौं प्रतियोगिताभन्दा बढि बजेट नबढ्ने गरि खर्च ब्यवस्थापन गर्न भनेपछि त्यही परिधीभित्र रहेर अघि बढेको हो,’ उनले भने ‘जम्मा बजेटबाट हालसम्म १७ करोड ८५ लाख मात्र निकासा भएको र बाँकी रकम २४ करोड १५ लाख लिन बाँकी छ ।’ सातौं राष्टिूय खेलकुद प्रतियोगितामा कुल बजेट ३५ करोड विनियोजन गरिएको थियो ।
बजेटको सीमा तोकिँदा खेलाडी, प्रशिक्षक, रेफ्री लगायतले पाउदै आएको पारिश्रमिक तथा भत्तामा पनि बृद्धि नहुने देखिएकोछ । यसअघि भएको प्रतियोगितामा खेलाडीलाई १४ सय प्रतिदिन भत्ता दिइएको थियो । यसपटकका लागि २५ सय माग गरिएको छ । तर, बजेटको समस्याले गर्दा त्यो पनि घट्नसक्ने सम्भावना देखिएको उनले बताए ।

परम्परागत उद्घाटनमै ध्यान
राष्ट्रिय स्तरको प्रतियोगिताको उद्घाटन तथा समापन लगायत प्रतियोगिता अवधिभर अन्यदेशले विशेष महत्वका साथ कार्य गरेका हुन्छन् । त्यहाँका सरकार लगायत खेलकुद समितिले धेरै कसरत गरेका हुन्छन् । हरेक वर्ष आयोजना हुने प्रतियोगितालाई सुनौलो यादगार बनाउनका लागि उनीहरुले विभिन्न खाले रचनात्मक तरिकाले प्रविधीयूक्त खेलकुदको उद्घाटन र समापन गर्ने गर्छन् । जसका कारण खेलप्रेमीहरुलाई समेत हौसला प्रदान गर्छ, यादगारमय हुन्छ । तर, नेपालको ईतिहासलाई हेर्नेहो भने त्यसो देखिदैन ।
समयसापेक्ष प्रविधि र इभेन्ट ब्यवस्थापनमा आएको विभिन्न खाले परिर्वतनले भने नेपाल र नेपाली खेलकुद क्षेत्रलाई खासै छुन सकेको छैन । यतिवेला हामी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने पूर्व सन्ध्यामा छौ । पूर्वसन्ध्यामा रहदाँ सम्म पनि राष्ट्रिय खेलकुद प्रतियोगितालाई पर्वका रुपमा नभई बाध्यात्मक ढंगबाट सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् र आयोजक मध्यपश्चिम खेलकुद विकास समिति लागि परेको देखिएको छ । राष्ट्रिय गौरवको प्रतियोगितालाई यादगार बनाउनका लागि त्यसखालको तयारी तथा योजना भने छैन ।
यसपटकको प्रतियोगिता पनि पहिले जसरी आयोजना हुने गरिन्थ्यो त्यही ढंगबाट उद्घाटन तथा समापन हुने देखिएको छ । यद्यपी उद्घाटनमा राष्ट्रपी विद्यादेवी भण्डारी र समापनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याइदैछ । यसो नहुनुमा पनि खेलकुद विकास समितिले सरकार र बजेटलाई नै दोषी ठह¥याएको छ । परिषद्का सदस्य सचिव विष्टले भने प्रतियोगिता ब्यवस्थापनका लागि एक करोड १० लाख मात्र छुट्याईएको छ । त्यही बजेटको सीमाभित्र रहेर सवै ब्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकोले खासै तामझाम गर्न नसकिएको उनले बताए ।

समय सार्दा खेलाडी चिन्तित
लामो समयको अन्तरालमा बाँकेको नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुदले यतिबेला बाँकेबासीलाई खुसी प्रदान गरेको छ । प्रतियोगितासँगै खेलाडी र खेलप्रेमी बेग्र प्रतिक्षामा छन् । उनीहरुको यो उत्साहमा अंकुश लगाउने काम भएको छ फेरी मिति सारेर पटक–पटक मिति सार्दा खेलक्षेत्रमा आफ्नो क्षमता प्रस्फुटन गरि खेलक्षेत्रमै आफ्नो करियर बनाउन तल्लिन खेलाडीहरुलाई निराश बनाएको छ । खेलक्षेत्रमै क्रियाशिल खेलाडी जो आफ्नो प्रतिभा प्रस्फुटन गरि नाम र दाम कमाउन चाहन्छन् ।
तर, पटक–पटक सारिने मितिले उनीहरुमा निराशा छाएकोछ । लामो समयदेखि प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु मैदानमा उत्रिने समयमा पुनः मिति सार्दा मेहनत सबै खेर जाने बताउँछन् । हचुवाका भरमा आफूले तय गरेको मितिमा कार्य सम्पादन गर्न नसक्नुले पनि खेलाडी र खेलक्षेत्रप्रति आयोजकले वेवास्ता गरेको खेलाडी बताउँछन् । खेलाडीलाई अवसर र प्लेटफर्म चाहिएको छ तर त्यसतर्फ न राज्य न यससंग सम्बन्धित निकायले नै चासो लिएको छ ।

अभ्यास गर्न खेल मैदान खोई ?
विभिन्न खेलहरुको संगम स्थल रंगशालामा यतिवेला पुनःनिर्माणको कार्य चलिरहेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि रङ्गशाला पुनःनिर्माण सगै यसको क्षमतामा विकास गरिदैछ । तर प्रतियोगिता हुन केही महिना बाँकी रहदाँ गरिएको पुनःनिर्माण कार्यले यहाँका खेलाडी तथा प्रशिक्षकहरु चिन्तित बन्न पुगेका छन् । प्रतियोगिताकै मुखमा रङ्गशालाको पुर्ननिर्माणले यहाँ दिनहुँ अभ्यास गर्न आउने खेलाडीहरुलाई खेलमैदानको अभावले सताएको छ । मैदानभरि माटो पटानको कार्य चलिरहेको छ ।
ट्रिपर, डोजर र लोलरले निर्माण कार्यलाई तिव्रता दिएको छ । तर, खेलाडीहरुलाई अभ्यासका लागि ठाँउ छैन । लामो समयदेखि निर्माण कार्य चलेका कारण जुडो, तेक्वान्दो, कुस्ती, दौड लगायतका खेलका खेलाडीलाई खेलमैदानको अभावले सताएको छ । खेलाडी तथा खेल प्रशिक्षकले यस विषयमा खेलकुद विकास समितिका कर्मचारी तथा पदाधिकारीहरुलाई बारम्बार जानकारी गराए पनि उनीहरुले वेवास्ता गरेको खेलाडी तथा प्रशिक्षकले बताए । उनीहरुले भने, ‘अभ्यासविनाको खेलमैदानमा उत्रिदा भनेअनुरुप नतिजा प्राप्त गर्न सकिदैन ।’

प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार १४:२४