सूचनाको शक्ति - The Power Of Information

        

‘निर्यातयोग्य बस्तु उत्पादनले मात्र व्यापार घाटा कम’

पोखरा । संयुक्त राष्ट्रसंघको जेनेभास्थित नेपाली दूतावासका स्थायी प्रतिनिधी मीना अर्यालले तुलनात्मक लाभका निर्यातयोग्य बस्तुको उत्पादनमा निजी क्षेत्र अगाडि बढ्नु पर्नेमा जोड दिएकी छन् । उनले नेपालको व्यापार घाटा बढ्दै गएको सन्दर्भमा अति कम विकसित राष्ट्रको रुपमा नेपालले पाउँदै आएको सहुलियत प्रयोगमा बढावा दिनु सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझावसमेत दिइन् ।
पोखरा उद्योग वाणिज्य संघमा भएको छलफल कार्यक्रममा बोल्दै अर्यालले तदर्थवादको संस्कारले गर्दा भएका निजीगत निर्णयहरु समेत कार्यान्वयन हुन नसक्दा नेपालको निर्यात व्यापार खस्केकोमा उनी सहमत पनि देखिएका छन् । उनले यहाँका हस्तकलालगायतका उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार पहुँचको लागि आफूले सहयोग गर्ने वचनवद्धता पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हस्तकलाका सामानमा समेत मूल्य अभिवृद्धि कर थोपरिँदा यहाँका उत्पादनले विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेको गुनासो गरे ।
उनले साना उद्यमीबाट उत्पादित सामानहरु निर्यातको लागि सरकारले नै पहल गर्नुपर्नेमा पनि जोड दिए । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अदुवा निकासीमा पनि समस्यम झेल्न बाध्य नेपाली किसानहरुको समस्या राज्यबाटै संवोधन हुनुपर्नेमा जोड दिए । उनले नेपाली सामानको उपभोग गर्ने बानीको विकास देशभित्र पनि आवश्यक रहेको औंल्याए । संघका महासचिव अर्जुन पोखरेलले हाम्रा उत्पादनहरुको गुणस्तर मापन र प्रमाणिकरणको लागि राज्यले धायन दिनुपर्ने बताए ।
रेम्बो हेण्डिक्राफ्टकी गोमा ढकालले आधुनिक मेसिनको अभावमा यहाँको हस्तकलाले विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेको गुनासो गरिन् । लागत कम गर्ने खालका प्रविधी राज्यबाट अनुदानमार्फत उपलब्ध हुनुपर्नेमा उनको जोड थियो । आमा मिलन केन्द्रकी ईन्दिरा बरालले सरकारी निकायहरुमा रहेको महिला उद्यमशीलताप्रतिको नकारात्मक सोचले उद्यमशीलता मौलाउन नसकेको गुनासो गरिन् । हस्तकला क्षेत्रमा काम गर्दै आएका पूर्णबहादुर तामाङले गुणस्तरीय कच्चा पदार्थको अभावमा हस्तकलाले सोचेजस्तो विश्व बजार नपाएको बताए ।

प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार १३:१८