सूचनाको शक्ति - The Power Of Information

        

२२ तले धरहरा पुनर्निर्माणको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल लगायत मन्त्रीहरू, नेताहरू उपस्थित भएका थिए । गजुरसहितको नयाँ धरहरा २२ तले हुनेछ । यसको उचाइ करिब ७७ मिटर हुनेछ । भुइँचालोले भत्काएको धरहरा ९ तले थियो । नयाँ धरहरा पुरानोभन्दा शहिदगेटतिर १० मिटर अगाडि बन्नेछ ।
नयाँ धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै भएपनि मोटाइ भने पहिलेको भन्दा बढी हुनेछ । ४२ रोपनी फैलने धरहरा नजिकै सङ्ग्रहालयसँगै मनोरम बगैंचासमेत निर्माण गरिनेछ । धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्नेछ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ । धरहरा बनाउन ३ अर्ब ४५ करोड रुपैयाँ खर्च हुनेछ ।धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेका थिए । २०७३ असार २९ को मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो । टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेको थियो । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी–रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ । त्यसकै छेउँमा पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार १३:०५