सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आइडल बनेपछि ३० मिनेटमात्रै आमासँग बसेका थिए रवि

रवि ओडलाई मातृ शोक

आमाको निधनपछि शोकमग्न रवि ।

आमाको निधनपछि शोकमग्न रवि ।


धनगढी । आठ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्म दिने आमा पनि गुमाएका छन् । नेपाल आइडल भएको खुसी राम्ररी बाँड्न नपाउँदै उनले कर्म दिने आमा गुमाएका हुन् ।
२०५४ सालमा कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडकोे कोखबाट जन्मिएका रविले ८ वर्षको उमेरमै आमालाई गुमाएका थिए । नेपाल आइडल बनेपछि रवि सोमबार मात्रै धनगढी पुगेका थिए । सोमबारदेखि सम्मान तथा बधाई थाप्न व्यस्त रहेका रवि मंगलवार बिहान आफ्नो घर पुगेका थिए ।घरपरिवार र आफन्तसँग करिव आधा घण्टामात्रै विताएका रवि त्यसपछि कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका र भिमदत्त नगरपापिलिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममै व्यस्त थिए । मंगलवार महेन्द्रनगरमै बसेका रविले बिहान पनि विभिन्न बधाई तथा सम्मान कार्यक्रममा सहभागि भएर घर पुग्ने र दिउँसो काठमाण्डौँ फर्कर्ने कार्यतालिका थियो ।
तर, जन्मदिने आमाको मृत्युपछि आमाको अभाव हुन नदिई पालनपोषण र हुर्काउने ४५ वर्षकी आमा विष्णादेवीलाई करेन्ट लागेको एकाबिहानै खबर थाहा पाए । करेन्ट लागेर घाइते आमालाई उपचारका लागि धनगढी ल्याइयो । कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे । उनले बाटैबाट अस्पतालका चिकित्सकलाई फोन गरेर आफू आइरहेको र जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आग्रह गरेका थिए । तर रविले चिकित्सकलाई फोन गर्दा उनकी आमा विष्णाले संसार छोकिसकेकी थिइन् । अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले जानकारी दिए ।
बिहान ७ बजे छिमेकीको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णादेवीलाई अत्तरीयामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । सेती अञ्चल अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
मृतक विष्णाको शवलाई अहिले घरमा लगिएको छ । बुधबार नै गोदावरी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रविका बुवा भने २५ वर्षदेखि भारतको गुजरातमा ‘वाचम्यान’को काम गर्दै आएका थिए । उनी पनि बुधबार श्रीमतीको मृत्यु भएको खबरपछि नेपाल फर्कने तयारीमा छन् ।

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १५:०७