सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशमा हेलिकप्टर अभाव खड्कियो

कालिकोटको पलाता बस्तीमा आगलागी

सुर्खेत । दुर्गम र विकट बस्ती रहेको कर्णाली प्रदेशमा हेलिकप्टरको अभाव खड्किएको छ । कर्णालीका दूरदराजमा तत्काल आइलाग्ने प्रकोप र दुर्घटना लगायत आपतकालीन अवस्थामा उद्धार र राहत वितरणका लागि हेलिकप्टर नभइ नहुने अवस्था आएको प्रदेशवासीले महसुस गरेका छन् । केही दिनअघि कालिकोट जिल्लाको पलातामा ८७ घर जल्ने गरी भएको आगलागीमा परेकालाई राहत दिन हेलिकप्टर नहुँदा ढिलाइ भएको छ ।
प्रदेश सरकारबाट राहत ढिलो आउँदा अग्निपीडितले थप पीडा भोगेका थिए । बस्तीमा आगलागी हुने, सुत्केरी महिलाको उद्धार गर्नुपर्ने, आकस्मिक अवस्थामा सबै स्थानमा सडक नपुगेकाले कर्णालीमा एक हेलिकप्टरको आवश्यकता रहेको सुर्खेतका स्थानीय तिलक अधिकारी बताउँछन् । ‘कर्णालीका गाउँबस्ती विकट क्षेत्रमा छ,’ उनले भने, ‘एक बस्तीबाट अर्को बस्तीमा जान ४–५ घण्टा लाग्छ । अझ भनौं भने सडक भएको स्थानसम्म पुग्न अझै कुनै स्थानमा २ दिनसम्म लाग्ने गरेको छ ।’
कर्णालीको राजधानी वीरेन्द्र्रनगरमा चौबिसै घण्टा हेलिकप्टर उपलब्ध भएमा प्रदेश सरकारले चाहेको समयमा उद्धार गर्न सक्ने उनले बताए । ‘नेताहरू शयर गर्नका लागि नभई जनताको उद्धारका लागि हेलिकप्टर आवश्यक छ,’ उनले भने, ‘देशमा गणतन्त्र आएको र नजिकै प्रदेश सरकार भएर पनि समयमै उद्धार र राहत पुर्याउन नसकिनु दुःखद भएको छ ।’ गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका सचिव हरि अधिकारीले प्रदेश सरकारले तत्काल हेलिकप्टरको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
‘कर्णालीको विकट बस्तीका जनताको जीउधन जोगाउनको लागि कम्तिमा १ हेलिकप्टरको आवश्यकता देखियो,’ उनले भने, ‘सरकारले भाडामा ल्याएर राख्नुभन्दा पनि बजेटको व्यवस्था गरेर भएपनि हेलिकप्टर किन्ने प्रक्रिया शुरू गर्नुपर्ने मेरो सुझाव छ ।’ सोमवार राति पलातामा लागेको आगोबाट पीडितलाई प्रदेश सरकारले चाहेर पनि समयमै राहत बाँड्न सकेन ।
त्यसको एक मात्र कारण थियो, पलातामा गाडी नजाने । हेलिकप्टरबाट नै राहत तथा उद्धार गर्नुपर्ने । तर प्रदेश सरकारसँग हेलिकप्टर नै छैन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत प्रदेश सरकारले संघीय सरकारको गृह मन्त्रालयमा बिहानै हेलिकप्टर पठाइदिन आग्रह गरेपनि केन्द्र सरकारले दिउँसो साढे २ बजे मात्रै हेलिकप्टर पठायो ।
‘समयमै हेलिकप्टर आइदिएको भए हेलिकप्टरबाट पानी बोकेर पनि केही घरमा आगो लाग्नबाट बचाउन सकिन्थ्यो कि ?’ आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, ‘हामीले चाहेर पनि समयमै गर्न सकेनौं । हेलिकप्टर भइदिएको भए सुरक्षाकर्मी परिचालन गरेर भएपनि आगो नियन्त्रणमा ल्याउन सकिने थियो ।’ मन्त्री ज्वालाले सरकारले पनि प्रदेशको आफ्नै हेलिकप्टर किन्ने कि भन्नेबारे सोचिरहेको बताए ।
‘हामीले सोमवारको घटनाबाट धेरै कुरा सिकेका छौं,’ उनले भने, ‘हामी अहिले हेलिकप्टरको कसरी व्यवस्था गर्ने भन्नेमा केन्द्रित भएका छौं ।’ सबैभन्दा पहिले कानूनी उपचार खोजिने मन्त्री ज्वालाले बताए । ‘हामी अहिले नै हेलिकोप्टर खरिद गर्न सक्दैनौैं । विभिन्न कानूनी बाधा छन्,’ उनले भने, ‘त्यसो भनिरहँदा पहिले हामी कानूनी आधार निर्माण गर्छौं र विभिन्न दातृ निकाय वा संघीय सरकारसँग हेलिकोप्टर खरिद गर्न माग गर्छौ । कतैबाट भएन भने प्रदेश सरकारकै लगानीमा भएपनि हेलिकोप्टर खरिद गरिछाड्छौं ।’
मन्त्री ज्वालाले कर्णालीवासीको लागि हेलिकोप्टर आधारभूत आवश्यकता बनेको बताए । ‘दुर्घटना भएको खण्डमा सडकबाट उद्धार गर्न सहज छैन । राहत बाँड्न सहज छैन,’ उनले भने, ‘हामी हेलिकप्टर खोज्दै रहन्छौं । उता बिरामीको ज्यान गइसकेको हुन्छ । यस्तो बिडम्बना हटाउन संघीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेका छौं ।’

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १४:३७