बाँके । बाँकेमा ५०५ हेक्टर जमिन अहिले पनि सिंचाई सुविधाबाट बञ्चित रहेको छ । खोकरी सिँचाइ योजना, किरण नाला लिफ्ट सिँचाइ, चिसापानी सिँचाइ, गुर्वा शान्ति लिफ्ट सिँचाइ योजना निर्माणाधिन अवस्थामा छन् । यी सिँचाइ आयोजना पूरा भए बाँकेको ५०५ हेक्टर खेतियोग्य जमिनमा सिँचाइ पुग्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख नेत्रप्रसाद बोहराले बताए ।
सिक्टा सिँचाइ आयोजना सुरु भएदेखि यहाँ किरण नाला लिफ्ट सिँचाइ योजना, धौलागिरी लिफ्ट सिँचाइ, जेठीनाला सिँचाइ योजना, रझेना सिँचाई र आँपखोली लिफ्ट सिँचाइ योजना संचालनमा छन् । सञ्चालनमा रहेका यी योजनाले एक हजार ३० हेक्टर जमिनमा सिँचाई पुगेको डिभिजन प्रमुख बोहराले जानकारी दिए । उनले बजेटको ब्यवस्था भए मझौला तथा लिफ्ट सिँचाइ योजनामार्फत धेरै खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने बताए ।
‘सिँचाइ सुविधाका लागि गर्न सकिने सम्भावना धेरै छ,’ उनले भने । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालू आर्थिक बर्षमा पाँच वटा मझौला तथा लिफ्ट सिँचाइ योजनाका लागि सर्वेक्षण, डिजाइन र स्टिमेट रिपोर्ट तयार गरिरहेको छ । योजनाका लागि तीन करोड रुपैयाँ विनियोजन भएको छ ।
डिभिजन प्रमुख बोहराका अनुसार, बानियाभार सिँचाइ, मानखोला लिफ्ट सिँचाइ, धुमैया सिँचाइ, बलछैया र करेली लिफ्ट सिँचाइ योजनाका लागि सर्वेक्षण, डिजाइन र स्टिमेट रिपोर्ट तयार पार्ने काम भइरहेको छ । सर्वेक्षणको काम सम्पन्न भइसकेको र डिजाइन तथा स्टिमेट रिपोर्ट बनाउने काम भइरहेको कार्यालयले जनाएको छ । योजनाको डिजाइन तथा स्टिमेट रिपोर्ट चैत मसान्तसम्म सम्पन्न गरिसक्ने कार्यालयको लक्ष्य छ ।
‘चालू आर्थिक बर्षमा ठेक्का बन्दोबस्त गरि निर्माण कार्य सुरुवात मात्र हुन्छ,’ बोहराले भने । क्रमागत चार वटा योजनाका लागि दुई करोड आवश्यक छ । तर, प्रदेश नं. ५ सरकारले रु.३० लाख ४३ हजारमात्र विनियोजन गरेको छ । मझौता तथा लिफ्ट सिँचाइ योजनाका लागि थोरै रकम विनियोजन भएपछि यहाँका किसान चिन्तित भएको टिटिहिरियाका चन्द्रबहादुर चौधरीले बताए ।
सत्यपाटी - ।