सूचनाको शक्ति - The Power Of Information

        

लक्ष्यभन्दा १० प्रतिशत कम राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय नेपालगन्ज

बाँके । नेपालगन्जस्थित आन्तरिक राजश्व कार्यालयले पाँच महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७५/०७६ को पाँच महिनामा अवधिभित्र रु.१ अर्व ३४ करोड १ लाख ५५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा रु.१ अर्व २१ करोड ६७ लाख ५७ हजार राजश्व संकलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
उनका अनुसार लक्ष्यभन्दा करिव १० प्रतिशत अर्थात रु.१२ करोड ३३ लाख ९८ हजार कम राजश्व संकलन भएको छ । ‘राजश्व कम संकलन हुनुमा विविध कारण हुन सक्छन्,’ उनले भने, ‘वार्षिकरुपमा लक्ष्य पुरा गर्ने हाम्रो प्रयास हुनेछ ।’ विभागले चालु आवका लागि कार्यालयलाई कुल रु.३ अर्व ५१ करोड राजश्व उठाउने लक्ष्य दिएको छ ।
कार्यालयले यसअघि साविक भेरी र कर्णाली अञ्चलका १० जिल्लाबाट राजश्व संकलन गर्दै आएको थियो । गतवर्ष कार्यालयले रु.४ अर्व राजश्व संकलन गरेको बताइएको छ । राज्य पुनःसंरचना पश्चात कर्णाली प्रदेशमा परेका ८ वटा जिल्लालाई सुर्खेतमा हालै स्थापना भएको कार्यालयले हेर्दैै आएको छ ।
नेपालगन्जको कार्यालयले चालु वर्षबाट बाँके र बर्दियाका मात्र करदाताबाट राजश्व संकलन गरिरहेको कर अधिकृत यज्ञ ढकालले प्रष्ट पारे । ‘कार्यालयले यसअघि भेरी र कर्णालीका १० वटा जिल्लालाई हेर्दै आएको थियो, अहिले बाँके र बर्दियालाई मात्र हेरिरहेको छ,’ उनले भने, ‘चालु वर्षको साउन महिनादेखि शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क पनि हटिसक्यो, घरबहाल कर स्थानीय तहमा गइसक्यो, यसले पनि लक्ष्य पुरा हुन नसकेको होला ।’
तत्कालिन समयमा साविक भेरी र कर्णालीका १० जिल्लामा ६५ हजार करदाता थिए । त्यसमध्येका ३४ हजार करदाता सुर्खेतस्थित कार्यालयमा सरेका छन् । नेपालगन्जस्थित कार्यालयमा बाँके र बर्दियाका पुराना ३१ हजार र नयाँ थपिएका समेत गरेर ३५ हजार ५ सय करदाता पुगेका छन् । कार्यालयले आय कर, मुल्य अभिवृद्धि कर र अन्त शुल्क वापतको राजश्व संकलन गर्दै आएको छ ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार १२:३७