बाँके । राप्तीसोनारी गाउँपालिकाले आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । केन्द्र स्थापना गर्नेमा राप्तीसोनारी गाउँपालिका देशकै पहिलो स्थानीय तह भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले राप्तीसोनारीमा स्थापना गरिएको उक्त केन्द्र देशकै पहिलो भएको बताए ।
‘हामीले पाएको जानकारी अनुसार अहिलेसम्म मुलुकका कुनै पनि स्थानीय तहमा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना भएको छैन,’ उनले भने, ‘केन्द्र सञ्चालनमा आएसँगै अब यहाँ विपद सम्बन्धी सूचना आदानप्रदानमा टेवा पुग्नेछ ।’ राप्तीसोनारीमा रहेको उक्त केन्द्रले जिल्लामा रहेको केन्द्रसँग विपद सम्बन्धी सूचना दिने र लिने, उद्दार तथा राहतको काममा समन्वय गर्ने प्रजिअ भुजेलको विश्वास छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले स्थानीयस्तरमै आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना भएकाले विपदको क्षति न्युनिकरण गर्न धेरै सहज हुने बताए । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले स्थानीय तहमा पनि केन्द्र सञ्चालनले विपद न्युनिकरणमा सहज हुने विश्वास व्यक्त गरे ।
राप्तीसोनारी गाउँपालिकाबाहेक मुलुकका अन्य कुनै पनि स्थानीय तहमा आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालनमा नआएको उनले बताए । वडा नं.६ का वडाध्यक्ष एवम् सञ्चालन स्थानीय विपद ब्यवस्थापन स्रोतव्यक्ति जनकराम थारुले भने, ‘राप्तीसोनारीमा विपदसम्बन्धी सूचना प्रवाहका लागि यो केन्द्रले महत्वपुर्ण काम गर्नेछ ।’
राप्तीसोनारी गाउँपालिकामा रहेका अधिकांस वडाहरु हरेक वर्षको बाढीबाट प्रभावित हुँदै आएका छन् । २०७४ साउन अन्तिम साता आएको बाढीका कारण राप्तीसोनारीमा एकै घरका ३ बालिकाको ज्यान गएको थियो भने हजारौं परिवार विस्थापित हुन पुगेका थिए । त्यसयता राप्तीसोनारी गाउँपालिकाले पनि विपद जोखिम न्यूनिकरणका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको छ ।
सत्यपाटी - ।