सूचनाको शक्ति - The Power Of Information

        

दुर्गा अधिकारीलाई मानव मिलन पुरस्कार

पोखरा । मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कार रेडियो सफलता १०३.४ मेगाहर्जका प्रवन्ध निर्देशक दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको संयोजक सरस्वती गुरुङ्गको संयोजकत्वमा बसेको बैठकले अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित सो पुरस्कारको राशी नगद १० हजार ५५५ रुपैयाँ रहेको छ । पत्रकारिता र संचारको माध्यमबाट समाजमा पछाडि पारिएका वर्गको सशक्तिकरणमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गर्न लागिएको हो । स्वास्थ्य, शिक्षा र मानव सेवामा सर्मपित भएर संस्थाले विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि सस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरिसकेको छ ।
यसअघि एचआईभी संक्रमित लक्ष्मी अधिकारी, फुटवल प्रशिक्षक सिता गुरुङ्ग, राजनीतिक क्षेत्रबाट महिलालाई सशत्तीकरणमा योगदान पुर्याएकी सृजना शर्मा, अपाङ्गगताको क्षेत्रमा रहेर सामाजिक रुपान्तरणका लागि लागेकी जमुना पौडेल, ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय नेपालकी निर्देशक ब्रम्हाकुमारी परिणता दिदी सम्मानित भइसकेका छन् । सम्मानित हुन लागेकी अधिकारी बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान)का केन्द्रिय महासचिव हुन् ।
पुरस्कार २०६८ मा स्थापना गरिएको हो । सामाजिक व्यक्तित्व सरस्वती गुरुङ्ग संयोजक रहेको प्रतिभा छनौट समितिको सदस्यमा सामाजिक व्यक्तित्व निर्मला कार्की भण्डारी, परिवार तर्फबाट स्वर्गीय इन्द्राकी छोरी सुस्मिता क्षेत्री, संस्थाका अध्यक्ष सविता बराल र सचिव मेनुका पोख्ररेल रहेका थिए । पुरस्कार वितरण भोली गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार ०८:०६