बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले प्रयोग गर्ने ‘क्यूआरटी’ लेखेको बुलेट मोटरसाइकल चोरीको नै भएको खुलेको छ । आपतकालिन समयका लागि भन्दै उक्त मोटरसाइकल प्रयोगमा ल्याएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले स्वीकार गरेका छन् ।
प्रहरीले प्रयोग गर्ने कालो रंगको उक्त मोटरसाइकल यातायात ब्यवस्था कार्यालयले दिने नम्बर प्लेट पनि छैन, किनकी यो चोरीको मोटरसाइकल हो । जसका कारण यो मोटर साइकलमा ‘क्यूआरटी’ लेखिएको छ । कानुनतः यातायात ब्यवस्था कार्यालयमा दर्ता नगरी कुनै पनि सवारी साधन चलाउन पाइँदैन ।
इलाका प्रहरी कार्यालय कोहलपुरले भने कानुनको अवज्ञा गर्दै चोरीको मोटरसाइकल चलाइरहेको छ । प्रहरीले उक्त मोटरसाइकल अहिले चोर समाउने अभियानमा प्रयोग गरिरहेको छ । कोहलपुरमा दिनहुँजसो चोरीका घटना बढ्दै जान थालेपछि प्रहरीले चोर समातेर ‘रातभर थुन्ने अभियान’ चलाएको छ ।
सो अभियानमा अहिले दुई वटा ‘क्यूआरटी’ मोटरसाइकल प्रयोग भइरहेका छन् । जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थको प्रयोगकर्ताको संख्या बढेसँगै चोरीका घटना बढ्दा स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका छन् । अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।
सत्यपाटी - ।