बाँके । भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघको एक टोली लखनउ गएको छ । महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यसहितको आठ सदस्यीय टोली लखनउ गएको हो ।
महासंघका केन्द्रीय सदस्य श्रेष्ठले नेपाल–भारत सीमामा देखिएका समस्याका बारेमा कुरा गर्न टोली लखनऊ हिडेको बताए । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेटेर नेपालगन्ज लगायत यस प्रदेशसँग जोडिएका नाकामा देखिएका समस्याका बारेमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए । नेपालगन्ज नाकाबाट ठूलो मात्रामा जडीबुटी भारततर्फ निकासी हुन्छ ।
उत्तर प्रदेश सरकारले ट्रान्जिट पासको व्यवस्था गरेपछि जडीबुटी व्यवसायीहरुले समस्या भएको बताउँदै आएका छन् । महासंघको टोलीले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग यस विषयमा पनि कुरा गर्ने श्रेष्ठले जानकारी दिए । नेपालगन्जमा बन्ने भनिएको सुख्खा बन्दरगाह अलपत्र जस्तै भएको छ । भारतले चासो नदेखाएकाले यसको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन ।
महासंघको टोलीले यस विषयलाई पनि उठाउने संघ नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्यले बताए । उत्तरप्रदेशसँग जोडिएको सबैभन्दा ठूलो नाका नेपालगन्ज भएकाले भन्सारमा देखिएका समस्याका बारेमा मुख्यमन्त्री आदित्यनाथसँग छलफल गर्ने महासंघकी अध्यक्ष राणाले बताएकी छन् । नेपालगन्ज विमानस्थललाई भारतसँग जोड्ने सवाल यहाँको पर्यटकीय विकाससँग जोडिएको छ । मानसरोबर कैलाश जाने ठूलो संख्याका भारतीय पर्यटकलाई नेपालगन्ज हुँदै त्यहाँ पु¥याउन नेपालगन्जदेखि दिल्ली उडान आवश्यक छ ।
सत्यपाटी - ।