सूचनाको शक्ति - The Power Of Information

        

पूर्व प्राथमिक तहका शिक्षकका लागि कार्यशाला

बाँके । पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि एकदिने पुनःताजकिय कार्यशाला सम्पन्न भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको आयोजना र अभ्यान नेपालको सहयोगमा सम्पन्न भएको सो कार्यशालामा क्रिसामा आवद्ध विद्यालयका पूर्व प्राथमिक तहका शिक्षिकाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलीले शैक्षिक विकासमा नीजि विद्यालयको महत्पूर्ण योगदान रहेको बताउँदै राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइन् । साथै उनले बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्नका लागि यस्ता तालिमहरु उपलब्धिमूलक हुने बताउँदै तालिममा सिकेको कुरा बालकेन्द्रीत विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्न सकिने बताइन् ।
त्यस्तै उनले सरकारले सरकारी स्कुलका शिक्षकलाई मात्र तालिम दिने गरेको भन्दै अब देखि सरकारी र नीजि स्कुलका शिक्षकहरुलाई संयुक्त रुपमा तालिम दिँदा शिक्षामा एकरुपता आउन सक्ने बताइन् । बालबालिकाको बहुआयामिक विकासका लागि पूर्व प्राथमिक तहका शिक्षकहरुलाई नयाँ र आधुनिक शिक्षण विधि थाहा हुन जरुरी रहेकोमा जोड दिँदै बालबालिकाले पूर्वप्राथमिक तहमा सिकेको ज्ञानले जीवनलाई सहि बाटो तिर लाग्न सक्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै क्रिसा बाँकेका अध्यक्ष दिनेश सिग्देलले पूर्वप्राथमिक तहका सिकेको कुरा जीवनमा त्यसको प्रभाव पर्ने भएकाले बालबालिकाहरुलाई असल नागरिक बनाउनका लागि क्रिसाले प्रत्येक वर्ष यस्ता तालिमहरु दिइरहेको बताए । साथै उनले कक्षा व्यवस्थापन कसरी गर्ने, शिक्षण विधि कुन अपनाउने, बालबालिकाहरुलाई कसरी शिक्षणतर्फ केन्द्रीतजस्ता कुराहरु तालिममा सिकाइने भन्दै तालिममा सिकेको कुराहरु व्यवहारमा लाग्नु गर्न तालिममा सहभागित शिक्षिकाहरुलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै क्रिसाका सचिव शिव डाँगीले राज्यले नीति विद्यालयका शिक्षकहरुलाई कुनै पनि सहयोग गरेको भन्दै स्थानीय सरकारले नीजि विद्यालयका शिक्षकहरुको पढाउने कलाको विकास गर्न नीति लिन सुझाव समेत दिएका छन् । तालिममा अभ्यास नेपालकी सुमि राई र भागवती सिंहले सहजीकरण गरेकी थिइन् भने तालिममा क्रिसामा आवद्ध पूर्वप्राथमिक तहकी शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १४:१२