सूचनाको शक्ति - The Power Of Information

        

सुर्ती सेवनले नेपालमा वर्षेनी २७ हजारको मृत्यु

काठमाडौ । नेपालमा बर्षमा करिब २७ हजार मानिसको सुर्ती सेवनका कारण मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएअनुसार नेपालमा १८ दशमलव ५ प्रतिशत मानिसले दैनिक सुर्तीजन्य पदार्थ सेवन गर्दछन् । जसमा ५५ लाख १ हजार ३५८ जनाले चुरोट सेवन गर्ने सो तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालय अन्तगर्तको टोबाको नियन्त्रण तथा स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख भक्तबहादुर केसीले सुर्तिजन्य पदार्थ सेवन गर्नेहरु करिब ९० प्रतिशत १८ वर्षभन्दा कम उमेरका रहेको बताए । ‘नेपालमा क्यान्सर, मुटु, उच्च रक्तचाप लगायतका विभिन्न दीर्घकालीन रोगको प्रमुख कारण नै सुर्तीजन्य पदार्थको सेवन हो,’ उनले भने ।
चुरोटमा हुने ६० देखि ७० प्रतिशत केमिकलमा क्यान्सर गराउने हानिकारक तत्व हुने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँँछन् । ‘एउटा चुरोटमा ४ हजार केमिकल हुन्छन् । जुनसुकै अंगमा हुने क्यान्सरको पहिलो कारण सुर्तिजन्य पदार्थ हो । यसको सेवन नियन्त्रण गर्न सकेमा ५० प्रतिशत क्यान्सर कम गर्न सकिन्छ,’ उनको भनाई थियो ।
त्यसैगरी, सुर्तिजन्य पदार्थको सेवनले क्यान्सर मात्र होइन मुटु र रक्तनलीलाई पनि असर गर्ने बरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओममुर्ति अनिलले बताए । ‘४० वर्षमुनिका युवाहरूमा हृदयाघात हुनुको पहिलो कारण सुर्तीजन्य पदार्थको सेवन रहेछ । सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई जुनसुकै समयमा हृदयाघात हुनसक्छ,’ उनले भने, ‘यस्ता रोगहरूलाई न्यूनीकरण गर्न जनचेतना आवश्यक छ ।’
त्यसैगरी, सरकारले मानव स्वास्थ्यमा असर पार्ने सुर्तीजन्य पदार्थ प्रयोगलाई रोक्न सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ संशोधन गरी २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका समेत बनाएको छ । उक्त निर्देशिकामा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने र उक्त कानुनको सबैले पालना गर्नुपर्ने लगायतका कुरा उल्लेख भएपनि सो निर्देशिका कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १३:२२