बाँके । नेपालगन्जका चोकचोकमा राखिएका एक दर्जन सिसी क्यामेरा बिग्रिएका छन् । ती बिग्रिएका सिसि क्यामेराको समयमा मर्मत हुन सकेको छैन । सिसी क्यामेरा व्यवस्थापन समितिका संयोजक नन्दलाल वैश्यले ठेकेदार कम्पनीले नै बिग्रिएको सिसी क्यामेरा मर्मत गर्ने सम्झौता रहेको र उसले गर्दै गरेको बताए ।
साउन २१ गते तामझामका सिसि क्यामेराको उद्घाटन गरिएको थियो । नेपालगन्जका १६ ठाउँमा ५६ वटा सिसी क्यामेरा राखिएको छ । तीमध्ये आइतबार साँझ पौने सात बजेसम्ममा दश वटा सिसी क्यामेरा बन्द अवस्थामा रहेका छन् । सिसी क्यामेराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेको सञ्चारफाँटले केही लामो समय त केही हालसालै बिग्रिएर दश वटा सिसी क्यामेराले काम गर्न छोडेको जानकारी दिएको छ ।
चार महिनासम्म गहन छलफल र सहयोग संकलन गरेपछि नेपालगन्जका चोकहरुमा सिसी क्यामेरा राखिएको थियो । चोकहरुमा सिसी क्यामेरा राख्न तत्कालिन एसपी टेकबहादुर तामाङले महत्वपूर्ण भूमिका खेलेका थिए । २५ सदस्यीय सिसी क्यामेरा व्यवस्थापन समितिले त्यसले सबै चाजोपाजो मिलाएको थियो । धम्बोझी लगायत मुख्य मुख्य चोककै सिसी क्यामेरा बिग्रिएपछि ‘बाँदरको हातमा नरिबल’ भएको छ ।
व्यवस्थापन समितिले पोलको काम हुँदा, हावाहुरी र ट्रकले तारमा असर गर्दा केही ठाउँको क्यामेरा बिग्रिएको जनाएको छ । संयोजक बैश्यले केही सिसी क्यामेरा बिग्रिने र तत्कालै बनाउने काम भइरहेको बताए । उनले ठेकेदार कम्पनीलाई एकजना प्राविधिक यही राखिदिन अनुरोध गरेको खुलाए । नेपालगन्जमा सिसि क्यामेरा जडानका लागि विभिन्न व्यक्ति, उद्योग, फर्महरुबाट ४५ लाख ७६ हजार रुपैया संकलन गरिएको छ । कतिपयले प्रतिबद्धता गरेर पनि दिएका छैनन् ।
संकलन भएकोमध्ये ५६ वटा सिसी क्यामेरा जडान गर्दा ३३ लाख ९७ हजार २६० रुपैया खर्च भएको थियो । ५६ वटा क्यामेराको १४ किलोमिटरमा नेटवर्क बनाइएको थियो । राँझाचोक, कारकादोचोक, पुष्पलालचोक, धम्बोझीचोक, वीपीचोक, गणेशमानचोक, त्रिभुवनचोक, बसपार्क, भेरी अञ्चल अस्पतालचोक, शहीद सेतुविकचोक लगायत ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ ।
यी बाहेकका अरु ठाउँहरुमा पनि सिसी क्यामेरा जडान गर्ने तयारीमा रहेको व्यवस्थापन समितिले बताएको छ । भएकै सिसी क्यामेराको राम्रो व्यवस्थापन गर्न नसकेको व्यवस्थापन समितिका संयोजक वैश्यले भने, ‘औद्योगिक क्षेत्रलगायत अरु ठाउँमा गरेर नेपालगन्जमा डेढ सय जति क्यामेरा जडान गर्ने तयारी भइरहेको छ ।’
सत्यपाटी - ।