सूचनाको शक्ति - The Power Of Information

        

चार महिनामा ६० लाखको कपास बिक्री

बाँके । कपास विकास समिति खजुुराले चार महिनामा २९ मेट्रिकटन कपास विक्री गरेको छ । चार बर्षदेखि गोदाममा थन्किएको २१३ मेट्रिक टनमध्ये २९ मेट्रिक टन कपास बिक्री भएको समितिले जनाएको छ । समिति निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार अहिले खजुरास्थित समितिको गोदाममा १८४ मेट्रिक टन मौज्दात रहेको छ ।
प्रतिमेट्रिक टन रु.२ लाख १८ हजारका दरले पछिल्लो चार महिनामा रु.६० लाख बराबरको २९ मेट्रिक टन कपास बिक्री भईसकेको निमित्त प्रमुख जोशीले बताए । अहिले चिसो बढेसँगै कपासको बिक्री पनि बढिरहेको उनले जानकारी दिए । यसबर्ष ८० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेकोमा अहिलेको उत्पादनलाई हेर्दा उक्त अवधीमा लक्ष्यभन्दा बढी नै कपास उत्पादन हुन सक्ने अनुमान गरिएको उनी बताउँछन् ।
उनका अनुसार पुसको पहिलो हप्तामा चार मेट्रिक टन कपास बिक्री भइसकेको छ । कपास उत्पादन भइरहे पनि यसको उचित मूल्य पाउन नसकेको किसानहरूले गुनासो गर्दै आएको उनी बताउँछन् । किसानको मागअनुसार मूल्यमा सामायोजन गर्नका लागि आबश्यक पहल भइरहेको बताउँदै प्रमुख जोशीले अब समितिले थोक र फुटकर गरी दुईवटा मूल्य निर्धारण गर्ने तयारी गरेको जानकारी दिए ।
उनका अनुसार भारतीय कपासले नेपाली बजार ओगटेका कारण पनि स्थानीय तहमा उत्पादन भएको कपास समयमै बिक्री हुन नसकेको हो । सरकारले कपास खेतीलाई प्रोत्साहन गर्न समितिमार्फत किसानलाई कपासको बिउ, बिषादी तथा रासायनिक मलमा ५० प्रतिशत अनुदान दिदैं आएको छ । जमुनाहनाका हुँदै नेपालगन्जमा बार्षिक रु.६ करोडको भारतीय कपास आयात हुने गरेको छ ।
खजुरास्थित कपास विकास समितिको सक्रियतामा केही साताअघि नेपालगन्जमा गरिएको बजार अनुगमनले यस्तो देखाएको निमित्त कार्यालय प्रमुख जोशीले जानकारी दिए । भारतबाट धेरै कपास आयात हुँदा नेपाली बजारको अभावले बिक्रीमा समस्या भइरहेको छ । ‘भारतीय कपास खरिद सस्तो भए पनि नेपाली कपासजतिको गुणस्तरीय हुँदैन,’ उनले भने ।
भारतबाट आयात हुने कपास नेपालका पहाडी तथा हिमाली जिल्लामा केही खपत हुने गरेको उक्त अनुगमनले देखाएको छ । नेपालगन्जको गोदाममा रहेको भारतीय कपास यस क्षेत्रका कर्णाली प्रदेशमा बढी जाने गरेको पाइएको समितिले जनाएको छ । उद्योग अभावले गर्दा यस क्षेत्रमा उत्पादीत कपासले उचित बजार पाउन नसकेको अवस्थामा भारतीय कपाससमेत बिक्री हुन सकेको छैन ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार ०६:५५