– नवीन शर्मा
रगतको आहालबाट बन्दुकको नाल हुँदै
देशद्रोहीको छातीमा रोपिएका अक्षरहरू
कोरा कागजमा उतारिएपछि
जन्म भएको हो, संविधानको
मानि लिउँ,
यसरी लेखियो कि संविधान
अब उप्रान्त,
फाट्ने छैनन्, कसैका काँधहरू
उध्रिने छैनन्, कसैका जामाहरू
भोकको विकल्प खोज्नुपर्ने हुनेछैन, तमाम पेटहरूले
आश्वासनका भन्डारणहरू यसरी खोलिए कि
जो खानी बन्नेछ, प्रेरणाको
श्रोत बन्नेछ, समाधानको
सहानुभूति बन्नेछ, विधुवाहरूको
मुस्कान बन्नेछ, पीडितहरूको
र बन्नेछ सहारा, अनाथहरूको
तर,
क्रुरताको जाल हानेर भरियाको पिठ्युँमा
भ्रमको र्कोरा हानेर श्रमिकको फिलाफिलामा
राहातका बुट बजारेर किसानका पेटपेटमा
संविधानका धारा, उप–धारा र अनुसूचीहरूमा
लगाएर ताला
एउटा क्रुर शासका उभिएको छ अझै पनि
यो नपुंसक सरकार
गर्भवती बनाएर संविधानको दस्तावेज
जन्माइरहन्छ घाँटी निमोठ्ने धारा, उपधाराहरू
सरकार !
हरेक दिन छोरीहरू बलात्कृत भैरहने
मेरो देशको संविधानमा
मजस्ता लाखौँ नानीहरूको
सुरक्षित ‘आज र भोलि’
कहाँनिर लेखिएको छ ?
।