वासुदेव पौडेल । पोखरा । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पुनःजागरणका लागि थालिएको प्रयासले त्यस क्षेत्रका स्थानीयवासीमा आशा जगाएको छ । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किमी पदमार्गको पुनःजागरणका लागि नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सहयोग एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा हालै चार दिने प्रवद्र्धनात्मक भ्रमण गरिएको थियो ।
बोर्डका प्रतिनिधि, पर्यटक गाइड एवं सञ्चारकर्मीसमेत सहभागी प्रवद्र्धनात्मक भ्रमणमा गरिएको अन्तक्र्रियामा स्थानीयवासीले धार्मिक, पुरातात्विक एवं ऐतिहासिकस्थलसमेतका कारण पदयात्रा पर्यटनसँगै यस क्षेत्रको समृद्धिका धेरै सम्भावना रहेको बताए । स्याङ्जा बिरुवा गाउँपालिका–७ का अध्यक्ष खड्गबहादुर गुरुङले सहस्राब्दी पदमार्गको पदयात्रासँग यहाँस्थित गहते मनकामनालगायतका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिकस्थल समेटिने बताए ।
‘पदयात्रासँगै यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्य, ऐतिहासिक पहिचान आदिलाई समेट्न सकेमात्रै पनि विश्व पर्यटन बजारमा यी स्थलको प्रचारप्रसार गर्न सकिन्छ,’ उनले भने । पदमार्ग क्षेत्रको चन्द्रकोट होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले चन्द्रकोटस्थित भुरे राजाको ऐतिहासिक दरबारलाई प्रचारप्रसार गर्न नसकिएको बताए । पुतलीबजार नगरपालिका–१२ स्थित चन्द्रकोट दरबार परिसरमा पुरातात्विक महत्वका भग्नावशेष अझै रहेको उनले जानकारी दिए ।
‘चन्द्रकोट दरबार बाइसे चौबीसे राजाको पालाका सतौका राजाको हिउँदे दरबारका रुपमा चिनिँदै आएको छ,’ उनले भने, ‘यहाँबाट देखिने मनोरम हिमाली दृश्य, वरपरका जङ्गलमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी एवं जनावर आदिसँग जो कोही पर्यटक रमाउन सक्छन् ।’ सहस्राब्दी पदमार्गको पुनःजागरण प्रयाससँगै दरबारको संरक्षण हुनु आवश्यक भएको बताउँदै उनले पदयात्री पर्यटकलाई लक्षित गरी चन्द्रकोटमा घरवास सञ्चालन गर्न लागिएको बताए ।
पुतलीबजार नपा–१२ पेल्काचौरका स्थानीयवासी त्यहाँस्थित मनकामना मन्दिरसमेतलाई समेटेर पर्यटकीय विकासको पहल थालेका छन् । प्राचीन मनकामना मन्दिर र त्यहाँबाट देखिने मनोरम दृश्य यहाँको महत्वपूर्ण आकर्षण हुने विश्वास लिइएको वडाध्यक्ष दुतप्रसाद गुरुङले बताए । पुतलीबजार–९ पोखरीछापका स्थानीय समाजसेवी एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रकाश गुरुङले पदमार्गको पुनःजागरणसँगै आउने पर्यटकलाई लक्षित गरी लोप हुँदै गएका घाँटु, कौरा नृत्यजस्ता संस्कृतिको पनि संरक्षण र प्रवद्र्धन गर्न थालिएको बताए ।
पदयात्रा मार्गकै देउपुजी ढुङ्गालाई समेट्दै यहाँको पर्यटकीय विकासको पहल गरिएको भतेरपाटा बानेथोक देउरालीकी आमा समूह अध्यक्ष शारदा अधिकारीले बताए । धार्मिक विश्वासका साथ पूजा गरिँदै आइएको देउपुजी ढुङ्गालाई प्रत्येक वर्ष साइबेरियाबाट आउने जाने क्रममा क¥याङकुरुङको समूहले तीन पटक घुमेर आउने जाने गरेको विश्वासका आधारमा यस स्थललाई धार्मिक महत्वका रुपमा लिने गरिएको छ । वालिङ नपा–३ स्थित सिङ्गारकोटका स्थानीयवासीले पदमार्गलाई ब्युताउने प्रयाससँगै यहाँस्थित प्राचीन कालिका मन्दिरलाई समेट्दै विकासको पहल थाल्ने बताएका छन् ।
उच्च स्थानको सिङ्गारकोटबाट अन्नपूर्ण, धौलागिरि, गौरीशङ्कर लगायतका हिम श्रृङ्खला एकसाथ अवलोकन गर्न सकिने कन्या बराह आमा समूहकी अध्यक्ष तुलसी गुरुङले बताए । यहाँको विकासको सम्भावनासँग मिलेनियम ट्रेक जोडिएको बताउने वालिङ–३ माझकोटका शिव जनजाग्रिती युवा क्लबका अध्यक्ष केश तमुले पुनः यस मार्गमा पर्यटन प्रवद्र्धन गर्ने प्रयासले उत्साहित बनाएको बताए । पदयात्रा मार्गको एक हजार ७०९ मिटर उचाइको बुढाकोट अर्को महत्वपूर्ण आकर्षण भएको माझकोट पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर गुरुङले बताए ।
‘धेरै सम्भावना रहेर पनि यी क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन,’ उनले भने, ‘पदयात्रा मार्गको चहलपहलसँगै आउने पर्यटकलाई स्थानीय उत्पादनको स्वाद, हिमाली, पहाडी दृश्यावलोकन गराउन सकिन्छ नै, चराचर वन्यजन्तुसमेतको अवलोकन गराएर पर्यापर्यटनकोे उत्तिकै सम्भावना छ ।’ नेपालका बाइसे चौबीसे राजाको पालामा कृति खाँडले राज्य गरेको ऐतिहासिक ढोरकोट दरबार पदयात्रा मार्गको अर्को महत्वपूर्ण गन्तव्य भएको ढोर दरबार संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँडले बताए ।
शुक्ला गण्डकी नगरपालिका–१० तनहुँस्थित ढोर दरबारको ऐतिहासिक महत्वलाई आत्मसात् गर्दै पुरातत्व विभागको सहयोगमा रु १२ लाख लागतमा दरबारका भग्नावेशषलाई संरक्षण गर्दै मर्मतको प्रयास थालिएको छ । यसवर्ष पनि दरबार संरक्षण गर्न पर्यटन मन्त्रालयबाट रु सात लाख र नगरपालिकाबाट रु चार लाख प्राप्त हुने उनले बताए । पदमार्गमा पर्यटकको चहलपहलका कार्यक्रम अघि बढाउने प्रयाससँगै यस क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरी विभिन्न १३ स्थानमा घरवास कार्यक्रम सञ्चालनमा आएको भैँसे गौँडा सामुदायिक घरवास व्यवस्थापन समितिका अध्यक्ष बालकुमार गुरुङले बताए ।
‘हामी आशावादी छौँ, नेपालकै पहिलो मध्यपहाडी क्षेत्रको पदमार्ग अरुभन्दा भिन्न प्रकृतिको छ,’ उनले भने । पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न चार ठाउँमा सुविधा सम्पन्न रिसोर्ट स्थापनाको पहल भइसकेको छ । विसं २०५६ देखि सञ्चालनमा आएको मिलेनियम ट्रेकको पहिलो नक्साङ्कन २०६४/०६५ मा भएको बताउँदै प्राविधिक समूहका सदस्य खड्ग गुरुङले केही छुटेका स्थान समेट्दै पुनः नक्साङ्कनको काम भइरहेको जानकारी दिए ।
उनका अनुसार समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्मको यो पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि उपयुक्त मानिन्छ । मिलेनियम ट्रेकका पर्यटकीय सम्भावनालाई उजागर गर्न पर्यटन बोर्डले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) जस्ता सरोकारवाला निकायसँग सहकार्य गर्दै यसको व्यावसायिक प्रवद्र्धनमा सहयोग गर्ने बोर्डका पोखरा कार्यालय प्रबन्धक सूर्य थपलियाले बताए । रासस
।