सूचनाको शक्ति - The Power Of Information

        

सुत्केरी हुन नसकेकी महिलाको उद्धार

हुम्ला । जिल्लाको दक्षिण गाउँपालिकामा गएको मङ्सिर २६ गतेबाट सुत्केरी व्यथा लागेकी एक महिलाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । सदरमुकाम सिमकोटदेखि तीन दिनको दूरीमा रहेको चंखेखी गाउँपालिका–४ पिप्लाङ गाउँ निवासी तारा शाहीको १० दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी २४ वर्षीया गर्भवतीलाई कर्णाली प्रदेशका सामाजिक मन्त्रीको दल रावलको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेत पुर्याइएको छ ।
दश दिनअघि नै सुत्केरी व्यथा लागेको र पिप्लाङ स्वास्थ्यचौकीमा भर्ना भएकी शाहीलाई प्रसूतिमा कठिनाइ हुनुको साथै लगातार रगत बगेपछि मन्त्री रावलको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । उनको ज्यान जोखिममा पर्दै जाने अवस्था आएपछि शाहीको उद्धारको लागि विभिन्न निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए ।
विकट गाउँबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा लैजानसमेत तीन दिन लाग्ने भएकाले पनि बिरामीलाई जिल्ला अस्पतालमा लैजान समस्या भएको सुत्केरी शाहीका आफन्त सविता पाल बताइन् । उनको अहिले सुर्खेतमा रहेको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार २०:०२