सूचनाको शक्ति - The Power Of Information

        

तेल बोक्ने ट्यांकरमा इलेक्ट्रोनिक्स सामाग्री तस्करी

बाँके । नेपाल आयल निगमको तेल (इन्धन) बोक्ने ट्यांकरमा तस्करी हुने गरेको फेला परेको छ । बिहीबार भारतबाट इन्धन बोकेर आउँदै गरेको एउटा ट्यांकरमा इलेक्ट्रोनिक्स सामाग्रीहरु फेला परेपछि तस्करी हुने गरेको तथ्य फेला परेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले बिहीबार छड्के चेकजाँच गर्दा महेन्द्र बहुमुखी क्याम्पस अगाडिबाट ट्याकंरमा ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको थियो ।भन्सार कार्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्लाका अनुसार ना ४ ख ८०९५ नं. को ट्याकंरबाट भन्सार छलेर भित्र्याइएको २ वटा कलर प्रिन्टर, एउटा ब्ल्याक एण्ड ह्वाईट प्रिन्टर, प्रिन्टर सीडी, ६ बोतल मसी, इप्सनको फोटो पेपर लगायतका सामान बरामद गरिएको छ । उनले बरामद सामानको बजार मूल्य करिब २ लाख रुपैयाँ बराबर भएको पनि बताए ।
प्रहरीले भन्सार छलेर सामान भित्र्याउने ट्यांकर चालक सल्यान शारदा नगरपालिका मार्केका २७ बर्षीय प्रविण सुनार र सहचालक नेपालगन्जका १९ बर्षीय करण शर्मालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जना, टयाकंर र बरामद सामाग्री भन्सार कार्यालयको जिम्मा लगाईएको प्रहरी नायब उपरीक्षक शुक्लाले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १४:५९