सूचनाको शक्ति - The Power Of Information

        

विदेशी विज्ञले भने, ‘माटोमै समस्या’

सिक्टा सिँचाइको स्थलगत अध्ययन

बाँके । सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटो विज्ञले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । नहरको निरिक्षण तथा अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै समस्या रहेको उनीहरूको निष्कर्ष छ ।
समस्या दोहोरिएपछि आयोजनाकै अनुरोधमा उनीहरू नेपाल आएका थिए । विज्ञहरूले मंसिर २५, २६ र २७ गते मुल नहर तथा भत्केको खण्डको सुक्ष्म निरिक्षण गरेको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले बताउनुभयो । ‘उहाँहरूले फिल्डमै केही ठाउँको माटो परीक्षण गर्नुभयो,’ नेपालले भन्नुभयो, ‘निरिक्षणको अन्तिम दिन छलफल भयो, माटोमा समस्या रहेको औंल्याइएको छ ।’
विज्ञहरूले परीक्षण गर्न माटो लैजान चाहेको तर सरकारी प्रक्रिया लामो हुने उनीहरूले नलगेको नेपालको भनाइ छ । उनका अनुसार थप अध्ययन गर्न उनीहरूले पुराना कागजात मागेको र सम्भव भएसम्मका दस्तावेज आयोजनाले पठाएको छ । साथै, परीक्षण गर्न सम्भव भएसम्म माटो पनि पठाइनेछ । आवश्यक अध्ययन गरेर विज्ञहरूले करिब एक महिनाभित्र प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
स्थलगत निरिक्षणपछिको छलफलमा विज्ञहरूले घुलनशील माटोमाथि ‘स्वीट सोइल (अम्लियपन बढी भएको माटो)’ भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सुझाव दिएका छन् । साथै, समस्याग्रस्त ठाउँमा तल–माथि र दायँबायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने पनि उनीहरूले सुझाएका छन् ।
नहर जोगाएर पानी सञ्चालन गर्न नियमित मर्मत आवश्यक रहेको विज्ञहरूको निष्कर्ष छ । यसलाई आयोजनाले तुरुन्त कार्यान्वयन गरे थप जोखिम र भत्किने समस्या न्यूनिकरण गर्न सकिने देखिएको छ । पश्चिम मुल नहरको ४५ किलोमिटरमध्ये २० देखि ३५ किलोमिटर खण्डमा बढी समस्या देखिएको छ ।
प्राकृतिक भौगर्भिक समस्याले नहर भत्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इन्जिनियरको दोष देखाएको छ । यही कारण सिक्टा निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितता गरेको भन्दै २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १५:२१