सूचनाको शक्ति - The Power Of Information

        

आउँदैछ क्रिकेटका पूर्वकप्तानको आत्मकथा

‘कप्तान १९९८’ को कभर सार्वजनिक

बाँके । नेपाली पहिलो पुस्ताका क्रिकेटर पूर्वकप्तान एलबी क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ को कभर सार्वजनिक गरिएको छ । क्रियटिभ बुक्सले पाँचौँ प्रकाशनका रुपमा पुसको तेस्रो साता कप्तान १९९८ बजारमा ल्याउने गरी बुधबार कभर सार्वजनिक गरेको हो ।
नेपालले सन् १९९६ देखि औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा क्षेत्री उपकप्तान थिए । त्यसपछि सन् १९९८ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा क्षेत्रीले कप्तानको जिम्मेवारी पाए । क्षेत्रीले भारतको पश्चिम बंगालस्थित कलकतामा क्रिकेट सिकेका हुन् । कलकतामा उनले प्रथम श्रेणीको क्रिकेट खेलेका थिए ।
नेपालको पहिलो पुस्ताका क्रिकेट खेलाडी क्षेत्री दुईपटक क्यानको सदस्य भए । तत्कालिन अवस्थामा क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ५ को अध्यक्ष हुँदा क्षेत्रीले महिला क्रिकेटको सुरुवात गरे । नेपालमै पहिलो पटक २०६१ मा क्षेत्रीकै अगुवाईमा बाँकेबाट महिला क्रिकेटको शुरुवात भएको थियो । कोहलपुर क्रिकेट मैदान निर्माणमा क्षेत्रीको महत्वपूर्ण भूमिका रहेको छ ।
क्षेत्री हाल क्यानको विवाद मिलाउन आईसीसीले गठन गरेको स्वतन्त्र समूहमा नेपाल सरकारको प्रतिनिधिको रुपमा रहेका छन् । पत्रकार कुमार श्रेष्ठको सहलेखन रहेको क्षेत्रीको आत्मकथामा कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानसँग जोडिएका रोचक कथा पनि छन् । नेपाली क्रिकेटभित्र देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आइसीसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि उनको पुस्तकमा पढ्न पाइन्छ ।
‘क्षेत्रीको संस्मरणात्मक पुस्तक प्रकाशन गर्न पाउँदा हामीलाई खुशी लागेको छ, आज कभर सार्वजनिक गरेका छौँ’, क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले भने ‘यस पुस्तकमा नेपाली क्रिकेटको इतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको छ ।’ क्रियटिभ बुक्सले यसअघि कीर्तिमानी भारोत्तोनल खेलाडी सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ बाट प्रकाशन यात्रा थालेको थियो ।
पछिल्लोे समयमा खेलकुद सम्बन्धी पुस्तकमा बढ्ता जोड दिइएको क्रियटिभ बुक्सका अध्यक्ष ठकुरीले जानकारी दिए । ‘नेपाली खेलकुद अभिलेखीकरणमा निकै कमजोर छ, यसलाई पूर्ति गर्ने अभियानमा लागेका छौँ,’ अध्यक्ष ठकुरीले भने, ‘खेल सम्बन्धी दर्जन पुस्तकको तयारी अघि बढिरहेको छ, यद्यपि नेपाली साहित्यका पुस्तकको पनि काम गरिरहेका छौँ ।’ नेपाली क्रिकेट यतिबेला चर्चाको शिखरमा छ । एकातर्फ नेपाली क्रिकेट प्रगतिपथमा उन्मुख छ ।
पुरुष क्रिकेट टिमले एक दिवसीय मान्यता प्राप्त गरेको छ । अर्कोतर्फ नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा छ । यस्तो बेला नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्यानका पूर्व सदस्य क्षेत्रीको आत्मकथा आउँदैछ । ‘यसले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेट पारखीलाई नजिकबाट सिक्न जान्न र बुझ्न सघाउने अपेक्षा लिएका छौँ,’ अध्यक्ष ठकुरीले भने, ‘यस पुस्तकमा एलबी क्षेत्रीले क्रिकेट करिअर सुरुवाति गर्दादेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको संघर्ष र सफलताको कथा छ ।’
कोहलपुर नगरपालिका–१०, शान्तिटोलका स्थायी निवासी क्षेत्री श्रीमती, एक छोरा र छोरीका साथ विभिन्न सामाजिक कार्यमा पनि संलग्न छन् । प्राध्यापन पेशामा रहेका क्षेत्रीको यो पुस्तक नेपाली खेलकुदका लागि कोसेढुङ्गा साबित हुने आशा गरिएको छ । यसको कभर डिजाइन दीपक गौतमले गरेका हुन् ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १५:१५