सूचनाको शक्ति - The Power Of Information

        

नेता रघुजी पन्तले भने, ‘मन्त्रिपरिषद् तत्काल पुनःगठन गरौं’

नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताले मन्त्रिपरिषद् तत्काल पुनःगठन गर्न माग गरेका छन् । बुधबार पनि जारी नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेकपाका नेता रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गरेका हुन् । उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को कामको समग्र मूल्यांकन गर्दै मन्त्री हेरफेर गर्नुपर्ने माग गरेका छन् ।
‘सरकारको कामको समीक्षा सरकारले स्वयम्ले गर्नुपर्यो । सरकारमा गतिशिलता देखा परेन । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर मन्त्री हेरफेर गर्नुपर्यो,’ उनले माग गरे । सरकारले जनमतको कदर गर्न नसकेको र जुन तरिकाले सेवा प्रवाह गर्नुपथ्र्यो गर्न नसकेको उनको निष्कर्ष छ । उनले पार्टीमा काम गर्न सबल, सक्षम नेताहरू रहेको बताउँदै असक्षम, विवादमा परेकालाई मन्त्रिमण्डलमा राखिरहनु नहुनेमा जोड दिए ।
त्यस्तै उनले मन्त्रिमण्डल पुनर्गठनको बेला भएको पनि औँल्याए । पन्तले विधान स्थायी कमिटीको सुझाव विपरित आएकाले सच्याउन आग्रह गरेका छन् । उनले स्थायी कमिटीको अधिकार कटौती गरी सचिवालयमा केन्द्रितकृत गरिएकाले ती अधिकार स्थायी कमिटीमै फिर्ता गर्नसमेत माग गरेका छन् । त्यस्तै उनले चीनसँग भएका सन्धी–सम्झौता तुरुन्त कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।
साथै सातै प्रदेशलाई छुने गरेर राजमार्ग बनाउने कुरामा जोड दिएका छन् । एसिया प्रशान्त सम्मेलनबारे नेतृत्व आत्मआलोचित हुनुपर्ने कुरा पनि पन्तले औंल्याए । ‘नेताहरूको त्यसमा जाने नियत देखिँदैन तर पनि जाँदा सरकार र पार्टीको छवि धमिलियो, त्यसमा नेतृत्व आत्मआलोचित हुनैपर्छ,’ उनको भनाइ थियो । उनले प्रदेशका इन्चार्ज तोकिएका दुई मुख्यमन्त्रीलाई इन्चार्जबाट हटाउन माग गरे र एक व्यक्ति एक पदको व्यवहारिक कार्यान्वयनमा जोड दिए ।
‘हाम्रो विधानले नै त्यो कुरा निर्दीष्ट गरेको छ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओली भने महाधिवेशनबाटै अध्यक्ष निर्वाचित भएर आएकाले उनको बारेमा प्रश्न उठाउन नमिल्ने जिकिर पन्तले गरे । अन्यको हकमा भने एक व्यक्ति एक पद नै लागु गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै उनले प्रदेश कमिटीमा केही सदस्य मापदण्ड विपरित, विधान विपरित हुने गरी चयन गरिएकाले सच्याउन पनि माग गरे ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार १२:२५