सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ‘म्युजिक फेस्टिवल’ हुँदै

बाँके । अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा नेपालगन्जमा ‘म्युजिक फेस्टिवल’ हुने भएको छ । नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टमा ३१ डिसेम्बर (पौष १६) गते ‘म्युजिक फेस्टिवल’ आयोजना गरिएको छ ।
आयोजक संस्था बलामी फिल्म इन्टरटेन्टमेन्टका समीर बलामीले नेपाली ढाका टोपी दिवस र अंग्रेजी नयाँ वर्षको अवसर पारेका कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा ६ जना राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सो म्युजिक फेस्टिवल गरिन लागेको उनले जानकारी दिए ।
उनले जनवरी १ लाई राष्ट्रिय ढाका टोपी दिवसको रुपमा मनाउने चलन रहेकोले सो कार्यक्रममा पनि सबै दर्शकलाई ढाका टोपी अनिवार्य गरिएको बताए । कार्यक्रममा पाँच हजार दर्शकको उपस्थिति गराउने लक्ष्य रहेको उनले दाबी गरे ।
उनले कार्यक्रममा सहभागी हुन कलाकारहरु राजेश पायल राई, कमल खत्री, सन्दिप क्षेत्री, सुरज थापा, सुजता पाण्डे र नरेश भट्टराई नेपालगन्ज आउन लागेको साथै स्थानीय कलाकारको समेत प्रस्तुति रहने र ३१ डिसेम्बरको दिउँसो २ बजेदेखि १ जनवरीको राती २ बजेसम्म कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
कार्यक्रममा प्रवेशका लागि विद्यार्थीलाई ५००, साधारणका लागि १ हजार र भिआइपीका लागि २ हजार टिकटदर तोकिएको छ । कार्यक्रममा स्थानीय शारदा इभेन्टस म्यानेजमेन्टको व्यवस्थापन र नमस्ते रेस्टुरेन्टका विभिन्न परिकार खान पाइनेसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ०९:५४