सूचनाको शक्ति - The Power Of Information

        

फुटपाथ अतिक्रमणले कुरुप बन्दै नेपालगन्ज

केही समयअघि नेपालगन्ज उपमहानगरपालिका अघि अतिक्रमित फुटपाथ हटाइँदै । फाइल तस्वीर

केही समयअघि नेपालगन्ज उपमहानगरपालिका अघि अतिक्रमित फुटपाथ हटाइँदै । फाइल तस्वीर


बाँके । सडक साँघुरो भएर आवतजावतमा समस्या आउन थालेपछि सडक डिभिजन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले धमाधम सडक बिस्तारको कामलाई अघि बढाउँदै लगेका छन् । सडक डिभिजन कार्यालयले चारलेन (सुर्खेतरोड) सडक तथा उपमहानगरपालिकाले एसियाली विकास बैंकसँगको सहकार्यमा नेपालगन्जका भित्री सडक बिस्तार गर्दै आएको छ ।
अर्बौ रूपैयाँको लागतमा बिस्तार गरिएका सडक अहिले पुरानै अवस्थामा दोहोरिन थालेका छन् । उपमहानगरपालिकाले एकातिरबाट सडक बिस्तार कार्य गरिरहँदा अर्कोतिर फुटपाथ अतिक्रमण बढिरहेको छ । चारलेन सडक र बजारका भित्री सडकको दुबै किनारमा ब्यापारीले फुटपाथ अतिक्रमण गर्दा आवतजावतमा समस्या हुने गरेको छ ।
चारलेन सडकको विपी गणेशमान चोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा ब्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गरेका हुन् । सडकको किनारमा रहेको फुटपात पैदल यात्रुका लागि आवतजावत गर्ने ठाउँ हो । तर, त्यो क्षेत्रलाई अहिले अधिकांस स्थानमा ब्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ ।
फुटपाथ अतिक्रमण भइरहदा नेपालगन्ज उपमहानगरपालिका र स्थानीय प्रशासन भने मौन देखिएका छन् । उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि फुटपाथ अतिक्रमण रोकिने आशा गरिए पनि उनीहरुले उल्टै ब्यापारीलाई संरक्षण गर्ने गरेको स्थानीयको आरोप छ । ‘पैदल यात्री हिड्नका लागि बनाइएको फुटपाथमा ब्यापारीको सामान हुन्छ,’ धम्बोझी चोकमा हिँडिरहेका पैदलयात्रु विनय बर्माले भने, ‘नगरलाई ब्यवस्थित गर्ने बाचा खाएका जनप्रतिनिधिलाई कुनै चासो र चिन्ता छैन ।’
गतवर्ष उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर फुटपाथ हटाउने प्रयास गरेको थियो । तर, फुटपाथ अतिक्रमण गरेर ब्यापार गर्दै आएका विपी चोक र पुष्पलाल चोक क्षेत्रका ब्यापारीले उपमहानगरपालिकाको उक्त कदमको बिरोध गरेका थिए । ब्यापारीको बिरोध पश्चात उपमहानगरपालिका हच्किएको थियो । उद्योग वाणिज्य संघले समेत अतिक्रमणकारीलाई साथ दिएको स्थानीयहरुको गुनासो छ ।
फुटपाथ खाली गर्न सर्वपक्षिय र सर्वदलिय बैठकले नै सहमति दिएको थियो । चारलेन सडकको दायाँबायाँ २५ मिटरभित्र अहिले पुनः अस्थायी संरचना राखिएको छ । सडक ऐनले तोकेको मापदण्ड अनुसार पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न सम्बद्ध सरोकारवाला निकाय मौन देखिँदा उपमहानगर क्षेत्र कुरुप देखिन थालेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले फुटपाथ अतिक्रमणप्रति उपमहानगरपालिकाको पनि चासो रहेको बताउँदै भनिन्, ‘हामीले एकातिर सडक फराकिलो बनाउँदैछौं, अर्कोतिर फुटपाथत अतिक्रमण भइरहेको छ, फुटपाथ हटाउने विषयमा छलफल चलाइरहेका छौं ।’
उपमहानगरपालिकासँग आवश्यक जनशक्ति नहुँदा फुटपाथ अतिक्रमण रोक्न नसकिएको उनको भनाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिरेन्द्र रोकायले फुटपाथ अतिक्रमण रोक्ने प्रमुख दायित्व उपमहानगरपालिका कार्यालयको भएको बताए । ‘उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियानको नेतृत्व गरेपछि हामी सहयोग गर्न तयार छौं,’ उनले भने ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १४:३८