सूचनाको शक्ति - The Power Of Information

        

पोखरा आसपासमा चरा पर्यटन

वासुदेव पौडेल । पोखरा । हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ‘ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,’ विगत २६ वर्षयता चरा गाइडका रूपमा काम गर्दै आएका हरि केसी भन्छन् ।
हरिया वनजङ्गलका साथै तालतलैयाका कारण पोखरा र आसपासमा विभिन्न प्रजातिका चरा पाइने उनले जानकारी दिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये लगभग तीन प्रतिशत चरा हेर्नकै लागि आउने गरेको बताउँदै केसीले तीमध्ये अधिकांश पर्यटक पोखरा आउने गरेको जानकारी दिए । विदेशी मुलुकमा चरा अवलोकनले व्यावसायिक पर्यटनको रुप लिइसकेको छ ।
नेपालमा भने यसको विकास क्रमिकरूपमा अघि बढ्दै छ । पछिल्ला वर्षमा चराको सङ्ख्या घट्दै गएको बताइएको छ । चरा गाइड केसीले भने, ‘पहिला पर्यटकलाई चरा देखाउँदै हिँड्दा दिनमा नै २३५ प्रजातिसम्म म आफैले देखाउने गरेको थिएँ, अहिले भने लगभग १२५ प्रजातिमात्रै देखाउन सकिन्छ ।’ बढ्दै गएको प्रदूषण, रुख कटानी एवं वातावरणमा आइरहेको परिवर्तनले विभिन्न प्रजाति हराउँदै गएको अनुमान छ ।
फेवातालको किनारमा खोलाले बगाएर ल्याएका प्लास्टिकजन्य फोहरको डङ्गुरले वरपर पाइने चराचुरुङ्गीलाई असर गर्ने गरेको छ । बढ्दो प्रदूषणसँगै जाडो छल्न फेवाताल किनारमा साइबेरीयादेखि आउने चराका प्रजातिको सङ्ख्या पनि वर्षेनी घट्दै गएको केसीले जानकारी दिए । पहिले फेवातालमा २९ प्रजातिका हाँस पाउने गरिएकोमा अहिले उक्त सङ्ख्या घट्दै गएको छ ।
पोखराको रानीवन, फिष्टेल बगैचा, फेवातालको सिमसार, सराङ्कोट, नौडाँडा, छिनेडाँडा, कमलपोखरी, लेखनाथका बेगनास, रुपा, खास्टे, मैदी, दीपाङलगायतका ताल तथा स्थानमा धेरै प्रजातिका चरा पाइन्छन् । पक्षी संरक्षण समाज कास्कीका सचिव हेमन्त ढकालका अनुसार पोखरा आसपासमा पानीमा रहने चराका ४६३ प्रजाति पाइन्छन् ।
जाडोको समयमा अन्य स्थानबाट १५० प्रजातिका चरा आउँछन् भने गर्मीमा २४ प्रजातिका चरा आउँछन् । फेवातालमा मात्रै ४५ प्रजातिका पानी चरा पाइने ढकालको भनाइ छ । चरा अवलोकनका लागि दुई साताअघि पोखरा आएका ८१ वर्षीय अमेरिकी प्रोफेसर डग चेसम्यानले चराका लागि स्वच्छ एवं शान्त वातावरण आवश्यक हुने बताए ।
फेवाताल किनारामा श्रीमतीसहित भेटिएका उनले चराको अवलोकनसाथै पोखराबाट देखिने हिम शृङ्खला, ताल र आसपासको प्राकृतिक सौन्दर्यताले निकै आनन्दित बनाएको सुनाए । प्रकृतिको अनुपम सुन्दरतालाई जोगाउन नसकेकोमा भने उनले चिन्ता व्यक्त गरे । पानी, वनजङ्गल आदिका कारण पोखरा आसपासको क्षेत्र चरा पर्यटनमा पनि उत्तिकै महत्वपूर्णस्थल रहेको पक्षी संरक्षण समाज कास्की सदस्य कृष्णमणि बरालले बताए ।
उनका अनुसार विभिन्न प्रजातिका चरा पाइने यस क्षेत्रमा चराको संरक्षण गर्नसके मात्र पनि यसको अवलोकनका लागि आउने पर्यटकको बसाइ थप लम्ब्याउन सकिन्छ । पोखरा नजिकै तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दुरीको मिलेनियम ट्रेकका अधिकांश भूभाग घना वनजङ्गलयुक्त रहेको र ती जङ्गलमा धेरै प्रजातिका चरा पाइन्छ । मिलेनियम ट्रेक पदयात्रासहित चरा पर्यटनको विकासमा पनि सम्भावनायुक्तस्थल रहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।
‘मिलेनियम ट्रेक अन्तरगत स्याङ्जाको सादी खोलाबाट गहते मनाकानासम्म झण्डै ५८ किमि दुरीमा घनाजङ्गल एक लहरमा जोडिएको छ,’ उनले भने, ‘पोखरा आउने पर्यटकलाई यस क्षेत्रमा पदयात्रा गराउँदै यहाँबाट देखिने हिम शृृङ्खलासहितका रमणीय दृश्य अनि चराचुरुङ्गी पनि अवलोकन गराउन सकिन्छ ।’
समुद्री सतहबाट एक हजारदेखि एक हजार ५०० मिटरको उचाइमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर पोखरा क्षेत्रमा देख्न सकिने विगत १५ वर्षयता चरा गाइडका रूपमा काम गर्दै आएकी सुनिता गुरुङ(सानु)ले बताइन् । उनका अनुसार काँडे भ्याकुरसहित अन्य विभिन्न प्रजातिका चरा अवलोकन गर्न पोखरा आसपासका वनजङ्गलका साथै नजिकैको मिलेनियम ट्रेक महत्वपूर्ण गन्तव्य बन्न सक्ने देखिएको छ । रासस

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १४:१२