सूचनाको शक्ति - The Power Of Information

        

साउदीमा मृत्यु भएका अरुणको शव नआउँदा पीडामा परिवार

बाँके । साउदी अरबको जेद्दा अल्मोराई नामक कम्पनीका काम गर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुुसुम, बाँके निवासी बेदनिधी चापागाई (अरुण) को हृदयघात भएर निधन भयो । गत मंसिर १५ गते निधन भएका अरुणको शव अहिलेसम्म पनि साउदी अरबमै अलपत्र छ ।
समयमा शब नआउँदा परिवारका सदस्यले धार्मिक संस्कार अनुसार गरिने काज किरिया गर्न पाएका छैनन् । परिवार र आफन्तहरु साउदीमा अलपत्र परेको अरुणको शव कुर्दै समय बिताइरहेका छन् । ‘जे कुरा नहुनु थियो त्यो भइहाल्यो, अब चाडो शव आइदिएको भए काजकिरिया गर्न हुन्थ्यो,’ मृतककी पत्नी निर्मलाले भनिन्, ‘राजदुताबासले शव ल्याउने प्रक्रिया त अघि बढाएको सुनिन्छ, तर कहाँसम्म पुगेको छ हामीलाई थाहा छैन ।’
अरुणको निधन भएको खबर सुनेका आफन्त, ईष्टमित्र तथा साथीभाई घरमा पुगी परिवारलाई सान्त्वना दिएर फर्किन्छन् । शव आउने टुंगो नहुँदा परिवार, आफन्त, इष्टमित्र लगायतलाई थप पीडा भइरहेको छ । अरुणको निधनको खबर थाहा पाएपछि वैदेशिक रोजगारीमै मलेसियामा रहेका उनका भाई बरुण पनि घर फर्किसकेका छन् । दाईको शब आउने ढिलाईले काज किरियामा समस्या भइरहेको उनले बताए ।
‘दाईको निधन भएको कुरा सुनेपछि एक महिनाको विदा लिएर घरमा आएको छु,’ बरुणले भने ‘सरकारले शव चाडो ल्याउने ब्यवस्था मिलाइदिएको भए काज किरिया गर्न हुन्थ्यो, अहिले त शव कुर्ने र रुनेबाहेक अरु केही विकल्प छैन ।’ साउदी अरबमा रहेको नेपाली दुतावासमार्फत शव ल्याउने पहल भइरहेको सुने पनि ढिलाई भइरहेको बरुणले बताए । परिवारका अनुसार अरुण विगत ५ वर्षदेखी वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा थिए ।
गत बैशाखमा आमाको निधन हुँदा काज किरिया सकेर अरुण जेठमा साउदी फर्केका थिए । कम्पनीमा सुपरभाईजरको काम गरिरहेका अरुण परिवारको नियमित सम्पर्कमा थिए । श्रीमानसँग अन्तिम कुराकानी मंसिर ८ गते भएको निर्मलाले बताइन् । ‘उहाँसँग अन्तिम कुराकानी मंसिर ८ गते शनिबार भएको थियो,’ उनले भनिन्, ‘म र छोरा छोरीसँग कुराकानी गर्नुभयो, कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब जनवरीमा विदा मिलाएर घर आउँछु भन्नु भएको थियो, तर उहाँको योजना अधुरै भयो ।’
अरुणले कुराकानीका क्रममा श्रीमती निर्मलालाई अब चार वर्षजति विदेशमा दुःख गर्ने र त्यसपछि आफ्नै गाउँमा बसेर राजनीतिमा लाग्ने बताएका थिए । निर्मलाले मंसिर १३ गते बेलुका पनि म्यासेन्जरमार्फत भिडियो कुराकानी गर्ने प्रयास गरिन्, तर कुराकानी हुन सकेन । परिवारका अनुसार अरुणलाई पहिलेदेखि उच्च रक्तचापको समस्या थियो । श्रीमानले घरतिरको चिन्ता कहिल्यै नगरेको निर्मला स्मरण गर्छिन् ।
‘उहाँ बैदेशिक रोजगारीमा रहँदा मैले घरको रेखदेख मात्र नभएर छोरा छोरीलाई हुर्काउने र पढाउने काम पनि गरे, उहाँले घरतिरको तनाव कहिल्यै लिनु भएन,’ पत्नी निर्मलाले भनिन् । श्रीमान र श्रीमतीबीचको सहकार्यले उनको परिवारमा खुसी छाएको थियो । तर, उनीहरुबीचको खुसी बीचमै चुडियो । शिक्षण पेशामा आवद्ध रहेकी निर्मलाले केही वर्षअघि श्रीमानकै अनुरोधमा जागिर छाडेकी थिइन् । निर्मलाले दाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा स्नात्तकोत्तर तह पढ्छिन् भने १२ बर्षिया छोरी सन्ध्या चापागाईले सनलाइट बोर्डिङ स्कुल लमहीमा कक्षा ६ र छोराले नर्सरीमा पढ्छन्् ।
श्रीमानको निधन हुँदा छोरा छोरीको लालन पालन र शिक्षा दिक्षा कसरी दिने भन्ने चिन्ता निर्मलालाई छ । ‘छोरा छोरीलाई लालन पालन र पढाउन अब गाह्रो हुने त होला,’ उनले भनिन् ‘अब रोएर कराएर कति दिनसम्म बस्नु र ?’ भाई बरुणले दाईको निधन भएपछि घरको सबै खर्च जुटाउने जिम्मा आफ्नो काँधमा आएको बताए । उनले भने, ‘घरको परिस्थितिले गर्दा पनि म विदेश जानैपर्ने भएको छ ।’

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार ०५:२७