सूचनाको शक्ति - The Power Of Information

        

चार महिनामा १८ अर्बको सामग्री नेपालगन्जमा भित्रियो, ६१ करोड मात्र निर्यात

बाँके । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जमुनाह नाका हुँदै १८ अर्ब बराबरको सामग्री नेपालगन्जमा भित्रिएको छ । यही अवधीमा ६१ करोडको मात्र निर्यात भएको छ ।
नेपालगन्ज भन्सार कार्यालय वरपर भारतबाट आउने गाडीहरुको लस्कर देखिदा नेपालबाट सामान लिएर भारततर्फ जाने खोज्नुपर्ने अवस्था रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
भारतबाट नेपालमा सामान आयात गर्न नौ हजार भन्दा बढिले प्रज्ञापन पत्र लिएका छन् । तर, नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल पाँच सयजतिले मात्र प्रज्ञापन पत्र लिएका छन् । प्रज्ञापन पत्र लिएको आधारमा सामान आयात र निर्यातको अवस्था बुझ्न सकिने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले बताए ।
उनले नेपालगन्ज नाका भएर एकदमै कम सामान भारत निर्यात हुने गरेको बताए । नेपालबाट जडीबुटी, खनिज र स्थानीयस्तरमा पाइने कच्चा पदार्थ भारत निर्यात हुने गरेको निरौलाले बताए । नेपालगन्ज नाकाबाट सस्तो मूल्यका सामान मात्र भारतमा भित्रिने गरेका छन् । जडीबुटी, खोटो, वनस्पति उत्पादन, नौनी, बटर, घ्यू, राँगाको मासु, तर्पिन तेल, पिना, अदुवा, सुठोलगायत मसालाजन्य वस्तु भारत जाने गरेको छ ।
यसैमा पनि भारततर्फ निकै झण्झट दिने काम हुने गरेको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहमद याकुव अन्सारीले जानकारी दिए । आर्थिक वर्ष २०७४/०७५ मा नेपालगन्ज नाका हुँदै नेपालमा ४४ अर्ब बराबरको बिभिन्न सामग्री आयात भएको थियो । सोही वर्ष यही नाका हुँदै भारततर्फ भने पुग्न नपुग साढे दुई अर्बको सामग्री निर्यात गरिएको थियो ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १९:१०