बाँके । सुनचाँदी धितो राख्ने बिषयमा राष्ट्र बैंकको नीति स्पष्ट रहेको छ । उक्त नीति अनुरूप बैंक तथा बित्तिय क्षेत्र बाहेकलाई कर्जा लिन दिन अनुमति नदिएकाले सुन धितोका बिषयमा समस्या उत्पन्न भइरहेको देखिएको छ । नेपालगन्जमा यसरी सुनचाँदी धितोमा राखेर गरिने कारोबार बढ्दै जान थालेको छ ।
तर, यसरी राखिने धितोको नियमन हुन सकेको छैन् । नियमन बिनाको सुन कर्जाले ठुलै समस्या निम्त्याउने खतरा देखिएको नेपाल राष्ट्र बैंक, नेपालगन्जका निर्देशक बिमलराज खनाल बताउँछन् । चर्को मिटर ब्याजदर र न्यून मुल्यांकन गर्न पाएपछि सुन पसललाई ऋण दिन समस्या नै नहुने उनी बताउँछन् ।
झटपट् ऋण पाउने भएपछि आफ्नो धितोको सही मुल्यांकन भए नभएको र मिटर ब्याजको प्रवाह नै नागरिकलाई नहुने गरेको उनको बुझाई छ । यसरी नेपालगन्जमा मासिक करोडौंको कारोवार हुने गरेको छ । तर, यसरी हुने कारोबारको अहिलेसम्म अनुगमन समेत हुन सकेको छैन् ।
सुन लगायतका बिषयमा जिल्ला प्रशासन कार्यालय लगायतका नियमनकारी निकायले बेलाबखतमा अनुगमन गर्नुपर्ने प्रावधान रहेपनि बाँकेमा अनुगमन हुन सकेको देखिदैन । यस बिषयमा जिल्ला प्रशासन समेत अनबिज्ञता जनाउँदै आएको छ । सुन पसलमा हुने धितोको बिषयमा प्रशासन अनबिज्ञ रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताउँछन् ।
तर, जसले जस्तोसुकै काम गरे पनि कानुनी प्रक्रियाभित्र रहेर मात्रै गर्नुपर्ने उनी बताउँछन् । कानुनी प्रक्रियाभन्दा बाहिर धितो राख्ने र कर्जा लिने कार्य जोखिमयुक्त भएको उनी पनि बताउँछन् । जिल्ला प्रशासन कार्यालयले सुनचाँदीको गुणस्तरका बिषयमा अनुगमन गर्ने प्रावधान छ । यता कानुनभन्दा बाहिर रहेर कुनै व्यवसायीले व्यवसाय नगरेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्धिन जसगढले बताउँदै आएका छन् ।
पाना नम्बर लिएपछि व्यवसायीले देशभर काम गर्न सक्ने भन्दै जसगढले यहाँका सबै व्यवसायीले पाना नम्बर लिएर काम गरिरहेको बताए । अध्यक्ष जसगढले व्यवसायीले अनुमति लिएरै धितो राखेको हुनसक्ने बताएका छन् । यसरी धितो राख्नका लागि नेपालगन्जमा कसकस्ले अनुमति लिएको छन् भन्ने एकिन विवरण भने संघसँग छैन ।
सत्यपाटी - ।