सूचनाको शक्ति - The Power Of Information

        

तस्कर र भरियाबीच विवाद भएपछि खुल्यो सर्प तस्करीको धन्दा

भारतबाट नेपालमा सर्प तस्करी !

बाँके । नेपालमा सर्प तस्करी हुने गरेको खुलासा भएको छ । भारतबाट सर्प तस्करी गरेर नेपालमा करोड रुपैयाँ सम्ममा बिक्री हुने गरेको खुलासा भएको हो । सर्प तस्कर र भरियाका बीचमा विवाद भएपछि पहिलो पटक यस्तो धन्दा बाहिर आएको छ । नेपालगन्ज–४, न्यूरोडका लोकबहादुर सुनार भारतबाट ल्याएको दुईमुखे सर्पसहित पक्राउ परेका हुन् ।
भारतबाट नेपालगन्जसम्म सर्प ल्याउन भरिया बनेका नेपालगन्ज–१६ का मुराद अलि साईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सुनारले दुईमुखे सर्पलाई भारतमा एक लाख ६० हजारमा किनेको बताएका छन् । उनले सर्प नेपालगन्ज ल्याउन भरिया बनेका साईलाई ३२ लाख रुपैया दिने बताएका थिए । त्यो रकम सर्प बिक्री भइसकेपछि दिने भनिएको थियो ।
१२ दिनअघि सर्प नेपालगन्ज ल्याइयो र, सुनारको घरमा राखियो । सर्प कतिबेला मर्यो, थाहा भएन । सर्प मरेपछि किन्न ठिक्क परेका काठमाडौँका तस्करले किनेनन् । साढे चार किलोको दुईमुखे सर्प, जिउँदो भएमा एक करोडसम्ममा बिक्री हुने तस्करहरुले बताए । सुनारले ल्याएको सर्प चाढे चार किलोको थिएन । चाढे चार किलोको बनाउन उनीहरुले सर्पलाई सलाइन पानी चढाएका थिए । दुर्भाग्य सर्प नै मरेपछि किन्ने ग्राहक बिच्किए ।
काठमाडौँको ग्राहक बिच्किएपछि अर्को ग्राहकको खोजी हुँदै थियो । भरिया साईले पैसा पाउन सकिरहेका थिएनन् । सर्प मालिक र भरियाका बीचमा विवाद भएपछि कुरा आएको छ । वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज नारायण डाँगीले भरियाले पैसा नपाएपछि विवाद भएर कुरा बाहिर आएको बताए । प्रहरीले सुनारको घरको धारा नजिक जमिनमुनी लुकाएर राखेको सर्पसमेत बरामद गरेको छ । प्रहरीले सर्प वन कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार १८:११