सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक प्रहरीले थाल्यो कारबाही, हर्न बजाउने चालकलाई ठाउँको ठाउँको जरिवाना

नेपालगन्जमा हर्न निषेध

बाँके । सवारी साधनमा हर्न बजाउने बानी छ ? यदि यस्तो बानी छ भने हटाई हाल्नुस् । ट्राफिक प्रहरीले नेपालगन्जमा हर्न बजाउने चालकहरुलाई कारबाही थालेको छ । हर्न निषेधित क्षेत्र घोषणा भएको मंसिर महिनाभर सचेतनामूलक कार्यक्रम गरेको ट्राफिक प्रहरीले पुस १ गतेदेखि हर्न बजाउनेहरुलाई कारबाही थालेको हो ।
ट्राफिक प्रहरीले एक महिना जनचेतनाका लागि भन्दै छुट दिएको थियो । आइतबारदेखि प्रहरीले ठाउँको ठाउँको जरिवाना तिराउन सुरु गरेसँगै पहिलो दिन हर्न बजाउने १२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । उनीहरुबाट रु.६ हजार ५०० संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भीम वलीले बताए ।
उनका अनुसार पाँच वटा मोटरसाइकल, तीन वटा कार, जीप, दुई–दुई वटा बस र ट्रक कारबाहीमा परेका छन् । हर्न निषेधित क्षेत्रमा हर्न बजाउनलेलाई रु.५०० देखि रु.१ हजार ५०० सम्म जरिबाना गर्न सकिने प्रावधान छ । पहिलो पटक अधिकांश सवारी चालकहरुलाई रु.५०० जरिवाना गरिएको छ ।
‘पहिलो पटकलाई भनेर हामीले रु.५०० तिराएका छौं, दोस्रो पटकमा रु.१ हजार र तेस्रो पटकमा रु.१ हजार ५०० जरिवाना गर्छौं,’ प्रहरी नायव निरीक्षक भीम वलीले भने । ट्राफिक प्रहरीले ‘नो हर्न’को घोषणा गरेसँगै बजारमा हर्न बजाउन कम भएको छ । अहिले बजारमा आउने भारतीय नम्बर प्लेटका मोटरसाइकलले बढी हर्न बजाइरहेका छन् ।
सीमावर्ती बजार भएकाले नेपालगन्जमा दैनिक ठूलो संख्यामा भारतीय नम्बर प्लेटका मोटरसाइकल भित्रिन्छ । उनीहरुलाई यहाँ हर्न बजाउन पाइदैन भन्ने थाहा नभएकाले पनि हर्न बजाइरहेका छन् । यद्यपि, शहरका ठाउँटाउँमा नो हर्नका बोर्डहरु लगाइएको छ । ट्राफिक प्रहरीको बजारमा त्यति उपस्थिति छैन ।
चोकचोकमा बसेका ट्राफिक प्रहरीलाई देखेपछि मात्रै हर्न बजाउन रोक्ने गरिएको छ । जताततै प्रहरीको उपस्थिति जनाउने तथा दैनिक नै कारबाही प्रक्रिया अघि बढाउने हो भने नेपालगन्ज हर्न निषेध हुनेमा दुई मत नरहेको सरोकारवालाहरुको धारणा छ ।

प्रकाशित मिति : २ पुष २०७५, सोमबार ०७:४०