सूचनाको शक्ति - The Power Of Information

        

संसारकै सबैभन्दा लामो अनसन तोड्दै ‘शर्मिला’ले भनिन्, ‘अन्यायविरुद्ध लड्नु मेरो कर्तव्य’

माइकल साफी । विश्वभरका पत्रकार आँखामा आशा भरेर हेरिरहेका थिए । इरोम शर्मिलाले आफ्नो हत्केलाको मह नियालिन् । वेदनामा उनले अनुहार बिगारिन् अनि रोइन् । एक नजर आकाशतर्फ हेरिन् र औंलाले अलकति मह मुखमा पुर्याइन् । यसरी संसारको सबैभन्दा लामो अनसन तोडियो । भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फालमा अगस्ट २०१६ को एक धुम्मिएको बिहान शर्मिलाले अनसन अन्त्य गरेकी थिइन् ।
१६ वर्षमा पहिलो पटक उनको हातमुख जोरिएको थियो । एक सहिदको जीवन फर्केको थियो । कालो, छरपस्ट कपाल भएकी शर्मिलाले ४ नोभेम्बर २००० मा अन्तिम पटक आफूखुसी खाना खाएकी थिइन् । त्यो दिन दिउँसो पोखरी नजिकै बरको रुख र बाँसको झ्याङबीचको घाँसे मैदानमा बसेर दुई प्याकेट पेस्ट्री खाएकी थिइन् । ‘त्यस दिन म अघाएकी थिएँ,’ उनी भन्छिन् ।
त्यसबेला उनी वरिपरिको वातावरण उम्लिरहेको थियो । म्यानमारसँग सीमा जोडिएको मणिपुरमा हिंसा व्याप्त थियो । जातीय र भारतविरोधी गतिविधि भइरहेका थिए । यो राज्यमा सेनालाई विशेषाधिकार दिने उपनिवेशकालीन कानुन (एएफएसपीए) प्रचलित छ । सेनाले मान्छे मारेपनि कानुन लाग्दैन । सजाय पाउँदैनन् ।

– – –

‘यो कानुनले भारतीय नागरिकहरूको नयाँ श्रेणी पैदा गर्यो । ती भनेका मार्न पाइने मान्छे हुन्, बलात्कार गर्न पाइने महिला हुन्,’ मानव अधिकारकर्मी तथा वकिल बब्लु लोइतङबाम भन्छन् । गएका ३३ वर्षमा कम्तीमा १ हजार ५२८ जनाको गैरन्यायिक हत्या भएको ठोस प्रमाण हामीसँग छ । त्यो त देखिने संख्या मात्रै हो ।’ यो कानुन अन्त्यका लागि शर्मिला ५ हजार ५७४ दिन अनसन बसिन् ।
उनलाई सरकारी अस्पतालमा कैद गरी नाकबाट पाइप घुसारेर जबर्जस्ती खाना खुवाइयो । अनसनका क्रममा एएफएसपीएविरोधी संघर्षको प्रतीक बनिन् उनी । उनलाई अनेक अन्तर्राष्ट्रिय पुरस्कार दिइयो । एमनेस्टी इन्टरनेसनलले उनलाई ‘प्रिजनर अफ कन्साइन्स’ (राज्यले नसहने विचार वा धर्म मान्ने कैदी) घोषित गर्यो । घरघरमा उनको पोस्टर टाँसियो । ‘हामीले ठान्यौँ, सोचेजस्तो भए मणिपुरबाट नोबेल पुरस्कार पाउने उनी पहिलो व्यक्ति हुनेछिन्,’ बब्लु भन्छन् ।

उनी अन्यायविरुद्ध लड्नुलाई आफ्नो कर्तव्य ठान्थिन् । प्रतिरोधको कुनै न कुनै तरिका फेला पारिहाल्थिन् ।

तर अहिले ४६ पुगेकी शर्मिला आफ्नै गृहराज्यमा बहिष्कृत बनेकी छन् । आफूलाई देवीसरी पूज्नेहरुले नै अहिले ‘वेश्या’ भन्ने गरेको उनी बताउँछिन् । आफूलाई ‘तालिबानजस्तो व्यवहार गरेको’ उनको आरोप छ । ‘उनले आफैंलाई ठुलो मजाक बनाइन्,’ बब्लु भन्छन्, ‘त्यसले उनको व्यक्तित्वमात्र ध्वस्त पारेन, हाम्रो आन्दोलन पनि स्वाहा बनायो । यसबाट तंग्रिन हामीलाई लामो समय लाग्यो ।’
इम्फालमा त्यो दिन हत्केलाको मह चाटेर उनले सन्त जीवन त्याग्ने निर्णय गरिन् । आफ्ना पूजा–आराधनाबाट उनी वाक्क भइसकेकी थिइन् । उनलाई अनसनमा विश्वास लाग्न छोडिसकेको थियो । त्यसबाहेक, थुप्रै समर्थकको नजरमा सबैभन्दा खराब कुरा उनी प्रेममा परेकी थिइन् । २ नोभेम्बर २००० का दिन पश्चिमी इम्फालको मलोममा सैनिक टुकडीलाई लक्ष्य गरेर एउटा घरेलु बम विस्फोट भयो ।
सेनाले दाबी गरेअनुसार बम पड्केपछि गोली हानाहान भयो । एक जना पनि सैनिक घाइते भएनन् । तर गोलीबारी रोकिँदा १० जना मणिपुरी सर्वसाधारण मारिइसकेका थिए । पछि एक न्यायाधीशले सेनामाथि गोली हानिएको कुनै प्रमाण नभएको फैसला गरे । त्यसबेला शर्मिला २८ वर्षकी थिइन् । उनी बब्लु लोइतङबामको मानव अधिकारवादी समूहमा काम गर्थिन् ।
भारतीय सैनिकले गरेका ज्यादतीका घटनाको दस्तावेजीकरण गर्न सघाउँथिन् । सामूहिक बलात्कारबाट बचेकाहरू र मारिएका सन्तानका अभिभावकको अन्तर्वार्ता लिन्थिन् । उनको परिवार अत्यन्त गरिब थियो । त्यसैले हाइस्कूलको पढाइ सक्न पनि उनलाई मुस्किल र्पयो । तर उनी अन्यायविरुद्ध लड्नुलाई आफ्नो कर्तव्य ठान्थिन् । प्रतिरोधको कुनै न कुनै तरिका फेला पारिहाल्थिन् । यस्तो भावनालाई उनी ‘ईश्वरको उपहार’ भन्छिन् ।
मलोम नरसंहारमा मारिएकाहरूको रक्तमुच्छेल तस्बिर भोलिपल्ट पत्रिकाका अग्रपृष्ठमा छापिएपछि उनले यसबारे थाहा पाइन् । ‘ती तस्बिर देखिसकेपछि मैले फेरि अर्को नारा लगाउनुको, जुलुसको गर्नुको अर्थ देखिनँ,’ शर्मिला भन्छिन्, ‘मैले त्यसरी निर्णय गरें । गान्धीको स्वतन्त्रता संग्राममा झैँ मानिसहरु मेरो पछि लाग्छन् भन्ने सोचेँ । म मर्दिनँजस्तो लाग्यो ।’

– – –

नोभेम्बर ५ मा शर्मिला नरसंहार भएको स्थान नजिकै अनसनमा बसिन् । एएफएसपीए खारेज नभइञ्जेल अनसन बस्ने घोषणा उनले बोकेको पोस्टरमा गरिएको थियो । तत्काल उनको वरिपरि एउटा सानो भीड जम्मा भयो । ‘घाम अस्ताउनु अघिसम्म मान्छेहरू मसँगै बसिरहेका थिए,’ उनी सम्झिन्छिन्, ‘तर एकछिनपछि एकएक गर्दै उनीहरु मलाई छोडेर गए ।’
आफ्नै एक चेली अनसनमा बसेको सुनेर बब्लु छक्क परे । ‘साँच्चै भन्नुपर्दा मैले उनलाई अनसन नबस्न सुझाव दिएको थिएँ,’ उनी सम्झिन्छन्, ‘यो निकै ठुलो मुद्दा हो, तिमीले पार लाउन सक्दैनौँ । एएफएसपीए हटाउनु निकै ठूला कुरा थियो । बरु कुनै रणनीतिक उपाय खोजौँ भनेको थिएँ । तर उनी मानिनन् । मलाई मेरी आमाको आशीर्वाद छ भनेर उनी अनसनमा हाम फालिन् ।’
अनसन बस्ने स्थानमा उनको मुटु डरले कामिरहेको थियो,’ अनसनको पहिलो दिन सम्झिँदै उनी भन्छिन्, ‘सडक नाटक वा सर्कसजस्तो देखिन्थ्यो । हजारौं मान्छे सडकमा भेला भएर गफ गरिरहेका थिए । हाँसिरहेका थिए । सरकारको खेदो खनिरहेका थिए ।’ मलाई लाग्यो, मानिसहरु चाँडै जाग्नेछन् । त्यतिञ्जेल भोक खप्छु भन्ने सोचेँ ।’ अनसनमा बसेको ६ दिनपछि १० नोभेम्बर २००० मा उनलाई जबर्जस्ती खाना खुवाइयो । तत्कालै उनलाई आत्महत्या प्रयास गरेको आरोपमा पक्राउ समेत गरियो ।
सुरुमा नलीबाट खाना खुवाउन खोज्दा उनले विरोध गरिन् । ‘तर विरोध व्यर्थ थियो । मेरो अवस्था पखेटा भाँचिएको चराजस्तो थियो,’ उनी भन्छिन् । जेलको नियमअनुसार मुखबाट नली राखेर खाना खुवाउनुपर्छ । तर उनले डाक्टरहरूलाई नाकमा नली राख्न राजी गराइन् । नाकबाट नली राख्ने हो भने आफ्नो वाचा नतोडिने उनको विश्वास थियो । त्यसपछिका १६ वर्ष उनलाई त्यही नलीबाट खाना र पानी दिएर जिउँदो राखियो । नाकदेखि पेटसम्म तीन फिट लामो नलीबाट पोषक तत्वको झोल पठाइन्थ्यो ।

बैंगलोरमा शर्मिला र उनका पति डेस्मन्ड कउन्टिन्हो । तस्बीर : रेबेक्का कोन्वे, अब्जर्भर


बब्लुको भनाइमा पहिले त यो घटना सुन्दा मणिपुरका बासिन्दा चकित परे । ‘साँच्चै भन्दा सुरुमा यो मजाकजस्तो थियो,’ उनी सम्झिन्छन्, ‘मान्छे सोधिरहेका थिए, कहीँ न कहीँकी यो केटी कसरी सरकारी कानुनविरुद्ध अनसन बस्न सक्छे ? उनलाई स्थापित गराउन म, मेरो संस्था र उनको परिवारले ठुलो मेहनत गर्नुपर्यो ।’ आत्महत्या प्रयासको सजाय भारतमा एक वर्ष छ ।
पक्राउ गरेपछि सरकारले शर्मिलालाई एक वर्षमात्रै कैद गर्न सक्थ्यो । त्यसपछि रिहा गर्नै पथ्र्यो । उनी रिहा भइन् । तर शर्मिलाले तत्काल अनसन सुरु गरिहालिन् । उनलाई फेरि पक्राउ गरियो र इम्फालस्थित जवाहरलाल नेहरु अस्पतालको एकान्त कोठामा फर्काइयो । अस्पताल बाहिर मणिपुर उसैगरी उम्लिरहेको थियो । १० जुलाई २००४ मा थाङजाम मनोरमा नामक एक युवतीलाई सैनिकहरूले आफ्नै घरबाट घिसार्दै बाहिर निकाले ।
‘आमा मलाई बचाऊ ! आमा मलाई बचाऊ !’ भन्दै उनी चिच्याइरहिन् । पछि एउटा न्यायिक जाँच आयोग गठन गरियो । त्यसले मनोरमालाई यातना दिइएको पत्ता लगायो । प्रहरी चौकीनजिकै उनको शव गाडिएको अवस्थामा फेला पर्यो । जसमा १६ वटा गोली लागेको थियो । कसैलाई पनि यो हत्याको आरोप लगाइएन । किनभने एएफएसपीए लागू थियो ।

– – –

यो हत्यापछि आक्रोश बढ्यो । जसकारण मणिपुर महिनौँ दिन बन्द भयो र शर्मिला नायकका रुपमा स्थापित भइन् । ‘चार–चार वर्षसम्म उनले निरन्तर अनसन बसेको तथ्यले मानिसहरूको हृदय हल्लाएको थियो,’ बब्लु भन्छन्, ‘२००४ पछि उनी नेता बनिन् । राम्रो–नराम्रो जे भए पनि मणिपुर प्रतिरोधको उनी प्रतीक बनिन् ।’ शर्मिला अस्पतालमा कडा पहरामा थिइन् । उनले अनन्त समय एक्लै गुजारिन् । कविता लेखिन् । मध्यरातमा करिडोरमा खुट्टा तान्न हिँडिन् ।
घण्टौंघण्टा योगासनमा बसिन् । मुख सुख्खा हुने समस्याले उनलाई पागल बनाउँथ्यो । मुखमा र्याल कायम राख्न उनी पानीमा कपास भिजाएर चपाउँथिन् । ‘म जीवनलाई साँच्चै माया गर्थें,’ उनी भन्छिन्, ‘त्यही मायाले गर्दा मात्रै त्यत्तिका वर्ष सहन सकें ।’ शर्मिला त्यो दिन पर्खिरहेकी थिइन्, जुन दिन मणिपुरबासी उनीबाट प्रेरणा लिएर संगठित हुनेछन् । र सरकारलाई सैनिक कानुन अन्त्य गर्न बाध्य पार्नेछन् ।
त्यसपछि मात्रै उनी सामान्य जीवन बाँच्न सक्ने थिइन् । ‘नाकबाट खाना खानु, दिन–रात पर्खिरहनु, अर्थहीन प्रसिद्धि पाउनु । यो जीवन होइन भन्ने मलाई थाहा थियो,’ उनी भन्छिन् । उनको प्रसिद्धि र प्रभाव जतिजति बढ्दै गयो, शर्मिलालाई लक्ष्य झन्झन टाढा हुँदै गएको महसुस भयो । ‘मान्छेहरु त्यत्तिकै मेरो प्रशंसा गर्न थाले ।
तर उनीहरुबाट म के चाहन्छु भन्ने चाहिँ कहिल्यै सुनेनन्,’ उनी भन्छिन्, ‘त्यो कठिन र लामो जिम्मेवारी तथा वाचा ममा मात्रै बाँकी रह्यो । यो त सामूहिक लक्ष्य बन्नुपर्ने थियो । मेरो देवत्वकरण भएको थियो । तर म एक्ली थिएँ । म आवाजहीन र भावनाहीन रुपमा बाँचिरहेकी थिए ।’ प्रतिष्ठा अग्लिएका बेला शर्मिलालाई नोबेल विजेता र कूटनीतिज्ञ खोज्दै आउँथे । उनलाई मणिपुरको आइरन लेडी पनि भनियो । उनको अवस्था भने पीडादायी थियो ।

– – –

सन् २००७ को सुरुमा भारतीय मूलका बेलायती नागरिक डेसमन्ड कउटिन्हो भारत आइपुगे । भर्खरै उनकी आमा क्यान्सरबाट बितेकी थिइन् । त्यसैले पश्चिमी लन्डनमा बस्ने कउटिन्हो आफ्नै जीवनमाथि प्रश्न गरिरहेका थिए । ‘म जुन काम पनि आधाअधुरो गर्न मात्रै जान्दथें । त्यसैले म केही बनिनँ,’ उनी भन्छन् । उनका एक साथीले सुझाए, ‘तिमी भारत जाऊ र आफ्नो आत्माको खोजी गर ।’
त्यसैले अहिले ५५ वर्ष पुगेका उनी अन्य पश्चिमाको पाइला पछ्याउँदै भारत आए । उनी दक्षिण भारतको बैंगलोर सहरमा बस्न थालें । त्यहीँ एक बिहान उनले मणिपुरमा भइरहेको अनसनको समाचार पत्रिकामा पढे । ‘सानी केटी ओच्छ्यानमा बसिरहेको तस्बिर म अझै सम्झन्छु,’ कउटिन्हो भन्छन्, ‘आमा बितेको याद आयो ।’ ‘उनको कथा भयानक थियो । आफूलाई किताब पढ्न मन लाग्ने तर सँधै नपाउने बताएकी थिइन्,’ उनले सुनाए ।

शर्मिला त्यो दिन पर्खिरहेकी थिइन्, जुन दिन मणिपुरबासी उनीबाट प्रेरणा लिएर संगठित हुनेछन् । र सरकारलाई सैनिक कानुन अन्त्य गर्न बाध्य पार्नेछन् ।

त्ससपछि कउटिन्हो उनलाई चिठी र पुस्तक पठाउन थाले । तीन महिनापछि शर्मिलाले उत्तर पठाइन् । ‘पत्रमा रिस पोखिएको थियो,’ उनी सम्झिन्छन् । किनभने शर्मिला जिस्किन होइन, बेलायती साम्राज्यको अपराधबारे सोध्न इच्छुक थिइन् । ‘मेरो प्रशंसा गर्नु राम्रो हो, तर तपाईंले संसारभर भाडाका टट्टु चाहिँ किन पठाएको ?’ ‘त्यसको उत्तरमा मैले भनेँ, मैले कुनै टट्टु कहीँ पनि पठाएको छैन,’ उनी सम्झिन्छन् ।
अर्को महिनाभरि उनीहरूले एकअर्कालाई पत्र पठाइरहे । कउटिन्होले शर्मिलालाई पुस्तक पठाइरहे । शर्मिलाले ’पिजी वडहाउस’ मन पराइन् भने उत्तर–आधुनिकतावादी अर्थतन्त्रबारे लेखिएको एउटा पुस्तक मन पराइनन् । उनको सबैभन्दा मनपर्ने पुस्तक चाहिँ इन्ग्रिड बेटानकोर्टको जीवनी थियो । यी कोलम्बियाली मूलकी फ्रान्सेली एक्टिभिस्टलाई गुरिल्लाहरूले ६ वर्षसम्म कैद गरेका थिए ।

– – –

कउटिन्हो शर्मिलालाई मन पराउन थालिसकेका थिए । तर समस्या थियो । आफूले कहिल्यै नभेटेको महिलालाई संकेत कसरी दिने? त्यसमाथि ती महिला त संसारकै लामो भोक हड्तालमा बसिरहेकी थिइन् । उनीसँग सम्बन्ध सुरुवात गर्न चाहन्छु भनेर कसरी भन्ने ? अन्ततः पहिलो चाल शर्मिलाले नै चालिन् । ‘उनले साह्रै मिठो चिठी लेखिन् ।
‘यदि मैले तपाईंलाई गलत बुझेँ भने माफ गर्नुहोला । म गलत रहेछु भने पनि चित्त नदुखाउनुहोला भनेर लेखिन्,’ कउटिन्हो भन्छन् । त्यसपछि उनले एउटा ठूलो भ्यालेन्टाइन कार्ड शर्मिलालाई पठाए । शर्मिलाले आफू स्वतन्त्र नरहेको अवगत कउटिन्होलाई गराइन् । अस्पतालको वार्डमा एकान्त कैदमा रहेकीसँग सम्बन्धको वाचा लिन चाहनुहुन्छ ? उनले सोधिन् ।

मह चाटेर १६ वर्ष लामो अनसन अन्त्य गर्दै शर्मिला । तस्बीर : एसटिआररइपिए


त्यसो भए आइन्दा म पनि स्वतन्त्र रहन्नँ । तिमीलाई बाहेक कसैलाई पत्र लेख्दिनँ भनेर मैले उत्तर दिएँ,’ कउटिन्हो भन्छन् । ‘जब कउटिन्हो शर्मिलाको जीवनमा प्रवेश गरे, तब मेरो लागि समस्या सुरु भयो,’ बब्लु भन्छन्, ‘मणिपुरको समाज परम्परागत छ । यहाँ जोडी जुराउने आफ्नै तरिका छ ।’ सन् २०११ मा कउटिन्हो मणिपुर आए । उनको आगमनले एएफएसपीए विरोधी आन्दोलनमै हलचल ल्याइदियो ।
शर्मिलालाई एउटा आमा समूहले घेरामा राख्यो । सो समूहले कउटिन्हो र शर्मिलाको सम्बन्धको विरोध र्गयो । शर्मिलाकै परिवारका सदस्यले पनि यसको विरोध गरे । आफ्नै वरिपरिका मान्छेहरूको प्रतिक्रिया देखेर शर्मिला पछुतो मान्न थालिन् । ‘म आमरण अनसनमा बसे पनि पारिवारिक जीवनका लागि लालायित थिएँ । जीवनसाथीसँग जीवन गुजार्न चाहन्थें । मेरो आत्मा यी कुराका लागि तड्पिरहेको थियो,’ शर्मिला भन्छिन् ।
उनको जीवनको चक्र उसैगरी चलिरहेको थियो । वर्षै्पिच्छे मुक्त हुन्थिन् । अनसनमा बस्थिन् र फेरि पक्राउ पर्थिन् । तर उनको संदेह लगातार बढिरहेको थियो । उनी मार्गदर्शन खोजिरहेकी थिइन् । ‘म सँधै ईश्वरसँग प्रश्न गरिरहन्थें, यत्रो परीक्षा लिएर पनि तिमीलाई अझै पुगेन ?’ उनी भन्छिन् । जुलाई २०१६ मा उनले अचानक अनसन अन्त्य गर्ने घोषणा गरिन् । उनका समर्थक र पूरै देश यसबाट चकित र्पयो ।
‘१६ वर्षपछि पनि मान्छेको सोचमा केही परिवर्तन भएको थिएन,’ उनी भन्छिन्, ‘म वास्तवमै आफू, त्यो वातावरण र रणनीति बदल्न चाहन्थें । म हरेक कुरा परिवर्तन गर्न चाहन्थें ।’ शर्मिलाले कउटिन्होसँग विवाह गर्ने घोषणा गरिन् । उनले मणिपुर संसदमा चुनाव लडेर संघर्ष जारी राख्ने पनि बताइन् । बब्लुलाई यो साह्रै निकम्मा योजना लाग्यो । भारतमा प्रजातन्त्रलाई फोहोर तुल्याउन सकिन्छ । धेरैजसो नागरिक अझै पनि जाति वा धर्मको आधारमा मत दिन्छन् ।
खासगरी पैसा वा उपहारको बलमा मत किन्न सकिन्छ । सन्तका लागि भारत राजनीति गर्ने ठाउँ होइन । ‘मैले उनलाई भनें, शर्मिला, तिमी युरेनियमजस्ती छौ । तिमीसँग विशाल आत्मिक शक्ति छ,’ बब्लु भन्छन्, ‘तर युरेनियमलाई आणविक उर्जामा बदल्न जस्तो प्रविधि चाहिन्छ, तिम्रो शक्तिलाई प्रकट गर्न पनि ठुलो पूर्वाधार चाहिन्छ । त्यो बिना आफ्नो आत्मिक उर्जालाई राजनीतिक शक्तिमा बदल्न तिमी सक्दिनौं । तर उनले मेरो कुरा सुनिनन् ।’

– – –

उनको यो निर्णयबाट वरिपरि रहेका आमाहरूको समूह क्रुद्ध बन्यो । ‘उनीहरूको नजरमा म पहिले नै बलि चढिसकेकी थिएँ,’ शर्मिला भन्छिन्, ‘मलाई बिहे गर्न, लोग्ने पाउन र अनसन छोड्न लागेको आरोप लगाए, वेश्या भने ।’ मणिपुरको एउटा लडाकु समूहले शर्मिलालाई चेतावनी दिँदै विज्ञप्ति निकाल्यो । क्रान्तिको बाटो छोडेपछि ‘केही पूर्व क्रान्तिकारी नेताहरूको हत्या भएको’ स्मरण गराइएको थियो ।
शर्मिलाले अनसन तोडिन् । तर उनलाई कसैले पनि आफ्नो घरमा निम्त्याएन । मुक्त भएको एक हप्तासम्म उनी त्यही अस्पतालको वार्डमा बसिरहिन्, जहाँ डेढ दशकभन्दा लामो समय उनी कैद भएकी थिइन् । सन् २०१७ को मार्च महिनामा चुनाव भयो । शर्मिला राज्यकै सबैभन्दा ठूला नेता विरुद्ध लडेकी थिइन् । उनले जम्माजम्मी ९० मत पाइन् ।
मतपरिणाम घोषणा भएको दुई दिनपछि उनी हवाइजहाज चढेर मणिपुरबाट बाहिरिइन् । अहिले शर्मिला बेंगलोर सहरको बाहिरपट्टि रहेको एक अपार्टमेन्टमा बस्छिन् । उनी र कउटिन्होले भर्खरै विवाहको पहिलो वर्षगाँठ मनाए । उनीहरू ताज महल गए । त्यहाँको एउटा तस्बिर घरको भित्तामा झुन्ड्याइएको छ । नजिकै दराजमा शर्मिलाले पाएका अवार्डहरु र व्रतमा बसेको बुद्धको दुर्लभ मूर्ति छ ।
फेरि खानाको स्वाद पाउनु आनन्दको कुरा भएको उनी बताउँछिन् । अनसन तोडेपछि हरेक चीज स्वादिष्ट लाग्न थालेको छ उनलाई । ‘महको पहिलो थोपो साह्रै तीतो थियो, साह्रै पोल्यो,’ उनी सम्झिन्छिन्, ‘त्यसको स्वाद मेरो पूरै शरीरमा फैलियो ।’ केही घन्टापछि उनले क्यामरा फ्ल्यासका बीच अलिकति नरिवल पानी पिउने प्रयास गरिन् । तुरुन्तै वान्ता भयो । खाएको खाना पेटमा अडिन महिनौं लाग्यो ।

– – –

त्यसपछि उनी मणिपुर फर्केकी छैनन् । उनलाई त्यहाँ स्वागत गरिन्छ वा गरिँदैन, निश्चित छैनन् । मैले सोधें, ’के तपाईंको मन शान्त छ ? ‘मलाई त्यस्तै लाग्छ,’ उनले उत्तर दिइन्, ‘अब कुनै प्रतिबन्ध छैन, अरुको नियन्त्रणमा म छैन । स्वतन्त्रताको यो अनुभूति नै मेरो लागि सबैभन्दा उपल्लो बिन्दु हो ।’
‘अरु त हामी के गर्न सक्थ्यौं र ?’ बब्लु उदास हुँदै भन्छन्, ‘हामीले गर्न सक्ने एउटै काम भनेको उनको छवि जतिसक्दो उच्च बनाएर एएफएसपीए खारेज गर्न जोड गर्नु थियो ।’ ‘हामीले उनको ज्यादा प्रशंसा गर्यौं । त्यो चाँहि हाम्रो गल्ती भयो,’ उनी निष्कर्ष दिन्छन्, ‘शर्मिला भगवान् बन्न चाहन्नथिन् । उनी मान्छे बन्न चाहन्थिन् ।’

 

 

#द गार्जियनबाट अनुदित

प्रकाशित मिति : १ पुष २०७५, आइतवार १९:०८