सूचनाको शक्ति - The Power Of Information

        

गोरीकलाको हत्यामा संलग्नलाई ३२ वर्ष कैद, प्रहरी पनि अपराधी ठहरिए

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ चौरकी गोरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला, खुमप्रसाद बास्तोला र दैलेख घर भई इलाका प्रहरी बाबियाचौरका ट्राफिक प्रहरी हरीप्रसाद कोइरालालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको हो ।
सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी–४ पलैटेबाट एसइई दिन बाबियाचौर पुगेकी गोरीकलाको २०७४ साल चैत १३ गते हत्या भएको थियो । १३ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताको भएको उक्त घटनाको २०७५ वैशाख ९ गते मात्रै जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो ।
वैशाख ११ गते पुर्पक्षमा राख्न आदेश दिएको अदालतले मुद्दा दायर भएको आठ महिना पछि फैसला सुनाएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिए । फैसलाअनुसार उनीहरुलाई ३२ वर्षको जेल सजाय तोकिएको छ । हत्या र जवरजस्ती करणीको अभियोग पुष्टि गर्दै अदालतले २० वर्ष जन्मकैदसँगै थप १२ वर्ष कैद सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश धुब्रकुमार शाहको एकल इजलासले गोरीकला हत्याको फौसला सुनाएको हो । अदालतको फैसला अनुसार मृतकका तीनै जनाले जबरजस्ती करणी महल १० नम्बर अनुसार एक लाख क्षतिपूर्ति भराउनुपर्ने छ ।
‘प्रतिवादी तीनै जनाले तत्कालिन मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महल १ र १३ (३) अनुसार कसुर गरेको पुष्टि हुन आएकाले नीजहरुलाई सोही महलको १३ (३) अनुसार जन्मकैदको सजाय हुनेछ,’ फैसलामा भनिएको छ, ‘नीजहरुले जबरजस्ती करणीको कसुर गरेकाले मुलुकी ऐन २०२० बमोजिम जबरजस्ती करणी महल १ र ३ नम्बर महल अनुसारको कसुर गरेकाले ३(४) नम्बर अनुसार ७ वर्ष र ३(क) अनुसार थप ५ वर्ष कैद सजाय हुनेछ ।’
परीक्षा केन्द्र परिवर्तन हुँदा सूर्यप्रकाश माध्यामिक विद्यालय पलैटेबाट एसईई परीक्षामा दिन गोरीकला बाबियाचौर गएकी थिइन् । वि.सं. २०७५ चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षामा दिन विद्याज्योति मावि बावियाचौर बसेकी गोरीकला डेरामै मृत अवस्थामा भेटिएकी थिइन् । अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा दिएकी गोरीकलाको हत्या २०७५ चैत १३ गते राती भएको थियो । हत्यामा संलग्न लक्ष्मी, खुम र हरीलाई जिल्ला कारागार सुर्खेतमा राखिएको छ ।

प्रकाशित मिति : १ पुष २०७५, आइतवार १८:०७